आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सरकारले आन्तरिक खपतसँगै अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रको सहभागिता व्यवस्थित गर्ने तयारी गरेको छ । नेपालमा विद्युत् उत्पादन क्षमता बढ्दै गएपछि उत्पादन र मागबीच सन्तुलन कायम गर्दै बजार विस्तारका लागि कानुनी, नियामकीय र संस्थागत आधार बलियो बनाउने तयारी गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् क्षेत्रलाई उत्पादन, प्रसारण, आन्तरिक खपत, विद्युत् व्यापार र क्षेत्रीय ऊर्जा बजारलाई जोड्ने एकीकृत प्रणालीका रूपमा विकास गर्ने नीति लिएको छ । प्रस्तावित व्यवस्थाअनुसार निजी क्षेत्रलाई बजार खोजी, साझेदार पहिचान र जोखिम व्यवस्थापनमा सहभागी गराइनेछ। त्यसका लागि प्रस्तावित विद्युत् व्यापारिक कम्पनीलाई पूर्वतयारीका रूपमा अनापत्ति प्रमाणपत्र वा आशयपत्र दिने व्यवस्था गर्न लागिएको छ । तर यस्तो प्रमाणपत्र वा आशयपत्रलाई अन्तिम व्यापार अनुमति, निश्चित परिमाणमा विद्युत् खरिद–बिक्रीको ग्यारेन्टी, प्रसारण क्षमता आरक्षण, खुला पहुँच वा अन्तरदेशीय विद्युत् व्यापारको स्वतः स्वीकृति मानिने छैन । यसको मुख्य उद्देश्य कम्पनीलाई कानुनी, संस्थागत, वित्तीय र प्राविधिक तयारी गर्न सहज बनाउनु रहेको छ । वास्तविक विद्युत् व्यापारका लागि प्रचलित कानुन, नियामकीय व्यवस्था र प्राविधिक मापदण्ड पूरा गर्नुपर्नेछ । बजार, मूल्य, भुक्तानी, कारोबार साझेदार तथा विदेशी विनिमयसँग सम्बन्धित जोखिम भने सम्बन्धित कम्पनीले नै व्यहोर्नुपर्नेछ । विद्युत् व्यापारमा विद्युत् बिक्री मात्र नभई खरिद–बिक्री, बजार खोजी, सम्झौता, जोखिम व्यवस्थापन, प्रसारण उपयोग, विद्युत् तालिकीकरण, मिटरिङ, हिसाब मिलान र भुक्तानीलगायतका प्रक्रिया समावेश हुन्छन् । प्रभावकारी विद्युत् बजारका लागि खुला पहुँच, प्रसारण क्षमता विनियोजन, भुक्तानी सुरक्षा, जोखिम व्यवस्थापन, बजार आचरण र नियामकीय पालना स्पष्ट हुनुपर्ने भएकाले यससम्बन्धी व्यवस्था थप व्यवस्थित गरिँदैछ । विद्युत् नियमन आयोग ऐन, २०७४ अन्तर्गत नियामकीय व्यवस्था विकास भइरहेको छ भने खुला पहुँचसम्बन्धी निर्देशिका जारी भई थप प्राविधिक व्यवस्था मिलाउने काम भइरहेको छ । अन्तरदेशीय विद्युत् व्यापारका लागि सम्बन्धित देशका बजार नियम, सरकारी स्वीकृति र सीमापार व्यापारसम्बन्धी संयन्त्र आवश्यक पर्ने भएकाले सम्बन्धित निकायबीच स्पष्ट जिम्मेवारी र समन्वयमा पनि जोड दिइएको छ । सरकारले स्पष्ट कानुन, पारदर्शी नियमन र जोखिम व्यवस्थापनका आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउँदा विद्युत्को बजार विस्तारसँगै निजी क्षेत्रको व्यावसायिक क्षमता विकासमा समेत सहयोग पुग्ने दाबि सरकारको रहेको छ ।

