युक्रेन युद्धका बीच रक्षा खर्च बढाउन रुसले शिक्षा बजेट कटौती गर्ने

काठमाडौँ, १८ असोज । युक्रेनसँगको युद्धमा खर्च बढ्दै जाँदा रुसले आगामी वर्ष रक्षा बजेटमा भारी वृद्धि गर्ने, शिक्षा क्षेत्रको बजेट कटौती गर्ने र कर बढाउने योजना बनाएको बजेट मस्यौदाले देखाएको छ।

युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहँदा यो बजेट सार्वजनिक भएको हो। यस अवधिमा दुवै पक्षले लामो दूरीका आक्रमणहरू तीव्र पारेका छन् भने मस्कोले किएभमाथि दैनिक हवाई हमला जारी राखेको छ। रुसी संसद्को तल्लो सदनमा स्वीकृतिका लागि पेस गरिएका यी योजनाहरूबारे मुख्य विवरण यस प्रकार छन्:

रक्षा खर्चमा भारी वृद्धि
बजेट मस्यौदा अनुसार सरकारले सन् २०२७ मा रक्षा क्षेत्रमा कीर्तिमानी १७.१ ट्रिलियन रुबल (२०४ अर्ब अमेरिकी डलर) खर्च गर्ने योजना बनाएको छ। यो रकम सन् २०२७ का लागि गत वर्ष गरिएको अनुमानभन्दा करिब २६ प्रतिशतले बढी हो।

दस्तावेजअनुसार रक्षा खर्च कुल सरकारी खर्चको एक-तिहाइभन्दा बढी हुनेछ; जुन स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक कल्याणका लागि छुट्याइएको संयुक्त बजेटभन्दा पनि बढी हो। कागजातहरूले सन् २०२८ र २०२९ मा रक्षा खर्च घट्ने अनुमान गरे पनि युक्रेनमा आक्रमण सुरु गरेयता रुसले आफ्ना दीर्घकालीन रक्षा खर्चका अनुमानहरूलाई पटक-पटक नाघ्दै आएको छ।

‘सेन्टर फर युरोपियन पोलिसी एनालाइसिस’का वरिष्ठ अध्येता अलेक्जेन्डर कोलियान्डरका अनुसार रक्षासम्बन्धी वास्तविक खर्च गोप्य राखिने भएकाले यो अझ बढ्न सक्छ। “सार्वजनिक गरिएका कुल तथ्याङ्कहरू अर्थ मन्त्रालय र सुरक्षा निकायबिचको वार्ताका प्रारम्भिक प्रस्ताव मात्र हुन्,” उनले गत साता एउटा लेखमा उल्लेख गरेका छन्।

सामाजिक खर्चमा कटौती
गत साता बजेटको मस्यौदा सार्वजनिक गर्दै रुसका अर्थमन्त्री एन्टोन सिलुआनोभले सामाजिक कल्याण र रक्षा खर्च दुवै सरकारको “प्राथमिकता” भएको दाबी गरेका थिए। तर बजेट दस्तावेजहरूले भने सामाजिक नीतिलगायत गैर-सैन्य क्षेत्रमा ठुलो कटौती भएको देखाउँछन्।

सन् २०२७ का लागि तय गरिएका प्रारम्भिक योजनाको तुलनामा स्वास्थ्य सेवा र शिक्षा क्षेत्रको बजेट ५ प्रतिशतभन्दा बढीले घट्नेछ भने सामाजिक कार्यक्रमहरूमा हुने लगानी ६ प्रतिशतभन्दा बढीले कटौती हुनेछ।

दस्तावेजअनुसार बजेट कटौती हुने योजनाहरूमा सङ्घीय सरकारको क्यान्सर-विरोधी कार्यक्रम पनि समावेश छ, जसले आफ्नो कुल बजेटको करिब ९७ प्रतिशत हिस्सा गुमाउनेछ।

images

 

“सरकारले निजामती कर्मचारीको तलब र सङ्ख्या घटाइरहेको छ। साथै, निर्माण तथा सडक मर्मतसम्भारलगायतका पूर्वाधार विकास परियोजनाहरूमा पनि भारी कटौती गरिएको छ,” स्तम्भकार बोरिस ग्रोजोभ्स्कीले ‘इम्पोटेन्ट स्टोरीज’ मा प्रकाशित लेखमा उल्लेख गरेका छन्। वित्तीय घाटा पूर्ति गर्न सरकारले कर बढाउने प्रस्ताव गरेको छ, जसमा बैंक निक्षेप र सम्पत्ति बिक्रीमा उच्च दरहरू समावेश छन्।

images

 

ऋणमा वृद्धि

images

युक्रेनमा आक्रमण सुरु गरेयता रुसले लगातार बजेट घाटा व्यहोर्दै आएको छ। सन् २०२७ मा कुल बजेट घाटा करिब ५.४ ट्रिलियन रुबल (६४.४ अर्ब डलर) पुग्ने अनुमान छ; जुन गत वर्ष सोही वर्षका लागि गरिएको ३.२ ट्रिलियन रुबलको अनुमानभन्दा ७० प्रतिशतभन्दा बढी हो। सन् २०२७ मा राज्यको कुल ऋण गार्हस्थ्य उत्पादनको २० प्रतिशतभन्दा माथि पुग्ने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्डका आधारमा यो सङ्ख्या कमै मानिए पनि रुसको अर्थ मन्त्रालयले यसअघि “सुरक्षित” भनी तोकेको सीमाभन्दा भने बढी हो।

 

साथै, सन् २०२७ मा सरकारले लिने कुल ऋणको परिमाण गत वर्ष सुरुमा योजना गरिएभन्दा करिब ४३ प्रतिशत बढी हुने अनुमान छ। “अहिले पर्याप्त रकम नै छैन,” ग्रोजोभ्स्की भन्छन्, “सरकारले सबैलाई एउटै सन्देश दिइरहेको छ- अब बजेटको रकममा भर नपर्नुहोस्; त्यो रकम तिनैलाई मात्र दिइनेछ जसलाई दिनु अत्यन्तै आवश्यक छ।”