
काठमाडौं, ९ असोज । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ। विभागले आज (असोज ९ गते) देखि असोज १२ गते बिहानसम्मका लागि उक्त पूर्वानुमान लागू हुने स्पष्ट पारेको हो।


विभागका अनुसार कैलालीका गोदावरी, भजनी र घोडाघोडी नगरपालिका तथा मोहन्याल र चुरे गाउँपालिका भारी वर्षाको सम्भावित प्रभाव क्षेत्रका रूपमा रहेका छन्। त्यस्तै, कञ्चनपुरका शुक्लाफाँटा र पुनर्वास नगरपालिका तथा लालझाडी गाउँपालिकामा पनि भारी वर्षाको उच्च जोखिम रहेको छ।
मौसम पूर्वानुमान जारी गर्दै विभागले ती क्षेत्रमा भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिम हुन सक्ने भएकाले सर्वसाधारण तथा सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।