२-  एसीसी यु-१९ पुरुष एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । बिहीबार, एसियन क्रिकेट काउन्सिलले यु-१९ एसिया कपको तालिका सार्वजनिक गरेको हो । एकदिवसीय फर्म्याटमा हुने यो प्रतियोगिता नोभेम्बर ५ देखि १४ (कात्तिक १९ देखि २८ गते) सम्म ओमानमा सञ्चालन हुनेछ ।  नेपालले समूह ‘ए’ मा भारत, पाकिस्तान र यूएईसँग रहेकोछ भने  समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र मलेसिया रहेका छन् । समूह चरणमा १२ खेल हुनेछ ।  समूहको विजेता र उपविजेताले सेमिफाइनल खेल्नेछन् । पाकिस्तान यू-१९ एसिया कपको डिफेन्डिङ च्याम्पियन हो । पाकिस्तानले भारतलाई हराउँदै उपाधी जितेको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले पहिलो खेल कात्तिक २० (नोभेम्बर ६ ) मा खेलिने छ । नेपालले पहिलो खेलमा भारतसँग खेल्ने छ भने दोस्रो खेलमा कार्तिक २२ गते पाकिस्तानसँग र कार्तिक २४ गते मलेसियासँग खेल्ने छ ।

३- भारत सरकारले स्पेसएक्सको स्टारलिंकलाई भारतमा प्रवेश गर्न केही उद्योगपतिले रोकिरहेको भन्ने एलन  मस्कको आरोप अस्वीकार गरेको छ । सरकारले भू–उपग्रहमा आधारित सञ्चार सेवाका लागि तय गरिएका नियम सबै कम्पनीका लागि समान रहेको जनाएको छ । मस्कले सामाजिक सञ्जालमार्फत भारतका केही ठूला उद्योगपति आफ्नो एकाधिकार कायम राख्न स्टारलिंकलाई भारत आउन नदिने प्रयास गरिरहेको आरोप लगाएका थिए । उनले कुनै कम्पनी वा उद्योगपतिको नाम भने उल्लेख गरेका थिएनन् । सरकारका अनुसार स्टारलिंकसहित भू–उपग्रहमा आधारित सञ्चार सेवा दिन इच्छुक तीनवटै कम्पनीको हाल सुरक्षा परीक्षण भइरहेको छ । सुरक्षा परीक्षण पूरा भएपछि सम्बन्धित कम्पनीले अर्को चरणमा विद्युतीय तरंगको आवंटनका लागि प्रक्रिया अघि बढाउन सक्नेछन् । स्टारलिंकले भारतमा २० वटा मुख्य भू–केन्द्र स्थापना गरिसकेको र सयौँ एन्टेना जडान गरेको जनाएको छ । कम्पनीले रिलायन्स जियो र भारती एयरटेलसँग सहकार्यका लागि समझदारीसमेत गरेको छ । महाराष्ट्र, गुजरात र मेघालय सरकारसँग पनि सेवा विस्तारका लागि प्रारम्भिक सहमति भएको छ । स्पेसएक्सको परियोजना स्टारलिंकले भू–उपग्रहमार्फत उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउछ । विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्न यसको उपयोग हुने अपेक्षा गरिएको छ । भारतमा सुरक्षा र तथ्यांकसम्बन्धी सर्तका कारण यसको सेवा सञ्चालनमा ढिलाइ हुँदै आएको समयमा यो विवाद चर्किएको छ ।

४- नेकपा एमालेले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ । विहिबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको नेता लेखराज भट्टले जानकारी दिए । उनका अनुसार एमालेले वडा र पालिकाको अधिवेशन गर्ने समेत निर्णय गरेको छ । जसमा वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ मा गर्ने निर्णय गरेको नेता भट्टले जानकारी दिए । उनका अनुसार पार्टीले त्यसपछि प्रदेश स्तरीय भेला पनि आयोजना गर्नेछ । बैठकले समानुपातिकतर्फ रिक्त पदमा खातुनलाई पठाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए । उनका अनुसार खातुन एमालेको समानुपातिक बन्दसूचीको ४० नम्बरमा थिइन् । सांसद जैनब खातुनको निधनपछि उक्त सांसद पद रिक्त थियो ।

