
सुर्खेत, १० असोज । अविरल वर्षासँगै खसेको पहिरोका कारण कर्णाली प्रदेशका सात जिल्लामा मुख्य राजमार्ग तथा ग्रामीण सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण सडक सञ्जाल बिच्छेद हुनुका साथै विभिन्न स्थानमा घरहरू भत्किएर भौतिक र मानवीय क्षति समेत पुगेको छ।
सुर्खेत र कालिकोटका विभिन्न स्थानमा पहिरो खस्दा कर्णाली राजमार्गमा सवारी साधन सञ्चालन हुन सकेका छैनन्। कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोला र सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा खसेको ठूलो पहिरोले यो राजमार्ग अवरुद्ध बनाएको हो। यस्तै, सल्यानको कपुरकोट गाउँपालिका–५ खारखोलामा पहिरो जाँदा राप्ती राजमार्ग र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ सम्ले खोलामा खसेको पहिरोले मध्यपहाडी राजमार्ग बन्द भएको छ।


हिमाली तथा विकट जिल्लाहरू जोड्ने सडकहरू पनि पहिरोको चपेटामा परेका छन्। हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा खसेको पहिरोले कर्णाली करिडोर अवरुद्ध पारेको छ भने सल्यानको बनगाड कुपिन्डे र त्रिवेणीका विभिन्न स्थानमा पहिरो जाँदा सल्यान–सुर्खेत र लुहाम–कालिमाटी सडकखण्डमा पनि यातायात ठप्प बनेको छ।

सडक अवरोधका साथै वर्षाले बस्तीहरूमा पनि क्षति पुर्याएको छ। जुम्लाको तातोपानी गाउँपालिका–१ स्थित रामबहादुर सार्कीको घर पूर्ण रूपमा भत्किएको छ भने डोल्पाको जगदुल्ला गाउँपालिका–३ का जयबहादुर विकको घरको पर्खाल ढलेको प्रहरीले जनाएको छ। हाल सुरक्षा निकाय र स्थानीय प्रशासनको पहलमा विभिन्न स्थानमा पहिरो हटाई अवरुद्ध राजमार्गहरू पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।




