रक्षक नै भक्षक बनेपछि: सई, हवलदार र जवान मिलेर २३ वर्षीया युवतीलाई सामूहिक बलात्कार

 

८ असोज। भारत उत्तराखण्डको अमरोहामा एउटा अपत्यारिलो घटना भएको छ। जहाँ रक्षक नै भक्षकको रुपमा देखिएको छ।

२३ वर्षीया युवतीमाथि प्रहरीका एकजना सई, हवलदार र  दुई प्रहरी जवानले सामूहिक बलात्कार गरेको आरोप लागेको छ।

हरियाणाकी ती युवतीलाई सीआरपीएफका इन्स्पेक्टर लालारामले हेड कन्स्टेबल मोहितसँग मिलेर अमरोहा ल्याएको आरोप छ। उनीहरूले युवतीलाई हसनपुरस्थित झुलपुरी गाउँनजिकको एक फार्म हाउसमा राखेका थिए। उक्त फार्म हाउस उत्तराखण्डको खानपुर विधानसभा क्षेत्रका स्वतन्त्र विधायक उमेश शर्माको रहेको बताइएको छ।

मंगलबार राति हसनपुर कोतवालीमा कार्यरत दरोगा संजय तोमर र हेड कन्स्टेबल प्रमोद मलिक पनि फार्म हाउस पुगेका थिए। युवतीका अनुसार चारै जना पुरुषले त्यहाँ खाना र मदिरा सेवन गरेपछि उनलाई छुट्टै कोठामा लगेर घटना घटाएका थिए।

युवतीले दिएको बयानअनुसार मोहित, लालाराम र संजय तोमर उनको कोठामा प्रवेश गरी बलात्कार गरेको आरोप छ। तीन जना बाहिरिएपछि चौथो व्यक्ति प्रमोद कोठामा प्रवेश गर्न खोज्दा आफूले धकेलेर भित्रबाट ढोका बन्द गरेको उनले बताएकी छन्।
त्यसपछि युवतीले इन्टरनेटमा खोजेर अमरोहा प्रहरीको सम्पर्क नम्बर पत्ता लगाई घटनाबारे प्रहरी अधिकारीलाई फोनमार्फत जानकारी गराएको बताइएको छ।

युवतीले मंगलबार नै घटना भएको जानकारी गराए पनि प्रहरीले तत्काल सार्वजनिक रूपमा कारबाही अघि नबढाएको आरोप लागेको छ। घटनाबारे दबाब बढेपछि बुधबार दिउँसो करिब ४ः२० बजे चारै जनाविरुद्ध मुद्दा दर्ता गरिएको जनाइएको छ।

अमरोहाका प्रहरी उपरीक्षक लाखन सिंह यादवले युवतीको मेडिकल परीक्षण गराइएको र आरोपितहरूसँग सोधपुछ भइरहेको जानकारी दिएका छन्। प्रहरीले चारै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनाको गम्भीरतापछि मुरादाबादका डीआईजी मुनिराज जी. पनि बुधबार साँझ अमरोहा पुगेका थिए। उनले घटनाबारे प्रहरी उपरीक्षकसँग छलफल गरेका छन्। घटनामा आरोपितमध्ये संजय तोमर र प्रमोद मलिक हसनपुर कोतवालीमा कार्यरत रहेको बताइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

images