
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दुई दिन पछि सरेपछि केन्द्रीय निर्वाचन समितिले नयाँ तालिका प्रकाशित गरेको छ । जस अनुसार उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ भने महाधिवेशन प्रतिनिधिको नामावली असोज १५ गतेभित्र पठाउन र प्रतिनिधि दर्ता असोज १६ र १७ गते गर्न केन्द्रीय निर्वाचन समितिले अनुरोध गरेको छ । त्यस्तै, वडा र गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेको जानकारी दिदै समितिले प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको बताएको छ । देशका विभिन्न स्थानमा भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा हुन बाँकी रहेको समितिले जनाएको छ । त्यस्तै, महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते हुनेछन् भने निर्वाचन असोज २१ र २२ गते सञ्चालन हुनेछ । निर्वाचन कार्यक्रमसम्बन्धी अन्य विवरण र विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।


२- जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा मुकेशबहादुर पालले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । पालले निर्धारित दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गरेका थिए । उनले सन् २००४ को एथेन्स ओलम्पिकमा राजेन्द्रबहादुर भण्डारीले बनाएको १४ मिनेट ०४.८९ सेकेन्डको कीर्तिमान १.२८ सेकेन्डले सुधार गरेका हुन् । पुरुष ५ हजार मिटर दौडमा बहराइनका बिरहानु बालेवले १३ मिनट ३०.७९ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेका छन् । नेपालका मुकेश भने नवौं स्प्थान्मा आएका थिए ।

३- अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपद्मा परी मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ३ जना, गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा ६ जना र कर्णाली प्रदेशमा २ जना गरी जम्मा ३५ जनाको मृत्यु भएको हो । जसमध्ये धनुषामा १ जना, मकवानपुरमा १ जना, धादिङमा १ जना, काभ्रेमा १ जना, बागलुङमा १२ जना, मनाङमा ४ जना, म्याग्दीमा ७ जना, पाल्पामा ५ जना, रोल्पामा १ जना, डोल्पामा १ जना र रूकुम पश्चिममा १ जना रहेका छन् । बाढी, पहिरो लगायतका विपद्मा परी १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको र २ हजार ६९५ जनाको उद्दार गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
४- नेपाल धितोपत्र बोर्डको धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३ ले धितोपत्र दलाल व्यवसायीलाई पूँजी, सेवा विविधता, जोखिम वहन क्षमता र संस्थागत क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गर्ने प्रस्ताव गरेको छ । नीतिको उद्देश्य सीमित सेवा र व्यक्ति–केन्द्रित व्यवस्थापनमा आधारित दलाल व्यवसायलाई सबल, प्रविधिमैत्री र विविध सेवा दिनसक्ने बजार मध्यस्थकर्तामा रूपान्तरण गर्नु रहेको उल्लेख छ । प्रस्तावअनुसार श्रेणी ‘क’ धितोपत्र व्यापारीले सबैभन्दा विस्तृत सेवा दिन पाउनेछ । यसमा धितोपत्र दलाली र आदेश कार्यान्वयन, निक्षेप सेवा, मार्जिन कारोबार, बजार निर्माण, योग्य संस्थागत लगानीकर्ता सेवा, आफ्नै खाताबाट कारोबार, लगानी परामर्श तथा अनुसन्धान, लगानी व्यवस्थापन, प्रत्याभूति, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्री समेटिएका छन् । श्रेणी ‘ख’ पूर्ण सेवा धितोपत्र दलालले दलाली तथा आदेश कार्यान्वयनसँगै निक्षेप सेवा, मार्जिन कारोबार, बजार निर्माण, आफ्नै खाताबाट कारोबार, लगानी परामर्श, अनुसन्धान, लगानी व्यवस्थापन, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्री