
रुसको तल्लो सदन ‘स्टेट डुमा’ (राज्य डुमा) का लागि हालै सम्पन्न निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिन निकट सत्तारुढ दल ‘युनाइटेड रसिया’ ले स्पष्ट अग्रता हासिल गरेको छ । रुसी केन्द्रिय निर्वाचन आयोगले सोमवार सार्वजनिक गरेको ९५.१८ प्रतिशत मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्तारुढ दलले ५७.८३ प्रतिशत मत प्राप्त गर्दै आफ्नो पकडलाई निरन्तरता दिएको हो।केन्द्रीय निर्वाचन आयोगकी अध्यक्ष एल्ला पाम्फिलोभाले मस्कोमा आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो नतिजा सार्वजनिक गरेकी हुन् ।
आयोगकाअनुसार शुक्रवारदेखि आइतबारसम्म तीन दिन चलेको निर्वाचनमा ५९.३२ प्रतिशत मतदाताले मतदान गरेका छन्, जुन सन् २०२१ को ५१.७२ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढी हो । मतगणनाको पछिल्लो विवरणअनुसार सत्तारुढ युनाइटेड रसियाका अतिरिक्त कम्युनिस्ट पार्टी अफ द रसियन फेडेरेसन १३.८१ प्रतिशत मतका साथ दोस्रो स्थानमा छ ।


त्यस्तै, लिबरल डेमोक्र्याटिक पार्टी अफ रसियाले ८.९८ प्रतिशत, न्यु पिपुलले ७.९६ प्रतिशत र अ जस्ट रसियाले ४.९६ प्रतिशत मत प्राप्त गरेका छन् ।

कुल ४५० सदस्यीय रुसी तल्लो सदनका लागि यो निर्वाचन सम्पन्न भएको हो । जसमा आधा सदस्य समानुपातिक प्रणालीमार्फत पार्टी सूचीबाट र बाँकी २२५ सदस्य देशभरका एकल निर्वाचन क्षेत्रबाट बहुमत प्रणालीका आधारमा निर्वाचित हुने प्रावधान छ । यस पटकको निर्वाचनमा १० वटा राजनीतिक दल चुनावी मैदानमा उत्रिएका थिए । आयोगकी अध्यक्ष पाम्फिलोभाले अन्तिम नतिजा आगामी शुक्रबारसम्म औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी दिएकी छिन् ।