५- त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। यो चालु आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो । त्रिविको ६७औँ सभामा रजिस्ट्रार डा. रवीन्द्र सिवाकोटीले प्रस्तुत गरेको बजेटअनुसार कुल रकममध्ये १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ आन्तरिक स्रोत र १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ नेपाल सरकारबाट व्यहोर्ने अनुमान गरिएको छ । तर सरकारले चालु आर्थिक वर्षका लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ मात्रै अनुदान छुट्याएको छ। शिक्षक तथा कर्मचारीको तलब वृद्धि र प्रोत्साहन भत्तासहित थप दायित्वका कारण विश्वविद्यालयलाई ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ अपुग हुने त्रिविले जनाएको छ । कुल बजेटमध्ये ८६.१४ प्रतिशत सञ्चालन खर्च र १३.८६ प्रतिशत पुँजीगत खर्चमा विनियोजन गर्ने प्रस्ताव गरिएको छ । प्राध्यापक तथा कर्मचारीको क्षमता विकासका लागि २१ करोड ७७ लाख ८९ हजार रुपैयाँ, अनुसन्धान तथा विकासका लागि ४३ करोड ७५ लाख ५२ हजार रुपैयाँ र सूचना प्रविधि तथा प्रशासनिक व्यवस्थापनका लागि ८ करोड रुपैयाँ छुट्याइएको छ । त्रिविले शैक्षिक गुणस्तर, अनुसन्धान, प्रविधिको प्रयोग तथा शिक्षक–कर्मचारीको क्षमता विकासलाई बजेटको प्राथमिकतामा राखेको जनाएको छ। साथै, बजेट सीमाभन्दा बढी खर्च नियन्त्रण गर्न अत्यावश्यक खर्चका लागि केन्द्रीय कार्यालयको पूर्वस्वीकृति अनिवार्य गर्ने व्यवस्था गरिएको छ ।

६- नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि प्रभावित भएका महाधिवेशन प्रतिनिधिका लागि आवास र भोजनको व्यवस्था गरिने भएको छ । निर्वाचन समितिले असोज २३ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन गर्ने गरी कार्यक्रम परिमार्जन गरेपछि थपिएको एक दिनको व्यवस्थापनका लागि निर्णय गरिएको हो । आवास आवश्यक पर्ने प्रतिनिधिले आफ्नो क्षेत्रीय सभापतिमार्फत केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि आवश्यक व्यवस्था गरिने कांग्रेसले जनाएको छ । आज साँझ र भोलि बिहानको भोजनको व्यवस्था पनि गरिने भएको छ । भोजनको व्यवस्था साविककै भृकुटीमण्डपमा हुनेछ । सभापति गगन थापाले थपिएको एक दिनबाट परेको असहजतालाई परिस्थितिको बाध्यताका रूपमा लिएर सबै प्रतिनिधिलाई एकताबद्ध भएर भोलि बिहानैदेखि निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् ।

७- सन् २०२६ को साहित्यतर्फको नोबेल पुरस्कार क्यानडेली लेखिका एनी कार्सनलाई प्रदान गरिएको छ । नोबेल समितिका अनुसार शास्त्रीय साहित्यिक परम्परासँग सिर्जनात्मक संवाद गर्दै समकालीन साहित्यका नयाँ रूप निर्माण गरेकाले उनलाई पुरस्कार प्रदान गरिएको हो । कार्सनका चर्चित कृतिमध्ये ‘नक्स’, ‘द ब्यूटी अफ द हस्बन्ड’ र ‘अटोबायोग्राफी अफ रेड’ रहेका छन्। सन् २०१० मा प्रकाशित ‘नक्स’ आफ्ना दिवंगत भाइ माइकलको सम्झनामा लेखिएको कृति हो । सन् १९९८ मा प्रकाशित ‘अटोबायोग्राफी अफ रेड’मा उनले प्राचीन ग्रिक साहित्यको कथालाई आधुनिक शैलीमा प्रस्तुत गरेकी छन् । उनका कृतिमा कविता, गद्य र शास्त्रीय साहित्यिक परम्पराको नयाँ प्रयोग देखिन्छ । नोबेल समितिले कार्सनले साहित्यका स्थापित सीमा र शैलीलाई निरन्तर चुनौती दिँदै चित्रकला, रंगमञ्च तथा अन्य कलासँग समेत सहकार्य गरेको जनाएको छ । उनका सिर्जनाले सन् १९९० को दशकदेखि अन्तर्राष्ट्रिय साहित्य तथा कला क्षेत्रमा महत्वपूर्ण प्रभाव पारेको समितिको भनाइ छ ।

images

८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नम्बर नापी टोली, माछापोखरीका नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध १० लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार छुट जग्गा दर्ताको सिफारिससहितको फाइल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने र जग्गा दर्ताको काममा सहजीकरण गरिदिने भन्दै वलीले सेवाग्राहीसँग १० लाख रुपैयाँ घुस मागेका थिए । उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले वलीलाई घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट उनले १० लाख रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बराबर जरिवानाको मागदाबी गरेको छ ।

