भूमिकास्थानका चार वडामा विद्युत्को हैरानी : समस्या समाधान गर्न सांसद भुसालको ध्यानाकर्षण

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाका वडा नं. १, २, ५ र ६ मा केही महिनायता विद्युत् सेवा अनियमित हुँदै आएको भन्दै युवा अभियन्ता टेकराज भुसालले अर्घाखाँचीबाट निर्वाचित संघीय सांसद हरिप्रसाद भुसालको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बुटवल पावर कम्पनी लिमिटेडबाट वितरित विद्युत् सेवामा पटक–पटक अवरोध हुने तथा लामो समयसम्म विद्युत् कटौती हुने गरेको भन्दै भुसालले समस्या तत्काल सम्बोधनका लागि सांसद भुसालसमक्ष ध्यानाकर्षण मार्फत आग्रह गरेका हुन्।

विद्युत् आपूर्तिमा देखिएको अनियमितताले स्थानीय नागरिकको दैनिक जनजीवन प्रभावित हुनुका साथै विद्यार्थीको अध्ययन, व्यवसाय सञ्चालन, कृषि उत्पादन, सञ्चार, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक गतिविधिमा समेत प्रत्यक्ष असर परेको भुसालले उल्लेख गरेका छन्।

आधुनिक जीवनको आधारभूत पूर्वाधारका रूपमा रहेको विद्युत् सेवामा पटक–पटक समस्या दोहोरिँदा नागरिकले सास्ती खेप्नुपरेको भन्दै उनले सम्बन्धित निकायको गम्भीर ध्यान जानुपर्ने बताएका छन्।

भुसालले अर्घाखाँचीबाट निर्वाचित संघीय सांसदका रूपमा हरिप्रसाद भुसालले सम्बन्धित निकायसँग आवश्यक समन्वय र प्रभावकारी पहल गरी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरेका छन्।
उनले विशेषगरी भूमिकास्थान नगरपालिका वडा नं. १, २, ५ र ६ मा राष्ट्रिय प्रसारण लाइनमार्फत नियमित, गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन पहल गर्न आग्रह गरेका छन्।
“यो विषय कुनै व्यक्तिगत आग्रह नभई सम्बन्धित क्षेत्रका नागरिकको दैनिक जीवन, शिक्षा, रोजगारी, व्यवसाय र समग्र विकाससँग प्रत्यक्ष जोडिएको जनसरोकारको विषय हो,” भुसालले ध्यानाकर्षणमा उल्लेख गरेका छन्।
विद्युत् सेवामा देखिएको समस्या केवल विद्युत् आउने–जाने विषय नभई नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी, व्यवसाय र समग्र विकाससँग जोडिएको विषय भएकाले यसलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

भुसालले नागरिकले पटक–पटक विद्युत् अवरोधको समस्या भोगिरहनुपर्ने अवस्थाको अन्त्य गरी भरपर्दो र गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न सम्बन्धित निकायलाई जवाफदेही बनाउनेतर्फ पहल गर्न समेत सांसद भुसालको ध्यानाकर्षण गराएका छन्।
“जनताको समस्या सुन्ने मात्र होइन, समाधानका लागि पहल गर्ने नेतृत्वप्रति नागरिकको विश्वास अझ मजबुत बनोस् भन्ने अपेक्षासहित यो ध्यानाकर्षण प्रस्तुत गरिएको हो,” उनले भनेका छन्।

भूमिकास्थानका चार वडाका नागरिकले लामो समयदेखि भोग्दै आएको विद्युत् समस्याको स्थायी समाधानका लागि अब सम्बन्धित निकायले ठोस पहल गर्छ कि समस्या यथावत् रहन्छ भन्ने विषयमा स्थानीयको चासो बढेको छ।