पाल्पामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ जना बेपत्ता
आश्विन ११ गते, २०८३ मा प्रकाशित
पाल्पा । अविरल वर्षासँगै विभिन्न स्थानमा खसेको पहिरोमा पुरिएर पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता रहेका छन्।
माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
ठिमुरेमा पहिरोले घर पुरिएपछि बेपत्ता भएकी कृष्णकुमारी सारुलाई खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। अन्य बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
यसैबीच, अविरल वर्षासँगै आएको बाढीले कालीगण्डकी नदीमा स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल समेत बगाएको छ। कालीगण्डकी जलविद्युत् आयोजनाको ड्यामनजिकै रहेको उक्त पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।
वर्षाका कारण पाल्पाको माडी फाँट डुबानमा परेको छ भने झडेवा फाँटलगायतका क्षेत्रमा पानी जम्दा धानबालीमा क्षति पुगेको छ। माथागढी गाउँपालिका–२, झडेवाको देउगिर क्षेत्रमा जमिन चिरिएपछि दर्जनभन्दा बढी घरपरिवार जोखिममा परेको गाउँपालिका अध्यक्ष यम चिदीले बताएका छन्।
त्यस्तै, रामपुर नगरपालिका–१० होस्दीमा समेत बस्तीमा पहिरो खसेको जनाइएको छ। लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढेको छ।