गर्न पाउने प्रस्ताव छ । त्यस्तै, श्रेणी ‘ग’ कारोबारमुखी धितोपत्र दलाल मुख्यतः कारोबार र ग्राहकका आदेश कार्यान्वयनमा केन्द्रित हुनेछ । यसले आवश्यक स्वीकृति लिएर निक्षेप सेवा, मार्जिन कारोबार, आफ्नै खाताबाट कारोबार, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो र छोटो बिक्री गर्न सक्नेछ । तर छुट्टै अनुमति नलिई उच्च जोखिमका वित्तीय गतिविधि गर्न पाउने छैन । त्यसैगरी, श्रेणी ‘घ’ विशिष्टीकृत धितोपत्र दलाललाई ऋणपत्र कारोबार, संस्थागत धितोपत्र दलाली वा बजार निर्माणजस्ता तोकिएका विशेष सेवामा केन्द्रित गर्ने प्रस्ताव छ । प्रत्येक श्रेणीको प्रवेश मापदण्ड र पूँजी आवश्यकता फरक हुनेछ; उच्च जोखिमका सेवाका लागि छुट्टै स्वीकृति, थप पूँजी, प्रविधि, जनशक्ति र जोखिम व्यवस्थापन क्षमता प्रमाणित गर्नुपर्नेछ । नीतिले वर्गीकरणसँगै दलाल व्यवसायीको पूँजी पर्याप्तता र वित्तीय सबलता बढाउने, ग्राहकको रकम तथा धितोपत्र छुट्टै र सुरक्षित राख्ने, सुशासन र आन्तरिक नियन्त्रण बलियो बनाउने तथा जोखिमअनुसार नियमन र सुपरिवेक्षण गर्ने प्रस्ताव गरेको छ । मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, छोटो बिक्री र अन्तरदिवसीय कारोबार विस्तार गर्न पनि छुट्टाछुट्टै अनुमति र जोखिम नियन्त्रणको व्यवस्था राखिएको छ । ग्राहक सुरक्षाका लागि गुनासो समाधान संयन्त्र, लगानीकर्ता क्षतिपूर्ति कोष, ग्राहकको पहिचान तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणका उपाय प्रस्तावित छन् । डिजिटल ग्राहक दर्ता, साइबर सुरक्षा, प्रणाली अवरुद्ध हुँदा सेवा निरन्तरता र जोखिममा आधारित नियामकीय प्रतिवेदन प्रणालीलाई पनि नीतिले जोड दिएको छ । व्यवसायी समस्यामा परेमा समयमै हस्तक्षेप, सुधार योजना र व्यवस्थित रूपमा व्यवसायबाट बाहिरिने प्रक्रिया अपनाउने प्रस्तावसमेत छ । कार्यान्वयनलाई तीन चरणमा अघि बढाउने नीति दस्तावेजको प्रस्ताव छ: सुरुमा संस्थागत क्षमता, पूँजी, ग्राहक सम्पत्ति सुरक्षा र साइबर सुरक्षा सुदृढ गर्ने; त्यसपछि मार्जिन कारोबार र धितोपत्र सापटीजस्ता बजार सेवा विस्तार गर्ने; र अन्तिम चरणमा अनुसन्धान, लगानी परामर्श तथा संस्थागत वित्तीय सेवासहित एकीकृत मध्यस्थता प्रणाली विकास गर्ने । विद्यमान व्यवसायीलाई नयाँ मापदण्डमा पुग्न संक्रमणकालीन अवधि दिने उल्लेख छ ।


५- आज बसेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णयहरु सार्बजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् । मन्त्रिपरिषद्को बैठकका निर्णय : – अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलरबराबरको अनुदान सहायता स्वीकार गर्ने । – पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला–ढल्केवर–पथलैया सडक खण्ड, गर्जाङ खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत् आयोजना र सशस्त्र प्रहरी बल नेपाललाई तालिम शिक्षालय, गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माण गर्न राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने । – पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने । – संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय सदनसमक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने । – अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने । – नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव आभास श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको प्रमुख सचिव पदमा, र नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा डाक्टर जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने ।

६- सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबि गरेका छन् । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्नेक्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई पक्राउ गरेको नभई सुरक्षा दिएको दाबि गरेका हुन् । उनले भने- ‘स्पष्ट भइनैसकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन । उहाँको आफ्नो परिवारबाट नै थप सुरक्षा मागेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु भएको छ । उहाँको सुरक्षामा प्रश्न आएपछि उहाँलाई सुरक्षा प्रदान गर्नका लागि रेस्क्यु गरेर लागिएको हो । नियन्त्रणमा लागेको, गिरफ्तार गरेको होइन ।’ मन्त्री पोखरेलले थ्रेट आएको भएर सुरक्षित स्थानमा लागिएको बताए । उनले जेनजीबाट थ्रेट नआएको बताउदै अज्ञात समुहबाट मोबाइलमा सन्देस पठाएर थ्रेट दिएको बताए ।
७- मुग्लिन–पोखरा सडक आयोजनाको जामुने–पोखरा पश्चिम खण्डको निर्माण आगामी नोभेम्बरभित्र सक्ने लक्ष्य राखिएको छ । विद्युत् पोल सार्ने, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्त गर्ने र दमौली डिभिजन कार्यालय स्थानान्तरण गर्ने समस्या समाधान भएपछि निर्माणले गति लिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । ३८.४१ किलोमिटर लामो पश्चिम खण्डमा मुख्य चार लेन सडक र पुललगायतका प्रमुख संरचनाको निर्माण सकिएको र कुल ३८ किलोमिटर सर्भिस लेनमध्ये करिब ३२ किलोमिटर बनेको छ । त्यस्तै फुटपाथ र बाँकी करिब ६ किलोमिटर सर्भिस लेनको काम नोभेम्बरभित्र पूरा गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । ३१० मिटर लामो मादी आर्क पुलको संरचना बनिसकेको छ। पुलको फिनिसिङ र पहुँच सडक निर्माण बाँकी छ । १९० मिटर लामो सेती पुलको करिब ७० प्रतिशत काम पूरा भएको र बाँकी काम आगामी अप्रिलसम्म सक्ने तालिका रहेको छ । आयोजनाको आबुखैरेनी–जामुने पूर्वी खण्डको निर्माण सम्पन्न भइसकेको छ भने सडक सुरक्षाका लागि जोखिमयुक्त पहिरो रोकथामसम्बन्धी थप अध्ययन र ठेक्का प्रक्रिया अघि बढाइएको मन्त्रालयले जानकारी दिएको छ । मुग्लिन–आबुखैरेनी खण्डको करिब आठ किलोमिटरमध्ये चार किलोमिटर सडक मर्स्याङ्दी नदीपारिबाट बनाउने ठेक्का प्रक्रिया पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
८- नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेर रोकिएको छ । आज ३६३ कम्पनिका एक करोड १० लाख ६९ हजार ७४ कित्ता शेयर ४ अर्ब ६५ करोड ४८ लाख ७५ हजार ४५ मा कारोबार भएको थियो । आज निर्जीव वीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी आइसिएफ़एसी डिभेन्चर २०८३ को शेयर ९.१८ प्रतिशतले बढेको छ भने सयपत्री हाइड्रोको शेयर ६.७९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिटिजन सुपर ३० म्युचुअल सुपर फन्डको शेयर ५.४४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन डिष्टीलरीको २२ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको १७ करोड २५ लाख बराबरको कारोबार भएको छ ।
९- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् । कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारमा भएको बिदाइ भेटमा उनले यस्तो बताएका हुन् । भेटमा प्रधानमन्त्री शाहले हालैको बाढीपहिरो तथा विपद्का बेला भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए । उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै आगामी यात्राका लागि शुभकामना पनि दिए । राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपालमा विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराएका थिए । नेपाल बसाइका क्रममा सहयोग पुर्याएकोमा उनले नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