९-  टर्कीको आईजीए इस्तानबुल विमानस्थल विश्वकै सबैभन्दा बढी जोडिएको विमानस्थल बनेको छ । विश्वव्यापी विमानस्थलको तथ्यांक प्रदायक ओएजीको मेगाहब्स २०२६ सूचकांकमा इस्तानबुलले बेलायतको लन्डन हिथ्रो विमानस्थललाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो । सूचकांकमा एम्स्टर्डम सिफोल तेस्रो, क्वालालम्पुर चौथो र शिकागो ओ’हारे पाँचौँ स्थानमा छन् । ओएजीले अन्तर्राष्ट्रिय उडानको संख्या, उडानबीचको जोडिने सुविधा र गन्तव्यको संख्याका आधारमा वरीयता निर्धारण गरेको हो । इस्तानबुल विमानस्थल अहिले विश्वका करिब ३५० गन्तव्यसँग जोडिएको छ । सन् २०१८ मा करिब १२ अर्ब अमेरिकी डलर लागतमा सञ्चालनमा आएको विमानस्थल ७ करोड ६५ लाख वर्गमिटर क्षेत्रमा फैलिएको छ, जुन न्यूयोर्कको म्यानहट्टनभन्दा पनि ठूलो क्षेत्र हो । विमानस्थलबाट वार्षिक ८ करोड ४० लाखभन्दा बढी यात्रुले आवतजावत गर्छन् । विमानस्थलको दीर्घकालीन योजना वार्षिक २० करोड यात्रु धान्न सक्ने क्षमता बनाउने रहेको छ । हाल चौथो मुख्य धावनमार्ग सञ्चालनमा आइसकेको छ भने अन्तिम योजनामा ६ मुख्य र ३ वैकल्पिक गरी ९ वटा धावनमार्ग निर्माण गर्ने लक्ष्य छ । इस्तानबुलको हवाई सम्पर्क विस्तारमा टर्किस एयरलाइन्सको पनि महत्वपूर्ण भूमिका रहेको छ । विमानस्थलबाट हुने उडानमध्ये करिब ८० प्रतिशत हिस्सा यही वायुसेवाको रहेको बताइएको छ । टर्किस एयरलाइन्सले सन् २०२६ मा करिब १३० देशमा उडान सञ्चालन गरिरहेको छ । लन्डन हिथ्रो र एम्स्टर्डम सिफोलमा विस्तार तथा उडान संख्यामा विभिन्न सीमितता रहेकाले इस्तानबुल विमानस्थलले थप विस्तारको अवसर पाएको विश्लेषण गरिएको छ । रूस–युक्रेन युद्ध र मध्यपूर्वको तनावका बीच पनि इस्तानबुलको भौगोलिक अवस्थिति र विस्तार हुँदै गएको हवाई सम्पर्कले यसलाई युरोप, एसिया र मध्यपूर्व जोड्ने महत्वपूर्ण विमानन केन्द्रका रूपमा स्थापित गरिरहेको छ ।

images

१०- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका एक करोड १२ लाख ३३ हजार ६३६ कित्ता शेयर ३ अर्ब ९३ करोड ५ लाख ६० हजार ९५२ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी कुथेली बुखारी स्माल हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्नो रिभर्सको ६.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी आरबिबी म्युचुअल फण्ड २ को शेयर ८.०७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २६ करोड ६ लाख बराबरको कारोबार भएको छ भने हिलाम दोलखा हाइड्रोको १९ करोड २३ लाख बराबरको कारोबार भएको छ ।

images

११- नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ लिएकी छन् । स्थायी कमीटीको बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय च्यासल पुगेकी भण्डारीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताको पद तथा गोपनियताको शपथ गराएका हुन्  ।   असोज ५ देखि ८ सम्म ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले पूर्व राष्ट्रपति रहेकी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा नियुक्त गरेको थियो । भण्डारी अध्यक्षपछिको दोस्रो वरीयतामा राखिएको छ । उनलाई केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयका बैठकमा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस्तै, भण्डारीले अध्यक्षलाई सहयोग गर्ने तथा पार्टीलाई सही र समयोचित निर्णय गर्न योगदान पुर्‍याउने जिम्मेवारीसमेत पाएकी छन् । अपानिमा भनिएको छ- ‘वरिष्ठ नेताको हैसियतले पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र प्रतिष्ठाको पक्षपोषण गर्ने र केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र सचिवालयले तोकेका कार्यहरू गर्ने । ’

