
सुभाष कायस्थ
जनकपुरधाम, १० असोज । तराई मधेशमा दिवंगत पितृहरूप्रति श्रद्धाभाव प्रकट गरिने सोह्र श्राद्ध तर्पण शनिवारदेखि शुरु भएको छ । आश्विनशुक्ल प्रतिपदादेखि श्राद्ध तर्पण शुरु हुने पितृ पक्ष तर्पण एक दिन पूर्व आज पहिलो दिन ऋषि तर्पणी सम्पन्न गरिएको छ ।

सोह्र श्राद्धमा आफ्ना पूर्वजलाई सम्मान प्रकट गर्नुभन्दा अगाडि ऋषिहरुलाई सम्मान प्रकट गर्न ऋषि तर्पणी गरिने परम्परा रहेको छ । सो परम्परा अनुसार जनकपुरधामसहित तराई मधेश क्षेत्रमा मधेशी समुदायले सोह्र श्राद्ध तर्पण शुरु गरेका छन् ।


यी सोह्र श्राद्ध तर्पणमा ऋषि तर्पणसहित अन्य १५ दिन आश्विन कृष्णपक्ष पूर्णिमा (औँसी) सम्म दिवंगत पूर्वजहरुलाई जलाशयमा स्नान गरी पानी दिने (जलअर्पर्ण गर्ने परम्परा रहेको छ । सो धार्मिक प्रचलन अनुसार जनकपुरधामको गंगा सागर, धनुषसागर लगायतका पोखरीहरुमा आफ्ना दिवंगत पूर्वजलाई पानी दिनेहरुको अर्थात सोह्र श्राद्ध मनाउनेहरुको आज बिहानै हजारौको भीड लागेको थियो । गंगा सागर पोखरीमा नेपाल मात्र भारत सीमावर्ती क्षेत्रका व्यक्तिहरु पानी दिन पुगेका थिए ।
ऋषि तर्पणीमा कांक्रो, खरकये फूल –((फूल्की) ले ऋषिलाई सम्मान स्वरुप पानी दिने प्रचलन रहेको छ भने अन्य दिन दिवंगत पूर्वजहरुलाई कुश, जौ र तीलले मन्त्रोच्चारणसहित पानी दिने गरिन्छ ।

तिथि हेरफेरले एक दिन अगावै ऋषि तर्पण गरिएको भन्ने विवादित कुरा समेत उठेको छ । सो तिथि हेरफेर विवाद बारे पण्डित उमाशंकर झाले भने सोह्र श्राद्ध तर्पणमा ऋषि तर्पण र पितृपक्ष तर्पण दुईवटा मनाइने गरिन्छ । ऋषि तर्पणमा एक दिन मात्रै ऋषिहरुको सम्मान जल अर्पण गरिन्छ भने पितृपक्ष तर्पणमा १५ दिनसम्म दिवगंत पूर्वजलाई जलअर्पण गरिन्छ । दुवै मिलाएर सोलह दिन हुने भएकाले सोह्र श्राद्ध भनिएको हो ।
तिथि हेरफेरी ऋषि तर्पण र दिवगंत पूर्वजको तर्पण एकै दिन पर्ने गरेको थियो । तर यस वर्ष सहि तिथी रहेका फरक फरक दिनमा भएको हो ।

उनका अनुसार प्रतिपदादेखि पूर्णिमा (औसी दिन) सम्म मनाइए भने १५ दिन मात्र पुग्छ । १६ दिनसम्म मनाइने भएकाले एक दिन ऋषित तर्पण गरिन्छ । ऋषि तर्पण एक दिन अगावै भदौ शुक्ल पक्ष पूर्णिमाका दिन मनाइन्छ । सोही परम्परा अनुसार आज ऋषि तर्पण मनाइएको हो ।

सोह्र श्राद्धमा जल अर्पणसँगै जुन तिथिमा बुवा बितेको हो सो तिथीमा दिवगंत पूर्वजहरुलाई पिण्डदान गर्ने धार्मिक परम्परा रहेको छ । १६ दिनसम्म मनाइने यस सोह्र श्राद्धमा सम्बन्धित व्यक्तिले चाहेमा १६ दिनसम्म नभई पिण्डदान गरेका दिन कुश परित्याग गरी त्यति अवधिसम्म मात्रै जलअर्पण सक्नेछ ।
सोह्र श्राद्ध तर्पण किन मनाइन्छ बारे पण्डित झा भन्छन यस अवधिमा दिवंगत पितृहरूको आत्मा भूलोक अर्थात् घरवर पर विचरण गरेर आ–आफ्नो सन्तानसँग भोजनका लागि पिण्ड र पानीका लागि जल अर्पणको आश गरेका हुन्छ । तिनका सन्तानले सोह्र श्राद्ध गरे तिनीहरुको आत्मको शान्ति र मोक्ष प्राप्त हुने धार्मिक मान्यता र जनविश्वास रहेको छ । त्यस कारणले सबै सन्तानले आ आफ्ना दिवगंत पूर्वजको आत्मको शान्तिका लागि सोह्र श्राद्ध तर्पण जरुरी छ ।