१०- भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिबापत २ हजार १८० वटा बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणको विवरणअनुसार असोज १२ गतेसम्म प्राप्त दाबीको प्रारम्भिक अनुमानित रकम २० अर्ब ९८ करोड ८७ लाखभन्दा बढी रहेको छ । यो विवरण भदौ १० गतेको बाढीबाट भएको क्षतिसम्बन्धी हो । बीमालेखको प्रकारअनुसार सम्पत्ति बीमामा ५१८ वटा दाबी परेको छ, जसको अनुमानित रकम ९ अर्ब ४१ करोड ५८ लाख रुपैयाँभन्दा बढी छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा १६५ दाबीको अनुमानित रकम ४ अर्ब ४१ करोड ४५ लाख रुपैयाँभन्दा बढी छ । मोटर बीमामा सबैभन्दा धेरै १ हजार ६६ वटा दाबी परेका छन् । यस शीर्षकमा अनुमानित दाबी रकम ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँभन्दा बढी छ । परिवहन बीमामा १०४ दाबीको रकम २ अर्ब ४८ करोड ५१ लाख रुपैयाँभन्दा बढी, अन्य बीमामा २७२ दाबीको रकम १ अर्ब ३६ करोड ५२ लाख रुपैयाँभन्दा बढी र स्वास्थ्य बीमामा २८ दाबीको रकम २ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ । प्राधिकरणको तालिकाअनुसार अग्रिम भुक्तानीसमेत जोड्दा हालसम्म ६७ लाख ४८ हजार रुपैयाँभन्दा बढी दाबी रकम भुक्तानी भएको छ । यसमध्ये सम्पत्ति बीमामा करिब ३८ लाख १४ हजार, मोटर बीमामा करिब २४ लाख १० हजार र अन्य बीमामा करिब ५ लाख २ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ। परिवहन र इन्जिनियरिङ बीमामा पनि साना रकम भुक्तानी भएको विवरण छ ।
११- दीपक मनाङे भनिने राजीव गुरुङ नेपाली कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका छन् । मंगलबार कांग्रेसको १५औँ महाधिवेशन तयारीका क्रममा डा. शशांक कोइरालाले मनाङेलाई पार्टीमा स्वागत गरेका हुन् । कोइरालाले मंगलबार गुरुङलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । मनाङेलाई १५औँ महाधिवेशनका लागि मनाङको संयोजक तोकिएको छ । काँग्रेसको देउवा समुहले मङ्सिरमा महाधिवेशन गर्ने तयारी गरेको छ ।
१२- जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको क्वार्टरफाइनलका सबै खेल बर्षाले रद्ध भएका छन् । लगातारको बर्षापछि जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा हुने क्वाटरफाइनलका चार खेल सोमबार र मंलगबार हुन नसकेपछि रद्ध गरिएको छ । योसँगै सिधै क्वाटरफाइनल खेल्न लागेका शिर्ष वरियताका चार देश अब सिधै सेमिफाइनल खेल्ने भएका छन् । जसमा भारत र श्रीलंका तथा पाकिस्तान र बंगलादेश सेमिफाइनलमा खेल्ने भएका हुन् । सेमिफाइनलका खेल विहिबार हुदैछन् । अर्कोतर्फ प्रारम्भिक चरण खेलेर क्वाटरफाइनलमा पुगेका नेपालसहित अफगानिस्तान, जापान, हङकङ र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा नेपालले पहिलो खेलमा टेस्ट खेल्ने देश अफगानिस्तानलाई पराजित गरेको थियो भने दोस्रो खेलमा जापानसँगको खेल बर्षाले रद्ध भएको थियो ।