१२- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को पछिल्लो पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आइसीसीको पछिल्लो वरियतामा नेपाल १६औँ स्थानमा पुगेको हो । नेपालको हालको मूल्याङ्कन ३३ खेलमा ९३९ अंक रहेको छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो । टी- २० क्रिकेटमा भने नेपाल १४औं स्थानमा रहेको छ । एकदिवसीय खेलमा वरीयताको शीर्ष स्थानमा भारत, दोस्रोमा न्युजिल्यान्ड र तेस्रोमा दक्षिण अफ्रिका रहेका छन् ।

१३- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल डिजिटल माध्यमबाट भुक्तानी गर्न नागरिकलाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठका अनुसार अहिले पनि करिब ७३ प्रतिशत नागरिकले भौतिक रूपमा काउन्टरमा पुगेर विद्युत् महसुल तिर्ने गरेका छन्। डिजिटल युगमा यस्तो अवस्था परिवर्तन गर्न सबैको सहयोग आवश्यक रहेको उनले बताएका छन् । नेपाल विद्युत् प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गतका प्रशाखामा हाल ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन्। ती काउन्टर सञ्चालनका लागि मात्रै वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुने गरेको मन्त्री श्रेष्ठले बताएका छन्। मासिक रूपमा यस्तो खर्च करिब ५ करोड रुपैयाँ पुग्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले डिजिटल भुक्तानी बढाउन सके नागरिकको समय र आवतजावतमा लाग्ने खर्च बचत हुने बताएका छन्। नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षासमेत बढ्ने उनको भनाइ छ । काउन्टर सञ्चालनमा खर्च हुने स्रोत र जनशक्तिलाई अन्य आवश्यक ग्राहक सेवामा परिचालन गर्न सकिने उनले बताएका छन् । मन्त्री श्रेष्ठले परिवार, आफन्त, छरछिमेक तथा चिनजानका व्यक्तिलाई डिजिटल माध्यमबाट महसुल तिर्न सिकाउन र प्रोत्साहित गर्न आग्रह गरेका छन्। विशेषगरी डिजिटल भुक्तानी गर्न नजान्ने अभिभावक तथा ज्येष्ठ नागरिकलाई एकपटक सिकाइदिन उनले आग्रह गरेका छन् । उनले डिजिटल भुक्तानीको प्रयोग बढाउनु केवल भुक्तानी प्रणाली परिवर्तन गर्ने विषय नभई नागरिकको समय बचत, सेवा सहजता, वित्तीय पारदर्शिता र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगसँग जोडिएको विषय भएको बताएका छन् ।

१४- कृत्रिम बौद्धिकता प्रयोग हुने तथ्यांक केन्द्रमा आवश्यक स्मृति चिपको माग तीव्र रूपमा बढेपछि दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले त्रैमासिक नाफामा ठूलो वृद्धि हुने अनुमान गरेको छ । कम्पनीका अनुसार सेप्टेम्बरमा समाप्त भएको तीन महिनामा सञ्चालन नाफा करिब १ खर्ब ७ अर्ब ४ करोड वन पुग्ने अनुमान गरिएको छ । यो रकम करिब ८० अर्ब अमेरिकी डलर बराबर हो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो नाफा करिब नौ गुणा बढी हो । सामसुङको यो लगातार चौथो त्रैमासिक कीर्तिमानी आम्दानी हुने अनुमान गरिएको छ । कम्पनीले तेस्रो त्रैमासिकको पूर्ण वित्तीय विवरण अक्टोबरको अन्त्यमा सार्वजनिक गर्नेछ । सामसुङ विश्वका प्रमुख स्मृति चिप उत्पादकमध्ये एक हो । दक्षिण कोरियाकै एसके हाइनिक्स र अमेरिकी कम्पनी माइक्रोनसँगै सामसुङले कृत्रिम बौद्धिकतासम्बन्धी काम गर्ने कम्पनीका लागि आवश्यक चिप उत्पादन गर्दै आएको छ । यस्ता चिप कृत्रिम बौद्धिकताका लागि प्रयोग हुने तथ्यांक केन्द्रमा महत्वपूर्ण मानिन्छन् । कृत्रिम बौद्धिकता विकासका लागि आवश्यक कम्प्युटर चिपको विश्वव्यापी माग पछिल्ला वर्षमा तीव्र रूपमा बढेको छ । माग बढेसँगै सेमिकन्डक्टरको अभावसमेत देखिएको छ, जसले चिप उत्पादक कम्पनीको बिक्री र आम्दानी बढाउन सहयोग गरेको छ । सामसुङको सेयर मूल्यमा समेत यसको प्रभाव परेको छ । यसै वर्ष कम्पनीको बजार मूल्य १ खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको थियो ।कृत्रिम बौद्धिकतामा विश्वव्यापी लगानी बढिरहेका कारण चिपको माग अझै बढ्ने अपेक्षा गरिएको छ । गुगल, अमेजन र मेटालगायत अमेरिकी प्रविधि कम्पनीहरूले यस वर्ष कृत्रिम बौद्धिकतासम्बन्धी परियोजनामा ६ खर्ब ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । दक्षिण कोरियाले पनि चिप उत्पादन क्षमता विस्तार गर्न ठूलो लगानीको योजना अघि सारेको छ । जुनमा सार्वजनिक गरिएको योजनाअनुसार सामसुङ र एसके हाइनिक्सको नेतृत्वमा आगामी वर्षहरूमा कम्तीमा ८ खर्ब ८० अर्ब डलर बराबरका परियोजना सञ्चालन गर्ने योजना छ । कृत्रिम बौद्धिकताको माग बढेपछि जापान, चीन र ताइवानका कम्पनीहरूले पनि चिप उत्पादन केन्द्र विस्तारमा ठूलो लगानी गरिरहेका छन् । चिपको माग बढेर आपूर्ति अभाव भएपछि सामसुङलगायतका कम्पनीले मूल्य बढाएका छन् । यसको असर स्मार्टफोन र कम्प्युटरजस्ता विद्युतीय सामग्रीको मूल्यमा समेत पर्न थालेको छ । सामसुङले अगस्टमा सार्वजनिक गरेका नयाँ तह खुल्ने मोबाइल उपकरणबाट समेत पछिल्लो त्रैमासिक आम्दानीमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Nepal life insurance

