
मौसम विज्ञान विभागका मौसमविद् डेविड ढकालले बंगालको खाडीमा विकसित भएको न्युन चापीय प्रणाली शक्तिशाली बन्दै गएको उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा समेत पर्ने बताउनुभएको छ ।
बुधवार एजेन्सी सँग कुरा गदै उक्त प्रणाली बिहीवार बिहानसम्म भारतको उत्तर प्रदेश, आन्ध्र प्रदेश तथा दक्षिण ओडिसाको तटीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने सम्भावना रहेको बताउनुभएको हो ।
उहाँले बंगालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभावले नेपालमा जलवाष्पयुक्त हावा भित्रिने भएको कारण यही शुक्रवारदेखि अगामी आईतवारसम्म भारी वर्षाको सम्भावना रहेको बताउनु भयो । उहाँले मनसुनी गतिविधि समेत कायमै रहेको कारण वर्षाले जनजीवन प्रभावित हुनसक्नेतर्फ सबै सचेत रहन आवश्यक रहेको बताउनु भयो ।


मौसमविद् ढकालल बिहीवार कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको पनि बताउनु भयो । बिहीवारको तुलनामा त्यसपछिका तीन दिनमा वर्षाको मात्रा बढ्ने उहाँको भनाइ छ । उहाँले अगामी तीन दिनमा लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षाको सम्भावना रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘बंगालको खाडीमा विकसित भएको न्युनचापीय प्रणाली अहिले गहिरो न्युनचापीय प्रणालीमा प्रवेश गरेको छ । यसले आज बेलुका वा भोलि बिहानसम्ममा भारतको उत्तर प्रदेश, आन्ध्र प्रदेश र दक्षिण ओडिसाको तटनिर बाट जमिनको सररूसमा प्रवेश गर्ने देखिएको छ । यसले नेपालमा पनि वर्षा गराउने जस्तो देखिएको छ । न्युनचापीय प्रणाली भारतका जमिनका सतहहरूमा हुने र त्यसको असर नेपालमा पनि पर्ने जस्तो देखिएको छ । यतिबेला विशेषगरी गण्डकी प्रदेशबाट पूर्व भू–भागतिर साधारणतया बादल लागेको जस्तो देखिन्छ भने वागमती प्रदेश आसपासमा हल्का किसिमको वर्षा भइरहेको पनि देखिन्छ । आज लुम्बिनी प्रदेशबाट पूर्वतिरको भू–भागमा अलि बढी स्थानहरूमा वर्षाको सम्भावना देखिएको छ । वर्षा मध्यम सम्मको सम्भावना देखिएको छ भने एक–दुई ठाउँमा आजको लागि चाहिँ भारी वर्षाको सम्भावना देखिएको छ । यो मनसुनी वायुको प्रभाव पनि परिरहेको कारणले गर्दाखेरि वर्षा अलिकति यो मनसुनी टाइप कै वर्षा हुने जस्तो देखिएको छ । भोलि र पर्सिको कुरा गर्नुपर्दाखेरि विशेष गरी भोलिको लागि कोशी प्रदेश आसपास वागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग आसपासमा अलि बढी स्थानहरूमा ठूलो वर्षाको सम्भावना रहेको छ । यद्यपि भोलिको तुलनमा ८ गते र ८ गतेको तुलनामा ९ गते अलि भारी वर्षा हुने देखिएको छ । बंगालको खाडीमा विकसित भएको गहिरो न्युन चापीय प्रणाली प्रभावले गर्दा जलवाष्पयुक्त हावाहरू बंगालको खाडी हुँदै नेपालतिर भित्रिएको देखिन्छ । जसले गर्दा केही प्रभाव परेको हो । यो प्रणालीले लुम्बिनी प्रदेश र गण्डकी प्रदेश आसपासमा अलिकति बढी प्रभाव पार्ने जस्तो देखिएको छ ।’
हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावनाः पर्वतारोहणलगायतका हिमाली गतिविधि प्रभावित हुनसक्ने


मौसमविद् ढकालले यही अवधीमा उच्च हिमाली क्षेत्रमा समेत भारी हिमपातको सम्भावना रहेको बताउनु भयो । यसले पर्वतारोहण लगायतका गतिविधिमा असर पर्नसक्ने उहाँको भनाइ छ । अहिले पर्वतारोहणको याम चलिरहेको कारण यसतर्फ सरोकारवाला पक्ष सचेत र सतर्क हुनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यही प्रणालीको कारणले उच्च पहाडी तथा हिमाली भू–भागहरूमा बढी प्रभाव पार्ने नै सम्भावना देखिन्छ । यतिबेला पर्वतारोहण याम भएको कारण भारी हिमपातको सम्भावना रहेको कारणले गर्दाखेरि बढी प्रभावित हुने देखिन्छ ।’
मौसमविद् ढकालले मनसुनका क्रममा लगातार वर्षा भइरहे पनि पछिल्ला केही दिनमा वर्षाको मात्रा घटेको कारण अब एक्कासी वर्षा भए कमजोर भूभागमा पहिरोको जोखिम समेत बढ्ने बताउनु भयो । उहाँले भारी वर्षाको कारण नदी तथा तटीय क्षेत्रमा बाढी समेत जोखिम रहेको उल्लेख गर्दै शतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विज्ञको सल्लाहअनुसार मात्र धानबाली भित्र्याउन तथा अन्य कृषि कार्य गर्न समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मनसुनमा लगातार वर्षा भइरहेको भएपनि पछिल्लो केही दिनमा त्यस्ताचे वर्षा भएको छैन । अब एक्कासी भारी वर्षा भएमा कमजोर भूभाग भएका क्षेत्रमा पहिरो जाने देखिएको छ । त्यसैगरी, भारी वर्षाको कारण तल्लो तटीय क्षेत्रका खोलानालाहरु पनि बढ्ने देखिन्छ । यसले असर गर्छ नै । उच्च हिमाली भेगमा हिमपातको सम्भावना भएको कारणले त्यो क्षेत्रमा पनि असर पर्ने जस्तो देखिन्छ । यो समयमा धानबाली भित्र्याउने समय पनि भएको कारण विज्ञको सल्लाह लिएर अघि बढ्दा उपयुक्त हुनेजस्तो पनि देखिएको छ । सबैजनाले सावधानी अपनाउनु र सरकारवाला निकायहरूले पनि सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।’
जल तथा मौसम विज्ञान विभागले शुन्यदेखि १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म मध्यम वर्षा र ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा तथा १ सय देखि २ सय मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षाको रुपमा क्याटेगोराइज गरेको छ ।