१३- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत ४ सय छात्रालाई आत्मरक्षासम्बन्धी दुईदिने तालिम दिने भएको छ । हिंसा पहिचान गर्न र जोखिमको अवस्थामा आफूलाई जोगाउन सक्ने सीप प्रदान गर्नु तालिमको उद्देश्य रहेको महानगरको शिक्षा विभागले जनाएको छ । महानगरभित्रका १० विद्यालयबाट ४०–४० जना छात्रा तालिममा सहभागी हुनेछन् । शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञानरश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा तालिम सञ्चालन हुनेछ । प्रशिक्षक सञ्जु महर्जनका अनुसार छात्रालाई गलत नियतले गरिएको स्पर्श वा हेराइ पहिचान गर्न र आक्रमणबाट हातखुट्टाको प्रयोग गरी बच्ने तरिका सिकाइनेछ। तालिममा सैद्धान्तिकभन्दा व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइनेछ । कार्यक्रमको प्रभावकारिता मूल्याङ्कनपछि क्रमशः सबै विद्यार्थीलाई तालिम दिने योजना रहेको परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीले बताए ।


१४- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी नियन्त्रणमा लिइएको घटनाप्रति न्यायाधीश समाज, नेपालले आपत्ति जनाएको छ । समाजले सुरक्षा खतराको कारण देखाएर नियन्त्रणमा लिने प्रक्रिया स्वाभाविक र प्रचलित कानुनअनुरूप नभएको जनाएको छ । समाजले कसैलाई सुरक्षा खतरा भए राज्यले उसको निवास वा उसले रोजेको स्थानमा सुरक्षा उपलब्ध गराउनुपर्ने उल्लेख छ । जबरा राज्यले उपलब्ध गराएको सुरक्षाकर्मीसहित आफ्नै निवासमा रहेको र आवश्यक परे सुरक्षाकर्मी थप्न सकिने अवस्था हुँदाहुँदै उनलाई जबर्जस्ती प्रहरी कार्यालय, त्यसमा पनि अपराध अनुसन्धान कार्यालयमा लगिएकोप्रति समाजले प्रश्न उठाएको छ । जबरालाई कसबाट र कस्तो सुरक्षा खतरा थियो तथा खतरा उत्पन्न गर्ने व्यक्तिमाथि के कारबाही गरियो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक नभएको समाजको भनाइ छ । यसले नियन्त्रणमा लिनुको पछाडि अरू उद्देश्य त थिएन भन्ने आशंका उब्जाएको विज्ञप्तिमा उल्लेख छ । बिना उचित कारण सुरक्षा खतराको नाममा पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित व्यक्तिलाई रातारात नियन्त्रणमा लिँदा न्यायिक क्षेत्रका अन्य व्यक्तिसमेत त्रसित हुन सक्ने भन्दै समाजले राज्यका निकायलाई सुरक्षा व्यवस्था गर्दा यसतर्फ ध्यान दिन आग्रह गरेको छ ।
१५- ओपनएआईले सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै आफ्नो नयाँ एआई मोडेल ‘जीपीटी–६.१ एस्ट्रा’ सार्वजनिक नगर्ने जनाएको छ । कम्पनीकी सुरक्षा प्रणाली प्रमुख साची जैनका अनुसार मोडेलले प्रयोगकर्ताको अनुमति र तोकिएको कार्यक्षेत्रभित्र रहने तथा आफूले गरेको कामबारे स्पष्ट जानकारी दिने पक्षमा अपेक्षित स्तर पूरा गर्न नसकेको बताएकी छन् । यो निर्णय त्यस्ता एआई प्रणालीको जोखिमबारे बहस चर्किएका बेला आएको हो, जसले आफैँ इन्टरनेट चलाउन र विभिन्न एप प्रयोग गर्न सक्छन् । ओपनएआईका प्रमुख साम अल्टम्यानसहित प्रविधि क्षेत्रका नेताहरूले पनि एआई विकासका जोखिमलाई ध्यानमा राख्दै यसको गति कम गर्नुपर्ने बताएका छन् । ओपनएआईले अस्ट्रेलियाली सरकारी वेबसाइट तथा प्रणालीमा अनुमति बिना पहुँच पुगेका घटनाबारे पनि अद्यावधिक सार्वजनिक गरेको छ । ती घटना जुनमा भएका थिए र गत साता मात्रै सार्वजनिक भएका थिए । कम्पनीले आफ्नो प्रतिक्रिया अझ राम्रो हुनुपर्ने स्वीकार्दै प्रभावित निकायलाई सहयोग, साइबर सुरक्षा सहायता र जोखिम व्यवस्थापनका लागि कार्यदल गठन गर्ने जनाएको छ । ओपनएआईका अनुसार अस्ट्रेलियाका विभिन्न सरकारी निकाय प्रभावित भएका थिए । कम्पनीले अगस्टको मध्यतिर घटनाबारे थाहा पाएपछि अनुसन्धान सुरु गरेको र सेप्टेम्बरमा सम्बन्धित निकायलाई जानकारी दिएको बताएको छ । भविष्यमा यस्ता घटना पहिचान र सार्वजनिक गर्ने व्यावहारिक उपाय विकास गर्न सरकारसँग सहकार्य गर्ने पनि कम्पनीको भनाइ छ । एआई एजेन्टको सुरक्षा र नियमनबारे विश्वभर चर्चा भइरहेका बेला पोप लियो चौधौँले प्रविधिका जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा प्रविधि क्षेत्रका प्रमुखहरूसँग एआई नियमनबारे छलफल गर्ने कार्यक्रम रहेको समाचारमा उल्लेख छ ।
