
सुर्खेत, १७ असोज । सल्यान जिल्लाको कालीमाटी गाउँपालिकाभन्दा बाहिरका निर्माण व्यवसायीले बोलपत्र दर्ता गर्न नदिने गरेको पाइएको छ ।
गाउँपालिकाका कर्मचारी, पालिका अध्यक्ष दानबहादुर केसिसहितको मिलेमतोमा गाउँ पालिका बाहिर गुण्डाहरुले बाहिरका निर्माण व्यवसायीलाई बोलपत्र दर्ता गर्न जान नदिने गरेको पाइएको हो ।

सुरुमा गाँउपालिकाले भदौ १८ गते बोलपत्र आव्हान गरेको थियो । उक्त सूचना अनुसार निर्माण व्यवसायीले असोज ७ गते दिउँसो १२ बजेसम्म बोलपत्र दर्ता गरिसक्नुपर्ने थियो । तर त्यो समयमा साढे तीन सय भन्दा बढी बोलपत्रको आवेदन दर्ता भएपछि पालिकाले पुनः सूचना जारी गर्दै असोज २१ गतेसम्मको म्याद दिएर बोलपत्र दर्ता गर्न आव्हान गरेको थियो । सोही क्रममा बोलपत्र दर्ता गर्न सल्यानको कालीमाटी गाउँपालिका भन्दा बाहिरका व्यवसायीलाई अघोािषत रुपमा निषेध गरिएको छ ।


गाउँपालिकामा नियमसंगत रुपमा बोलपत्र दर्ता गर्न गएको व्यवसायीको बोलपत्र नै दर्ता नगर्ने, बाहिरका गुण्डाहरु प्रयोग गर्ने गरिएको अधिकांश निर्माण व्यवसायीले आरोप लगाएका छन् ।
असोज १५ गते कर्मचारीको टेबुलमै पुगेको निर्माण व्यवसायीको टिमलाई कर्मचारी र स्थानीयको होहल्ला, गालीगलौज र धम्कीपूर्ण भाषा प्रयोगका कारण उनिहरुलाई बोलपत्र दर्ता नै गर्न नदिइएको पाइएको हो । यसविषयमा निर्माण व्यवसायीले सुरक्षा प्रशासनसँग सुरक्षाको माग गरेपनि प्रहरीसमेत उनिहरुसामू निरीह बनेको निर्माण व्यवसायीको आरोप छ । पालिकाका इन्जिनियर विनोद सुवेदीले पालिकामा केहि दिन अघि सामान्य विवाद देखिएको स्वीकारे ।

‘केहि दिन अघि पालिका बाहिर त्यस्तो समस्या देखिएको भन्ने सुनेको हो । हामी असोज १५ गते सुर्खेत गएका थियौँ ।’ इन्जिनियर सुवेदीले भने, ‘केहि स्थानीय व्यक्ति बोलपत्र दर्ता गर्ने स्थानमै आएर होहल्ला गरेको भन्ने सुन्नमा आएको छ । हामीले प्रक्रियागत रुपमा कार्यालय भित्र आएका निवेदन दर्ता गर्न कुनै कन्जुस्याई गरेका छैनौँ ।’
इन्जिनियर सुवेदीले दावी गरेपनि गाउँपालिका उपाध्यक्ष सनसिल्ता वली डिसिले भने असोज १५ गते प्रमूख प्रशासकीय अधिकृतसहितको टिम कार्यालयमा साँझ तीन बजेसम्म रहेको बताईन । ‘कार्यालय भित्र त्यस्तो हल्ला भएको थाहा भएन ।’ उनले भनिन, ‘कार्यालय बाहिरको कुरामा हामी जिम्मा लिन सक्दैनौँ । कर्मचारीहरु तीन बजेसम्म कार्यालयमै हुनुहुन्थ्यो । उहाँहरु कार्यालयमा आएको खण्डमा दर्ता नगर्ने भन्ने कुनै हामीले न निर्णय गरेका छौँ, न त कसैलाई रोक लगाएका छौँ ।’

यस विषयमा कुराकानी गर्न खोज्दा पालिका अध्यक्ष दानबहादुर केसी र प्रमूख प्रशासकीय अधिकृत हर्कबहादुर वलीले फोन नै उठाएनन ।




