
डि आर जि सुमन
अर्घाखाँची, १३ असोज
रोजगारीको सिलसिलामा खाडी मुलुक ओमानमा रहेका नेपाली श्रमिकहरूको पहलमा अर्घाखाँचीको पाणिनि गाउँपालिका–७, झन्द्रेकस्थित जनसेवा माध्यमिक विद्यालयका दलित तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री सहयोग जुटाई वितरण गरिएको छ।


ओमानमा कार्यरत नेपाली सामाजिक अभियन्ता शर्मिला नेपालीको विशेष पहल तथा विभिन्न पेशा तथा रोजगारीका सिलसिलामा स्वदेश तथा प्रवासमा रहेका नेपालीहरूको आर्थिक एवं भौतिक सहयोगमा संकलन गरिएको कापी, कलमलगायतका शैक्षिक सामग्री विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो।


अर्घाखाँची डटकमका प्रबन्ध निर्देशक मेहर सिंह केसी को अध्यक्षतामा सम्पन्न विशेष कार्यक्रममा विद्यालयका दलित तथा जेहेन्दार विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।


आफ्नो जन्मभूमि र त्यहाँका बालबालिकाको शिक्षाप्रति उत्तरदायी बन्दै प्रवासमा रहेका नेपालीहरूले आपसी सहयोगमार्फत रकम तथा सामग्री संकलन गरी उक्त सहयोग उपलब्ध गराएका हुन्।


यस सहयोग अभियानमा मुख्य भूमिका शर्मिला नेपाली, हाल सलल, ओमानको पहलमा विभिन्न मुलुक तथा जिल्लामा रहेका नेपालीहरूको सहयोग रहेको थियो।
सहयोग गर्नेहरूमा देवबहादुर नेपाली, हंसपुर, अर्घाखाँची, हाल दुबई; कमला नेपाली, सन्धिखर्क–७, अर्घाखाँची, हाल यूके; कमल नेपाली, जनकपुर, हाल कुवेत; शर्मिला परियार, हाल कुवेत; शान्ता सापकोटा, मरेङ, हाल कुवेत; तथा भूपाल शर्मा, हंसपुर, हाल भारत लगायत रहनुभएको छ।


आफूहरू रोजगारी तथा कामको सिलसिलामा विभिन्न देशमा रहे पनि जन्मभूमिका विद्यार्थीहरूको शिक्षामा सहयोग गर्ने उद्देश्यले सबैले आ–आफ्नो तर्फबाट सहयोग गरेको जनाइएको छ। यस सहयोगले प्रवासमा रहेका नेपालीहरूबीचको आपसी एकता, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको सम्बन्धलाई समेत उजागर गरेको छ।

कार्यक्रममा अभियन्ता शर्मिला नेपालीका दाजु पुनबहादुर नेपालीले ओमानमा रहेका प्रवासी नेपाली श्रमिकहरूको तर्फबाट पठाइएको ऐक्यबद्धता तथा शुभकामना सन्देश सुनाउनुभएको थियो।


कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शालिकराम बेलबासेले भौगोलिक रूपमा टाढा रहेर पनि आफ्नो गाँस काटेर नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूले विद्यालयका बालबालिकाको शिक्षाका लागि गरेको सहयोग महत्वपूर्ण र प्रशंसनीय रहेको बताउनुभयो।

उहाँले विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस कार्यका लागि मुख्य पहल तथा संयोजन गर्ने अभियन्ता शर्मिला नेपालीसहित ओमान तथा विभिन्न देशमा रहेका सम्पूर्ण सहयोगी नेपालीहरूप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो।

खाडी मुलुकको चर्को गर्मी र कठिन श्रमका बाबजुद पनि स्वदेशमा रहेका बालबालिकाको शिक्षा र भविष्यका लागि प्रवासमा कार्यरत नेपालीहरूले देखाएको सहयोग, ऐक्यबद्धता र सामाजिक उत्तरदायित्वको स्थानीय अभिभावक तथा बुद्धिजीवीहरूले समेत प्रशंसा गरेका छन्।

विदेशमा रहेर पनि आफ्नो जन्मभूमि, गाउँ–समाज र विद्यार्थीहरूको भविष्यप्रति जिम्मेवार बन्दै गरिएको यस्तो सहयोगले दलित तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक यात्रामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, प्रवासी नेपालीहरू र स्वदेशका विद्यालयबीचको सामाजिक सम्बन्धलाई समेत यस प्रकारका सहयोगले थप मजबुत बनाउने विश्वास गरिएको छ।

कार्यक्रमको सञ्चालन केशव राज ज्ञवालीले गर्नुभएको थियो।
तस्बिर/भिडियो : डिआर जि सुमन, अर्घाखाँची डटकम