१६- हिमलुङ हिमालको आधार शिविरमा गएको ठूलो हिमपहिरोपछि बेपत्ताको खोजी तथा उद्धार कार्य प्रतिकूल मौसम र अस्थिर हिमाली अवस्थाका कारण अस्थायी रूपमा रोकिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार घटनास्थलबाट चार जनाको शव निकालिएको छ भने १२ जना कुक कर्मचारी अझै बेपत्ता छन् । माउन्टेन गाइड मिङ्मा जी. शेर्पाको नेतृत्वमा संघको उद्धार टोली जीवित व्यक्ति भेटिने आशासहित हिमाल चढेको थियो । अत्यन्त कठिन परिस्थितिमा लामो समय खोजी गरेपछि चार जनाको शव फेला परेको एसोसियसनले जनाएको छ । आधार शिविर क्षेत्रमा करिब १४ फिट हिउ जमेकाले हरेक ठाउ हातैले खोतलेर खोज्नु कठिन र जोखिमपूर्ण भएको थियो । अत्यधिक चिसो र अस्थिर हिउले उद्धार टोलीको काम थप चुनौतीपूर्ण बनाएको एसोसिएसनले बताउदै वर्तमान अवस्था सुरक्षित नभएकाले टोलीले खोजी अभियान अस्थायी रूपमा रोकिएको छ । हिउ र हिमालको अवस्थालाई निरन्तर निगरानी गर्दै सुरक्षित भएपछि बाँकी बेपत्ताको खोजी तथा शव निकाल्न सम्भव प्रयास गर्ने एसोसियसनले जनाएको छ ।
१७- परराष्ट्रमन्त्री शिशिर खनालले डर्बन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा डर्बन घोषणा तथा कार्ययोजना स्वीकृत भएको २५औँ वार्षिकोत्सवमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले डर्बन घोषणाले जातिवाद, जातीय भेदभाव, विदेशीद्वेष तथा उपनिवेशवाद, रंगभेद र प्रणालीगत अन्यायका स्थायी प्रभावविरुद्ध अन्तर्राष्ट्रिय समुदायको साझा संकल्प प्रतिबिम्बित गर्ने बताए । उनले भेदभावविरोधी कानुनको प्रभावकारी कार्यान्वयन र नागरिकस्तरको पहल अघि बढाउन, सीमान्तकृत समुदायलाई सशक्त बनाउन तथा कृत्रिम बुद्धिमत्तासहित नयाँ प्रविधिको नियमन गर्न आह्वान गरेका थिए । उनले जातीय पूर्वाग्रहमा आधारित एल्गोरिदम र घृणास्पद अभिव्यक्ति रोक्नुपर्नेमा जोड दिँदै उनले विश्वव्यापी प्रणालीगत असहिष्णुता अन्त्य गर्न सिद्धान्तनिष्ठ बहुपक्षीयता अघि बढाउन पनि आग्रह गरेका थिए ।
१८- यूईएफए नेसन्स लिगको दोस्रो खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले पराजित गरेको छ भने इटालीले टर्कीलाई ४–१ गोलले हराएको छ । गएराती ब्रसेल्समा भएको खेलमा माइकल ओलिसेले खेल सकिन दुई मिनेट बाँकी छँदा गोल गर्दै फ्रान्सलाई जित दिलाए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर बनाए पनि अन्तिम समयमा ओलिसेको व्यक्तिगत प्रयास निर्णायक बनेको थियो । त्यस्तै अर्को खेलमा इटालीले टर्कीलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो । इटालीले एलेसान्द्रो बास्टोनीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि डेभिडे फ्रात्तेसी र माइकल कायोडेले गोल थपे । टर्किएका बारिश अल्पर यिल्माजले एक गोल फर्काए पनि पियो एस्पोसिटोले इटालीका लागि चौथो गोल गरेका थिए । पहिलो खेलमा बेल्जियमसँग हारेको इटालीले यस जितसँगै प्रतियोगितामा पुनरागमन गरेको छ । अब फ्रान्सले अर्को खेल अक्टोबर ३ मा इटालीसँग खेल्ने छ भने अक्टोबर ६ मा बेल्जियमसँग खेल्ने तालिका छन् ।
