चीनको झेजियाङमा ट्राफिक व्यवस्थापनका लागि ‘उड्ने ट्राफिक लाइट’ को प्रयोग

चीनको झेजियाङ प्रान्तस्थित जिन्हुवामा ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘उड्ने ट्राफिक लाइट’ (ड्रोन–माउन्टेड ट्राफिक लाइट) को प्रयोग शुरु गरिएको छ । चाडपर्वका समयमा सडकमा बढ्ने अत्यधिक चाप र भिडभाडलाई लक्षित गर्दै प्रहरीले प्रविधिमैत्री अस्थायी ट्राफिक नियन्त्रण उपाय अपनाएको हो।

सामान्य अवस्थामा ठूला चोकहरूमा ट्राफिक लाइटको व्यवस्था भएपनि साना चोक तथा भीडभाड हुने स्थानहरूमा चाडपर्वका समयमा व्यवस्थापन चुनौतीपूर्ण रहँदै आएको छ । यस समस्यालाई सम्बोधन गर्न स्थानीय प्रशासनले ड्रोनमा जडित ट्राफिक लाइट र लाउडस्पिकरको सहायता लिएको छ ।

जिन्हुवाका ट्राफिक प्रहरी अधिकारी यु बिनकाअनुसार यी ड्रोनहरू विशेष गरी ट्राफिकको चाप अत्यधिक हुने समयमा मात्र परिचालन गरिन्छन् । ड्रोनले सडकको अवस्था हेरेर ट्राफिक संकेतहरू प्रदान गर्नुका साथै चालक तथा पैदलयात्रीहरूलाई आवश्यक सूचना र निर्देशनहरू पनि ध्वनी सन्देशमार्फत प्रवाह गर्दछन् ।

यो प्रविधिको मुख्य विशेषता यसको लचकता हो । सडकको भीड सामान्य अवस्थामा फर्किने बित्तिकै यी ड्रोनहरूलाई सजिलै हटाउन सकिन्छ । यसले भौतिक संरचनाको निर्माण नगरीकनै अस्थायी रूपमा प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न मद्दत पु¥याएको छ । ट्राफिक व्यवस्थापनमा ड्रोनको यस्तो प्रयोगले सहरी सुरक्षा र व्यवस्थापनमा नयाँ आयाम थपेको सरोकारवालाहरूको भनाइ छ ।