
केन्यामा पहिलो पटक ‘बुन्दिबुग्यो’ इबोला भाइरसको संक्रमण पुष्टि भएको छ । डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी) मा लामो समयदेखि बसोबास गर्दै आएका एक केन्याली नागरिकको उपचारका क्रममा नैरोबीको अस्पतालमा मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले संक्रमणको पुष्टि गरेका हुन् ।
केन्याका स्वास्थ्य मन्त्री एडेन डुवालेकाअनुसार मृतक व्यक्ति विगत सात वर्षदेखि डिआरसीको इतुरी प्रान्तमा बसोवास गर्दै आएका थिए । करिव एक महिना अघि बिरामी परेका उनी डिआरसीका विभिन्न अस्पतालमा उपचार गराएपछि गत अक्टोबर ३ मा हवाई मार्ग हुँदै नैरोबी आइपुगेका थिए । नैरोबी अवतरण गरेलगत्तै उनलाई आफन्तले सिधै अस्पताल पु¥याएका थिए । अस्पतालमा भर्ना हुँदा उनमा ज्वरो, अत्यधिक थकान, मांसपेसी दुखाइ र छालामुनि रक्तस्रावजस्ता गम्भीर लक्षण देखिएका थिए ।


राष्ट्रिय भाइरोलोजी रेफरन्स ल्याब र केन्या मेडिकल रिसर्च इन्स्टिच्युटमा गरिएको परीक्षणबाट उनमा ‘बुन्दिबुग्यो’ प्रजातिको इबोला भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले घटनापछि तत्कालै कन्ट्याक्ट ट्रेसिङ (सम्पर्कमा आएकाहरूको खोजी) शुरु गरेको छ । हालसम्म मृतकका परिवार र स्वास्थ्यकर्मी गरी २८ जनालाई पहिचान गरिएको छ भने उनी चढेको विमानका २३ यात्रु र चार चालक दलका सदस्यको पनि खोजी भइरहेको मन्त्रालयले जनाएको छ । सम्भावित संक्रमण रोक्नका लागि जोखिममा रहेका व्यक्तिहरूलाई क्वारेन्टिनमा राख्ने तयारी गरिएको मन्त्री डुवाले बताएका छन् ।

सन् २०२६ को मे महिनादेखि नै केन्याले इबोलाप्रति उच्च शतर्कता अपनाउँदै आएको छ । मन्त्रालयले सर्वसाधारणलाई आतंकित नहुन आग्रह गर्दै साबुन–पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न र संक्रमण देखिएका देशहरूबाट आएका बिरामीहरूको सम्पर्कमा नजान सूचित गरेको छ । थप जानकारीका लागि सरकारले टोल–फ्री हटलाइन नम्बरसमेत सार्वजनिक गरेको छ ।




