वर्षाका कारण फोहर ढुवानी र व्यवस्थापन कार्य रोकियो, घरमै सुरक्षित राख्न महानगरको आग्रह

काठमाडौं । लगातार भइरहेको वर्षाका कारण फोहर ढुवानी तथा व्यवस्थापनमा समस्या भएपछि काठमाडौं महानगरपालिकाले केही समयका लागि घरबाट फोहर बाहिर ननिकाल्न महानगरवासीलाई आग्रह गरेको छ ।

महानगरपालिकाका अनुसार फोहर ढुवानी गर्ने सडक तथा फोहर विसर्जन गर्ने ठाउँमा माथिबाट लेदोसहितको माटो खसिरहेका कारण फोहर संकलन, ढुवानी तथा विसर्जनमा असहजता उत्पन्न भएको हो ।

वर्षाका कारण केही समय फोहर संकलन तथा ढुवानी प्रभावित हुन सक्ने भएकाले महानगरपालिकाले घरधनी, व्यवसायी तथा सबै महानगरवासीलाई फोहर सडक, चोक, सार्वजनिक स्थल, खोला–नाला वा अन्य खुला स्थानमा नफाल्न आग्रह गरेको छ ।

फोहर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म घर वा आफ्नै परिसरभित्र फोहर सुरक्षित रूपमा राख्न तथा सड्ने र नसड्ने फोहर छुट्याएर व्यवस्थापन गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

सडक तथा सार्वजनिक स्थानमा फोहर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

वर्षा तथा फोहर विसर्जन गर्ने ठाउँको अवस्था सामान्य भएपछि फोहर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।