इण्डोनेसियामा डुबेको फेरी दुर्घटनाः मृतक संख्या ६४ पुग्यो, अझै ७१ जना बेपत्ता

इण्डोनेसियाको जाभा सागरमा करिव दुई साताअघि दुर्घटनाग्रस्त भएको फेरीका कारण ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । राष्ट्रिय खोज तथा उद्धार निकायका अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अझै ७१ जना यात्रु हराइरहेका छन् । इण्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकायका अधिकारी युधि ब्रामान्ट्योले शनिवार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार दुर्घटनामा परेका कुल २४३ यात्रुमध्ये हालसम्म १७२ जनाको अवस्था यकिन भएको छ ।

जसमध्ये १०८ जना सकुशल फेला परेका छन् भने ६४ जनाको मृत्यु भइसकेको पुष्टि गरिएको छ ।

दुर्घटना भएको दुई साता बितिसक्दा पनि उद्धार टोलीले बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको छ ।

प्रतिकूल मौसम र सामुद्रिक अवस्थाका बावजुद सरकारी संयन्त्रले ७१ जना बेपत्ता यात्रुहरूको खोजीका लागि परिचालन बढाएको छ । यसअघि फेला परेका शव र जीवित व्यक्तिहरूको विवरण संकलन गरेसँगै उद्धार कार्यमा थप स्पष्टता आएको अधिकारीहरूले बताएका छन् । अधिकारी ब्रामान्ट्योका अनुसार खोज कार्यलाई तिब्रता दिइएको छ र बाँकी यात्रुको अवस्था पत्ता लगाउन सबै उपलब्ध स्रोत र साधनको प्रयोग भइरहेको छ।्ल्लइन्डोनेसियामा समुन्द्री यातायातको प्रयोग निकै धेरै हुने भएपनि सुरक्षा मापदण्डको फितलो कार्यान्वयनका कारण बेलाबखत यस्ता घातक दुर्घटनाहरू हुने गरेका छन् । पछिल्लो दुर्घटनाले सामुद्रिक सुरक्षा र नियमनमा पुनः प्रश्न उठाएको छ ।