
युद्धको विभीषिका खेपिरहेको गाजा पट्टीमा तीन वर्षको लामो अन्तरालपछि शनिवारदेखि प्रत्यक्ष कक्षा (इन–पर्सन लर्निङ) सुरु भएको छ । इजरायल–हमास द्वन्द्वका कारण थिलथिलो बनेको शैक्षिक क्षेत्रमा अब विद्यार्थी भत्किएका संरचना वा अस्थायी टेन्टहरूमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छन् ।
प्यालेस्टिनी शिक्षा तथा उच्च शिक्षा मन्त्रालयका अनुसार, गाजामा करिव ५ लाख ४१ हजार विद्यार्थी शैक्षिक कार्यक्रममा सामेल भएका छन् । यसमध्ये करिव १ लाख विद्यार्थी संयुक्त राष्ट्रसंघीय निकाय अन्तर्गतका विद्यालयमा अध्ययनरत छन् । शनिवारदेखि न्युसेरात शिविर र गाजा सहरका केही सरकारी विद्यालयबाट शुरु भएको यो अभ्यास अब अन्य अस्थायी सिकाइ केन्द्रहरूमा विस्तार गर्ने योजना छ ।


द्वन्द्वका कारण विद्यालयका भवनहरू विस्थापितहरूको आश्रयस्थल बनेका छन्, जसले गर्दा पढाइ सञ्चालनका लागि टेन्ट र अस्थायी संरचनाहरूको सहारा लिनुपरेको छ । स्थानीय शिक्षक मोहम्मद तानिरा भन्छन्, ‘कठिन परिस्थिति भए पनि शिक्षाप्रतिको मोह र भविष्यको आशाले गर्दा हामी युद्धका बीच पनि शैक्षिक प्रक्रियालाई निरन्तरता दिइरहेका छौं ।’

तथ्यांकअनुसार सन् २०२३ को अक्टोबरयताको युद्धमा २० हजारभन्दा बढी विद्यार्थीको मृत्यु भइसकेको छ भने ६ लाख २० हजारभन्दा बढी विद्यार्थी नियमित पठनपाठनबाट वञ्चित रहँदै आएका छन् । मन्त्रालयले अहिले प्रत्यक्ष कक्षा र भौतिक उपस्थिति सम्भव नहुने विद्यार्थीका लागि भर्चुअल कक्षाको व्यवस्था गरेको छ ।
यद्यपि, शिक्षा क्षेत्रमा स्रोतसाधनको चरम अभाव छ । सन् २०२२–२३ मा २ सय दिन रहेको शैक्षिक वर्ष घटेर ६० दिनमा सिमित भएको छ भने साप्ताहिक कक्षा पनि ३० बाट घटेर १२ मा झरेको छ । शिक्षा मन्त्रालयले भविष्यमा थप २५ वटा अस्थायी विद्यालय भवनहरू निर्माण गर्ने तयारी गरिरहेको छ । पूर्वाधार र सामग्रीको अभावका बावजुद गत वर्षको तुलनामा यस वर्ष भर्ना दरमा भएको वृद्धिले गाजाका अभिभावक र विद्यार्थीको शिक्षाप्रतिको दृढतालाई उजागर गरेको छ ।