१५- परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्रमन्त्री पेनी वाङबीच मेलबर्नमा द्विपक्षीय वार्ता भएको छ । वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्धको समग्र अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ । दुवै पक्षले लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका छन् । अस्ट्रेलियाली परराष्ट्रमन्त्री वाङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियाको समर्थन निरन्तर रहने बताएकी छन् । उनले बाढी प्रभावित क्षेत्रमा राहत र प्रारम्भिक पुनःस्थापनाका लागि थप १ करोड ५० लाख अस्ट्रेलियाली डलर सहयोग घोषणा गरेकी छन् । यसअघि अस्ट्रेलियाले आपत्कालीन उद्धार तथा राहतका लागि १ करोड १० लाख अस्ट्रेलियाली डलर सहयोग घोषणा गरेको थियो । मन्त्री खनालले अस्ट्रेलिया सरकार र जनताप्रति सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन अस्ट्रेलियाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । वार्तामा शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षण संस्था स्थापना, नेपाली विद्यार्थीका लागि सहज विद्यार्थी प्रवेशाज्ञा व्यवस्था, व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन, श्रम आवागमन र नेपाल–अस्ट्रेलिया सिधा हवाई सम्पर्क विस्तारलगायत विषयमा पनि छलफल भएको छ । दुवै मन्त्रीले आगामी दिनमा उच्चस्तरीय भेटवार्ता निरन्तरता दिने र सहमत भएका विषयलाई व्यवहारमा कार्यान्वयन गर्दै दुई देशका जनतालाई लाभ पुग्ने गरी सहकार्य अघि बढाउने सहमति गरेका छन् ।

१६- भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । गोवास्थित आफ्नै घरमा बिहीबार बिहान ५ बजेर २० मिनेटमा उनलाई गम्भीर हृदयघात भएको थियो । गोवास्थित मणिपाल अस्पतालका डा. शेखर सालकरका अनुसार नाना पाटेकरलाई बचाउन करिब ४५ मिनेटसम्म निरन्तर हृदय पुनर्जीवन प्रक्रिया गरिए पनि सफल हुन सकेन । घटनाबारे कानुनी प्रक्रिया अघि बढाइएको र उनको शव परीक्षण गरिने जनाइएको छ । विश्वनाथ पाटेकरका रूपमा जन्मिएका नाना पाटेकरको जन्म सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगढ जिल्लामा भएको थियो । उनी अभिनेता मात्र नभई निर्माता, निर्देशक तथा लेखकसमेत थिए । उनले सन् १९७८ मा ‘गमन’ फिल्मबाट हिन्दी चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । ‘सलाम बम्बे!’ र ‘परिन्दा’ लगायतका चलचित्रबाट उनले अभिनयमा बलियो पहिचान बनाएका थिए । ‘परिन्दा’मा गरेको अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार र चलचित्रफेयर पुरस्कार पाएका थिए । ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित चलचित्र हुन् । सन् १९९४ मा प्रदर्शनमा आएको ‘क्रान्तिवीर’मा गरेको अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार पाएका थिए । उनले आफ्नो अभिनयबाट तीन राष्ट्रिय चलचित्र पुरस्कार, चार चलचित्रफेयर पुरस्कार र दुई चलचित्रफेयर मराठी पुरस्कार प्राप्त गरेका थिए । सन् २०१३ मा उनलाई पद्मश्रीबाट सम्मान गरिएको थियो । नाना पाटेकरले निर्देशनमा समेत काम गरेका थिए। उनले निर्देशन गरेको ‘प्रहार : द फाइनल अट्याक’ चर्चित चलचित्रमध्ये एक हो ।

