२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ७१ घाइते

काठमाडौं, १० असोज । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ७१ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ, जहाँ ३ जनाको ज्यान गएको छ। यसैगरी मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाडौं उपत्यकामा एक–एक जनाको मृत्यु भएको छ।

देशभर भएका छुट्टाछुट्टै दुर्घटनामा परी कुल ७१ जना घाइते भएका छन्। घाइते हुनेहरूमा कोशी प्रदेशका १७ जना र लुम्बिनी प्रदेशका १६ जना रहेका छन्। त्यस्तै मधेश प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ९ जना तथा गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाडौं उपत्यकामा ६–६ जना घाइते भएका छन्। बागमती प्रदेशमा भने १ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेहरूको स्थानीय तथा देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।