१९- पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा नेपाल प्रहरीका अधिकृतले उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको घटनाप्रति सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) ले असोज १० गते मध्यरातमा चोलेन्द्रशमशेरलाई घरबाट उठाई टेकुमा लगेर करिब १० घण्टा राखी पुनः परिवारको जिम्मा लगाइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो । सर्वोच्चले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश तथा बहालवाला न्यायाधीश र न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाका अभिन्न अंग रहेको जनाएको छ । न्यायिक जनशक्तिप्रति राज्यका निकायले गर्ने व्यवहार सदैव संवेदनशील र गम्भीर विषय हुने सर्वोच्चको भनाइ छ । प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता तथा सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणका लागि प्रचलित कानुनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्र नियन्त्रणमा लिन सकिने सर्वोच्चले जनाएको छ । उचित कानुनी प्रक्रिया पूरा नगरी गरिने कामकारबाहीमा स्वेच्छाचारिता रहने भन्दै सर्वोच्चले त्यस्तो कार्य लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने जनाएको छ । सर्वोच्चले कुनै पनि पूर्व पदाधिकारीसँग जोडेर न्याय सम्पादनका क्रममा भएका वा हुने कुनै पनि कामकारबाहीलाई चित्रण वा सम्प्रेषण नगरिदिन सम्बन्धित सबै सरोकारवालालाई अनुरोधसमेत गरेको छ । न्यायपालिकाबाट सम्पादन हुने न्यायसम्पादनलगायत हरेक कामकारबाहीमा बाह्य वा आन्तरिक कुनै पनि प्रकारको प्रभावलाई स्थान नदिइने विश्वाससमेत सर्वोच्चले व्यक्त गरेको सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले उल्लेख गरेका छन् ।
२०- चीनले दिएका दुई पाण्डा पिङ पिङ र फु श्वाङ अमेरिकाको एटलान्टास्थित चिडियाखाना एटलान्टा पुगेका छन् । उनीहरू १० वर्ष त्यहाँ रहने बताइएको छ । पाण्डालाई स्वागत गर्न उत्सुक दर्शक चिडियाखानामा भेला भएका थिए । पाण्डा बोकेको फेडएक्सको चार्टर्ड कार्गो विमान आइतबार बिहान एटलान्टा अवतरण गरेको थियो । चीन वन्यजन्तु संरक्षण संघ र चिडियाखाना एटलान्टाबीच गत वर्ष विशाल पाण्डा संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्य गर्ने सम्झौता भएपछि उनीहरूलाई अमेरिका ल्याइएको हो । चिनियाँ पक्षका अनुसार दुवै देशका पशु चिकित्सक र हेरचाहकर्ताले संयुक्त रूपमा पाण्डाको स्वास्थ्य परीक्षण गरेका थिए । उनीहरूको स्वास्थ्य राम्रो रहेको पुष्टि भएपछि पिङ पिङ र फु श्वाङलाई करिब एक महिनाको नियमित क्वारेन्टिनमा राखिएको छ । ग्रान्ट पार्कमा रहेको चिडियाखानाभित्र ‘पिङ पिङ र फु श्वाङको भावी घर’ लेखिएको ब्यानर राखिएको छ । नजिकैको एक पसलले चिनियाँ र अंग्रेजी भाषामा स्वागत सन्देश लेखेर पाण्डालाई स्वागत गरेको सीएनएनले जनाएको छ । एटलान्टा चिडियाखाना पछिल्लो आधा शताब्दीमा अमेरिकामा पाण्डा राख्ने केही संस्थामध्ये एक हो । सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले बेइजिङ भ्रमण गरेपछि सुरु भएको पाण्डा आदानप्रदानको परम्परालाई यसले निरन्तरता दिएको छ । पाण्डा फर्कने योजना सार्वजनिक भएपछि चिडियाखानाका प्रमुख कार्यकारी रेमन्ड बी. किङले विशाल पाण्डाबाट प्राप्त हुने आश्चर्य र आनन्दको चर्चा गर्दै उनीहरूको हेरचाहको जिम्मेवारी फेरि पाएकोमा खुसी र सम्मानित महसुस गरेको बताएका थिए । सन् २०२४ मा चिडियाखानामा रहेका चार पाण्डालाई चीन फर्काइएको थियो । चीनले अमेरिकासहित विभिन्न देशसँग विशाल पाण्डा संरक्षण र अनुसन्धानमा सहकार्य गर्दै आएको छ । अमेरिकामा पाण्डा राख्ने सान डिएगो, वासिङ्टन, एटलान्टा र मेम्फिसका चिडियाखानासँग चीनले दीर्घकालीन सहकार्य सम्झौता गरेको छ । राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनका अनुसार अमेरिकामा रहेका पाण्डाबाट हालसम्म १७ वटा शावक जन्मिएर बाँचेका छन् ।