१७- सन् २०२३ अक्टोबर ७ मा हमासका करिब ६ हजार लडाकुले इजरायलमा आक्रमण गर्दा करिब १ हजार २ सय मानिस मारिएका थिए भने २५० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो । त्यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो । आक्रमणको तीन वर्षपछि यसको प्रभाव युद्धमा मात्र सीमित छैन । यसले इजरायलको राजनीतिक बहस नै बदलिएको छ । अक्टोबर २७ मा हुने आमनिर्वाचनमा महँगी र आवासभन्दा सुरक्षा, हमास, सेना र प्यालेस्टाइन मुख्य मुद्दा बनेका छन् । यसको प्रभाव दक्षिणपन्थी राजनीतिमा देखिएको छ । तर प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भने चुनावमा चुनौती बढेको छ । पूर्वसेना प्रमुख गादी आइजेनकोटको दल केही सर्वेक्षणमा नेतन्याहुको लिकुड दलसँग बराबरी वा अगाडि देखिएको छ । हमासको आक्रमणका बेला प्रधानमन्त्री रहेका नेतन्याहुमाथि सुरक्षा कमजोरीको जिम्मेवारी लिन दबाबसमेत छ । अर्कोतर्फ, इजरायलको वामपन्थी राजनीति कमजोर बनेको छ । प्यालेस्टिनी राज्य र शान्तिको पक्षमा रहेका दलहरूले समेत अहिले राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने अवस्था आएको छ । सन् २०२१ मा सरकार गठनमा निर्णायक बनेका अरब दलहरूका लागि पनि राजनीतिक अवस्था कठिन बनेको छ । त्यतिबेला अरब दलको समर्थनमा नेतन्याहुलाई सत्ताबाट बाहिर राखेर सरकार बनेको थियो । तर अक्टोबर ७ पछि बदलिएको सुरक्षा केन्द्रित राजनीतिक वातावरणमा अरब दललाई सरकारमा सहभागी गराउनु दलहरूका लागि थप संवेदनशील बनेको छ । यसरी अक्टोबर ७ को आक्रमणले इजरायलको चुनावी बहस, दलहरूको शक्ति सन्तुलन र सरकार गठनको राजनीतिक समीकरणमा समेत ठूलो परिवर्तन ल्याएको विश्लेष्ण गरिएको छ ।

