६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति

काठमाडौं । शरद् ऋतु सन् २०२६ का लागि नेपालका विभिन्न हिमाल आरोहण गर्न अहिलेसम्म ६४८ जना आरोहीलाई अनुमति दिइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७१ वटा आरोहण दलमा आबद्ध ६४८ जनाले विभिन्न २० हिमालका लागि अनुमति पाएका हुन् ।

प्रतिवेदनअनुसार अनुमति पाउनेमा ४८५ पुरुष र १६३ महिला छन् ।  यस अवधिमा हिमाल आरोहणबाट सरकारले १५ लाख ७१ हजार ६५९ अमेरिकी डलर अर्थात २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ रोयल्टी संकलन गरेको विभागले जानकारी दिएको छ ।

प्रतिवेदनअनुसार शरद् ऋतुमा सबैभन्दा बढी आरोहीको आकर्षण मनास्लु हिमाल बनेको छ । ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि मात्रै ४३ वटा दलका ५०० जनाले अनुमति पाएका छन् । यसमा ३७३ पुरुष र १२७ महिला छन् ।

मनास्लुबाट मात्रै १४ लाख ८५ हजार ८१६ अमेरिकी डलर, अर्थात् २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

त्यसपछि धौलागिरि प्रथममा ३४ जना, गणेश हिमालमा १६ जना, गंगापूर्ण पश्चिममा ६ जना, थोराङ पिकमा ७ जना, नोरबु काङमा ४ जना र अन्नपूर्ण चौथोमा ४ जनाले आरोहण अनुमति पाएका छन् । त्यस्तै चाम्लाङमा ६ जना, बरुन सेमा १० जना, लामजुङ हिमालमा २ जना, पुमोरीमा ६ जना र पुथा हिलचुलीमा दुई समुहका २० जना आरोहीले अनुमति पाएका छन् ।

विभागको देशगत विवरणअनुसार ६८ देशका नागरिकले शरद् ऋतुमा हिमाल आरोहणका लागि अनुमति पाएका छन् । देशगत तथ्यांकमा चीनका ११८, रुसका ५७, फ्रान्सका ५१, जर्मनीका ३४, बेलायतका ३८ र अमेरिकाका ४१ जना रहेका छन् । त्यस्तै जापानका २१, भारतका १८, अस्ट्रेलियाका १७, चेक गणतन्त्रका १६, स्पेनका १५, स्विट्जरल्यान्डका १३, इटालीका ९, क्यानडाका १६, दक्षिण कोरियाका ९ र पोल्यान्डका १९ जना आरोहीले अनुमति पाएका छन् ।