
टर्कीले सन् २०२४ को पहिलो आठ महिनामा नवीकरणीय ऊर्जाको क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ । ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयकाअनुसार जनवरीदेखि अगस्ट महिनासम्मको अवधिमा कुल विद्युत उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा ६०.३ प्रतिशत पुगेको छ, जुन सन् २००० यताकै उच्च रेकर्ड हो । टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देशको हरित ऊर्जाको यात्रामा ठूलो फड्को मारेको देखाएको छ । अगस्ट महिनामा मात्रै सौर्य र वायु ऊर्जाबाट ९.९ अर्ब किलोवाट–घण्टा विद्युत् उत्पादन भएको छ, जुन हालसम्मकै उच्च मासिक रेकर्ड हो। चालू वर्षको जनवरीदेखि अगस्ट महिनासम्मको अवधिमा जलविद्युत्, वायु र सौर्य ऊर्जासहितका नवीकरणीय स्रोतहरूबाट कुल १४९.८ अर्ब किलोवाट–घण्टा विद्युत् उत्पादन भएको छ ।
यो उत्पादनले टर्कीको कुल विद्युत उत्पादन क्षमतामा हरित ऊर्जाको योगदानलाई ६०.३ प्रतिशतमा पु¥याएको हो ।


टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री अल्पास्लान बायरकतारले सामाजिक सञ्जालमार्फत यस उपलब्धिलाई ‘पूर्ण स्वतन्त्र ऊर्जा टर्की’ बनाउने राष्ट्रिय लक्ष्यतर्फको महच्वपूर्ण कदमका रूपमा व्याख्या गर्नुभयो । उहाँले आगामी दिनमा पनि नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई तिब्रता दिँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विशेषज्ञहरूकाअनुसार टर्कीले विगत केही वर्षयता जीवाश्म इन्धनमाथिको निर्भरता घटाउन सौर्य र वायु ऊर्जाका ठूला परियोजनाहरूमा लगानी बढाएको छ । पछिल्लो तथ्यांकले टर्कीको विद्युत ग्रिडमा हरित ऊर्जाको पहुँच सुरक्षित र भरपर्दो हुँदै गएको संकेत गरेको छ ।