१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य रहेको दाबी फेरि दोहोर्‍याएका छन् । उनले आफूले आठ वटा युद्ध अन्त्य गराएको दाबी गर्दै आफूले आफ्नो प्रशंसा नगरेको, तथ्य मात्रै प्रस्तुत गरेको बताएका छन् । ह्वाइट हाउस फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘सायद कुनै पनि राष्ट्रपतिले यति धेरै युद्ध समाधान गरेका छैनन् ।’ उनले शान्तिका लागि आफ्नो प्रयास जारी रहेको र छिट्टै अर्को एउटा युद्ध पनि समाधान गर्न सक्ने बताएका छन् । ट्रम्पले लामो समयदेखि आफूले गरेको कूटनीतिक प्रयासका कारण नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गर्दै आएका छन् । यस वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा अक्टोबर ९ मा नर्वेजियन नोबेल समितिले गर्नेछ । यसअघि सन् २०२५ को जुनमा पनि ट्रम्पले आफूले नोबेल शान्ति पुरस्कार चार वा पाँच पटक पाइसक्नुपर्ने दाबी गरेका थिए । ट्रम्पको नोबेल शान्ति पुरस्कारसम्बन्धी दाबी उनको दोस्रो कार्यकाल सुरु हुनुअघिदेखिकै हो । पहिलो कार्यकालमा उनले उत्तर कोरियासँगको कूटनीतिक प्रयासलाई पटक–पटक आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए । सन् २०१८ मा नर्वेका दुई सांसदले उत्तर कोरियाली नेता किम जोङ उनसँग ट्रम्पको भेटपछि उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्ने बताएका थिए । त्यसको एक वर्षपछि ट्रम्पले जापानका तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरियासँगको तनाव कम गर्न आफूले गरेको प्रयासका लागि उनलाई पुरस्कारका लागि मनोनयन गरेको बताएका थिए । यद्यपि आबेले सार्वजनिक रूपमा उक्त मनोनयनको पुष्टि गरेका थिएनन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनका क्रममा पनि ट्रम्पले नोबेल शान्ति पुरस्कारका लागि आफ्नो दाबी दोहोर्‍याएका थिए । उनले पूर्वराष्ट्रपति बाराक ओबामासँग आफ्नो तुलना गर्दै आफूले पनि उक्त सम्मान पाउनुपर्ने बताएका थिए । ओबामाले सन् २००९ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । सन् २०२५ को फेब्रुअरीमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग ह्वाइट हाउसमा भएको भेटका क्रममा पनि ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य भए पनि पुरस्कार नपाउने बताएका थिए । सन् २०२६ को जनवरीमा ट्रम्पको नोबेल शान्ति पुरस्कारसम्बन्धी असन्तुष्टि नर्वेसँगको विवादसम्म पुगेको थियो । ग्रिनल्यान्डमाथि नियन्त्रणको प्रयासलाई लिएर विवाद भइरहेका बेला ट्रम्पले नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरलाई सन्देश पठाएका थिए । ट्रम्पले आफूले आठ वटा युद्ध रोकिसक्दा पनि नर्वेले आफूलाई नोबेल शान्ति पुरस्कार नदिएको भन्दै गुनासो गरेका थिए । त्यसपछि स्टोरले पुरस्कारबारे निर्णय नर्वे सरकारबाट नभई स्वतन्त्र नर्वेजियन नोबेल समितिले गर्ने बताएका थिए । ट्रम्पको नोबेल शान्ति पुरस्कारसम्बन्धी दाबी भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोसँग पनि जोडिएको छ । मचाडोलाई लोकतान्त्रिक अधिकारका लागि गरेको कामका लागि सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । पछि उनले ह्वाइट हाउसमा ट्रम्पसँग भेट गरेकी थिइन् र आफ्नो नोबेल पदक उनलाई दिएकी थिइन् । तर त्यसबाट नोबेल शान्ति पुरस्कार ट्रम्पलाई हस्तान्तरण भएको थिएन। पुरस्कार मचाडोकै नाममा कायम रहेको थियो । नोबेल समितिका अनुसार प्रदान गरिसकिएको पुरस्कार अर्को व्यक्तिलाई हस्तान्तरण, बाँडफाँट वा फिर्ता गर्न सकिँदैन ।

१९- नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । गए राति निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरेको हो । सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी भिड्ने भएका छन् । किशोरसिंह राठौरले भने उम्मेदवारी फिर्ता लिएका छन् ।  त्यस्तै वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला उपसभापतिमा पुष्पा भुसाल पनि निर्बिरोध निर्वाचित भएकी छन् । नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन अब शुक्रबार बिहान ७ बजेदेखि दिउसो ३ बजेसम्म राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुने भएको छ ।

२०- भारतले नेपालका लागि नयाँ राजदूतका रूपमा करियर कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता सकिएपछि भारतले दलेलालाई प्रस्ताव गरेको हो । दलेला भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका अधिकारी हुन् । भारतीय विदेश मन्त्रालयको विवरणअनुसार उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए । हाल उनी विदेश मन्त्रालयमा आर्थिक सम्बन्धसम्बन्धी सचिवका रूपमा कार्यरत रहेको विवरणमा उल्लेख  छ। दलेलाको नेपालसँग सम्बन्धित कामको अनुभवसमेत रहेको छ । काठमाडौंस्थित भारतीय दूतावासको पुरानो सार्वजनिक विवरणअनुसार उनी विदेश मन्त्रालयको उत्तर महाशाखाका सहसचिव हुँदा नेपालमा भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी संवादमा सहभागी भएका थिए । भुटानका लागि राजदूत तथा वासिङ्टनस्थित भारतीय दूतावासमा उपनियोग प्रमुखका रूपमा काम गरेको अनुभवले दलेलाको छिमेकी सम्बन्ध र अन्तर्राष्ट्रिय कूटनीतिमा अनुभव रहेको देखाउछ ।