विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै

काठमाडौं, ७ असाेज । विश्वभरका बहिरा (बोल्न तथा सुन्न समस्या भएका) व्यक्तिहरूको अधिकार, पहिचान र सांकेतिक भाषाको महत्त्वलाई उजागर गर्ने उद्देश्यका साथ आज सेप्टेम्बर २३ मा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस (International Day of Sign Languages) मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घको साधारण सभाले १९ डिसेम्बर २०१७ मा निर्णय गर्दै प्रत्येक वर्षको सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सन् १९५१ सेप्टेम्बर २३ का दिन विश्व बहिरा महासङ्घ (World Federation of the Deaf – WFD) को स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै यो दिवस तय गरिएको हो।

यस दिवसको मुख्य उद्देश्य सांकेतिक भाषालाई अन्य प्राकृतिक भाषाहरू सरह पूर्ण दर्जा दिँदै यसको प्रयोगलाई प्रवर्द्धन गर्नु हो। साथै बहिरा समुदायका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सूचनामा समान पहुँच सुनिश्चित गर्ने, उनीहरूको मौलिक संस्कृति र भाषिक पहिचानको सम्मान गर्ने र समाजका हरेक क्षेत्रमा उनीहरूको समावेशिता बढाउन जनचेतना फैलाउने लक्ष्य राखिएको छ।

तथ्याङ्क अनुसार हाल विश्वभर ७ करोडभन्दा बढी बहिरा व्यक्तिहरू रहेका छन्, जसमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशहरूमा बसोबास गर्छन्। विश्वभर ३०० भन्दा बढी विभिन्न प्रकारका सांकेतिक भाषाहरू प्रयोगमा रहेका छन् भने अन्तर्राष्ट्रिय स्तरका बैठक तथा सम्मेलनहरूमा अन्तर्राष्ट्रिय सांकेतिक प्रणाली (International Sign) को प्रयोग गर्ने गरिन्छ।

नेपालमा पनि आफ्नै नेपाली सांकेतिक भाषा रहेको छ। यस अवसरमा राष्ट्रिय बहिरा महासङ्घ नेपाल लगायतका विभिन्न सामाजिक संघ-संस्थाहरूले सचेतनामूलक कार्यक्रम, र्‍याली तथा अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाइरहेका छन्।

नेपालको संविधान र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐनले पनि सांकेतिक भाषाको प्रयोग र पहुँचलाई मौलिक अधिकारका रूपमा स्वीकार गरेको छ। यद्यपि, व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन र सबै सार्वजनिक सेवाहरूमा सांकेतिक भाषाको पहुँच पुर्‍याउन अझै धेरै काम गर्न बाँकी रहेको सरोकारवालाहरू बताउँछन्।