
मुम्बई, २२ असोज । बलिउडका वरिष्ठ तथा दिग्गज अभिनेता नाना पाटेकरको निधनमा चर्चित अभिनेता शाहरूख खानले गहिरो दुःख व्यक्त गर्दै एक भावुक श्रद्धाञ्जली अर्पण गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो शोक सन्देश जारी गर्दै शाहरूखले नानासँगको पहिलो भेट, उनको मार्गदर्शन र बिताएका मीठा क्षणहरू स्मरण गरेका छन्।

नानासँगको पहिलो भेट सम्झिँदै शाहरूखले लेखेका छन्, “जब मैले उहाँलाई पहिलो पटक भेटेँ, कौतूहल र अप्ठ्यारोपनका कारण आफ्नै कपाल चलाइरहेको थिएँ। उहाँले मेरो हात झट्कार्दै भन्नुभयो— ‘हिरोजस्तो गरी कपाल नमिलाऊ… तिमी त कलाकार हौ !’ शाहरूखले नानाको त्यो भनाइ “हिरो बन्ने चक्करमा कलाकारलाई नगुमाउनू” भन्ने भनाइलाई आफूले जीवनभर मुटुमा सजाएर राखेकाे बताएका छन्।


नाना पाटेकरको व्यक्तित्वको चर्चा गर्दै शाहरूखले उनलाई एक निडर, स्पष्टवक्ता, इमानदार र मन्त्रमुग्ध पार्ने मुस्कान भएका व्यक्तिका रूपमा चित्रण गरेका छन्। “उहाँ कसैको चाकडी गर्नुहुन्नथ्यो। मानिसहरूलाई सुन्न मन लागेको कुरा होइन, बरु उनीहरूलाई सुन्न आवश्यक परेको सत्य कुरा भन्नुहुन्थ्यो,” शाहरूखले भनेका छन्।
उनको स्नेह प्रकट गर्ने शैली पनि अनौठो हुने गरेको स्मरण गर्दै उनले लेखेका छन्, “सुरुमा उहाँ कराउनुहुन्थ्यो, अनि तेस्रो-चौथो गाली नपुग्दै अँगालो हालिसक्नु भएको हुन्थ्यो। उहाँ मेरो मार्गदर्शक, शिक्षक, समीक्षक र साथी हुनुहुन्थ्यो।”


अभिनयका अलावा नाना क्यारम खेलका ठूला पारखी रहेको उल्लेख गर्दै शाहरूखले आफू र वरिपरिका सबैलाई क्यारममा लगातार हराएर जितको मज्जा लिने गरेको रोचक प्रसङ्ग पनि साटेका छन्। शाहरूखका अनुसार नाना केवल एक उत्कृष्ट कलाकार मात्र नभई अपराजित क्यारम च्याम्पियन पनि थिए।

“नाना, तपाईंको त्यो गहिरोपन, हाँसो र माया सधैं हामीसँगै रहनेछ। काश ! हामीसँग अझ धेरै कुराकानी गर्ने, बहस गर्ने, चिया पिउने र क्यारम खेल्ने समय भइदिएको भए,” शाहरूखले भावुक हुँदै लेखेका छन्, “तपाईंले चलचित्र जगत्मा मात्र होइन, विश्वभरका मानिसहरूको हृदयमा कहिल्यै नपुरिने खाली ठाउँ छोडेर जानुभएको छ। तपाईंलाई पाउनु स्वर्गका लागि पनि सौभाग्यको कुरा हुनेछ।”
सन्देशको अन्त्यमा शाहरूखले आफ्ना ‘हिरो-कलाकार’ नानाको आत्माको शान्तिको प्रार्थना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।




