
सुडानको उत्तरी क्षेत्रस्थित अल–दाबाहका खजुर बगैंचाहरूमा अहिले खजुर टिप्ने र सुकाउने कामले गति लिएको छ, तर यस वर्षको सिजन किसानका लागि खुशीभन्दा बढी चुनौती बोकेर आएको छ । जारी गृहयुद्ध, बढ्दो इन्धन र विद्युतको मूल्यवृद्धि र खजुरको सुनिश्चित मूल्य नहुँदा किसान मारमा परेका छन् । खजुर खेती उत्तर सुडानको अर्थतन्त्र र रोजगारीको मुख्य आधार हो।
यद्यपि, अप्रिल २०२३ देखि सुडानी सेना र अर्धसैनिक बलबीच जारी द्वन्द्वले कृषिलगायत सम्पूर्ण आर्थिक गतिविधिमा गम्भीर असर पु¥याएको छ ।


दशकौंदेखि यस क्षेत्रमा काम गर्दै आएका पाम क्लाइम्बर सलिम बिलालले वर्तमान आर्थिक अवस्थाले खजुर व्यवसायलाई नराम्ररी गाँजेको बताएका छन् । उनले खजुरको मूल्य निर्धारणमा सरकारी हस्तक्षेपको अभाव मुख्य समस्या रहेको उल्लेख गरे । किसान अवाद सालेहकाअनुसार विद्युत आपूर्तिमा देखिएको समस्या र युद्धका कारण उत्पादनमा उल्लेख्य गिरावट आएको छ । बढ्दो लागतका कारण यस वर्षको खजुर खेतीबाट अपेक्षित प्रतिफल प्राप्त हुने सम्भावना निकै कम छ ।

विज्ञहरूकाअनुसार सुडानको द्वन्द्वले लाखौं नागरिकलाई विस्थापित बनाउनुका साथै हजारौंको ज्यान लिइसकेको छ । यसको असर कृषि क्षेत्रको उत्पादन चक्रमा परेको छ, जसले गर्दा सुडानी किसानहरू आफ्नो मुख्य आम्दानीको स्रोत बचाउन संघर्ष गरिरहेका छन् । सरकारी निकायले समयमै मूल्य निर्धारण र आवश्यक पूर्वाधारको व्यवस्था नगरेमा आगामी दिनमा खजुर उत्पादन थप संकटमा पर्ने निश्चित देखिन्छ ।




