गाउँमै खुले उद्योग, भेडाको ऊनले पनि बजार पायो

खड्क सुनार/ असोज १२ मुगु । मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं ९ छायल गाउँमा स्थानीय स्रोत, साधन र सीपको उपयोग गर्दै उद्योग सञ्चालनमा ल्याइएको छ ।  स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने तथा उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको हो ।

उद्योग सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले रोजगारी तथा आयआर्जन तर्फ उन्मुख भएका छन् । युएमएन मुगु कलष्टरको आर्थिक सहयोग तथा  करानी सामुदायिक बिकास केन्द्र (केसिडिसि) मुगुको समन्वयमा मुगु एकिकृत एमआईपि परियोजना अन्तर्गत छायल गाउँमा उद्योग सञ्चालनमा आएको हो । स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन बढाउने र त्यसलाई जिल्लाभित्र तथा बाहिरी बजारसम्म पुर्‍याउने लक्ष्यसमेत राखिएको जनाइएको छ ।

स्थानीयवासीले उद्योग सञ्चालनलाई क्षेत्रको आर्थिक गतिविधि बढाउने महत्वपूर्ण कदमका रूपमा लिएका छन् । उनीहरूले उद्योगलाई निरन्तरता दिन आवश्यक पूर्वाधार, विद्युत्, सडक तथा बजार व्यवस्थापनमा सम्बन्धित निकायको सहयोग आवश्यक रहेको बताए ।

२०६० सालमा स्थापना करानी सामुदायिक बिकास केन्द्र (केसिडिसि) संस्थाले सोही गाउँपालिका ९ छायल बजारमा आधुनिक उपकरण औजार सहित उद्योग सञ्चालन गरेको करानी सामुददायिक विकास केन्द्र (केसीडीसी) मुगुका कार्यक्रम संयोजक हस्त बहादुर बुढाले बताए ।

उद्योग सञ्चालनले बिशेष गरेर महिला , युवालाई स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्नुका साथै वैदेशिक तथा अन्य क्षेत्रमा हुने श्रम पलायन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै उद्योगको क्षमता विस्तार गर्न सके छायल क्षेत्रको आर्थिक विकासमा थप योगदान पुग्ने देखिन्छ ।

स्थानीयवासीका अनुसार उद्योग सञ्चालनले विशेषगरी चुलो चौकोमा सिमित रहने महिलाहरूलाई आफ्नै क्षेत्रमा काम गर्ने अवसर सिर्जना गर्न सहयोग पुग्नेछ । स्थानीय भेडाको ऊन, अल्लो स्थानीय स्रोत र सीपलाई उद्योगसँग जोड्न सके गाउँमै रोजगारी र आम्दानीको वातावरण बनाउन सकिने स्थानीयले बताएका छन् । सो उद्योग सञ्चालनमा आएपछि भेडा पालक किसानलाई पनि राहत पुर्‍याएको छ ।

उद्योगले स्थानीय श्रोत साधनलाई उपयोग गर्दे स्थानीय भेडाको ऊन खरिद गर्दे दुवैतर्फको आम्दानी लाई जोड्न पुलको काम गरिरहेको उद्योगमा काम गरिरहेकी मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नं ९ छायल गाउँकि उद्यमी सुरकला बढुवालले जानकारी दिइन् ।

उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न सडक, विद्युत्, बजार तथा आवश्यक पूर्वाधारको विकासमा सम्बन्धित निकायको सहयोग आवश्यक रहेको स्थानीयको भनाइ छ । उद्योगको क्षमता विस्तार गर्दै स्थानीय उत्पादनलाई जिल्लाबाहिरको बजारसम्म पुर्‍याउन सके यसले छायल क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

अहिले उद्योग सञ्चालनमा आएपछि आधा दर्जनभन्दा बढी अल्लो र ऊन बाट निर्मित कपडाका सामग्री उत्पादन हुने गरेका छन् । यहाँबाट उत्पादित सामग्री जिल्लादेखि सुर्खेत, काठमाडौं लगायत अन्यत्रबाट माग हँुदै आएको छ । गाउँमै उद्योग सञ्चालनमा आएर कपास खेतीतर्फ यहाँका किसानहरु आकर्षित भई मनग्ये कमाउन सुरुवात गर्नै थालेका छन् ।

images