विश्व इतिहासमा अक्टोबर १०ः विश्वकै पहिलाे महिला प्रधानमन्त्रीकाे निधन

काठमाडाैं, २४ असाेज । विश्व इतिहासमा अक्टोबर १० का दिन घटेका केही प्रमुख राजनीतिक, कूटनीतिक तथा ऐतिहासिक घटनाक्रमहरू धेरै रहेका छन, जसमध्ये विश्वकै पहिलो महिला प्रधानमन्त्री (श्रीलंकाकी पूर्वप्रधानमन्त्री) सिरिमावो भण्डारनायकेको सन् २००० अक्टोबर १० का दिन ८४ वर्षको उमेरमा निधन भएको थियो।

चीनमा साम्राज्यवादी शासनको अन्त्य र ‘वुचाङ क्रान्ति’ (सन् १९११): सन् १९११ अक्टोबर १० मा चीनमा ‘वुचाङ विद्रोह’ सुरु भएको थियो। यसै क्रान्तिको परिणामस्वरूप चीनमा दुई हजार वर्षभन्दा लामो समयदेखि चल्दै आएको राजतन्त्र (सिङ राजवंश) को अन्त्य भई गणतन्त्र स्थापना भएको थियो। त्यसैले यो दिनलाई ताइवान (रिपब्लिक अफ चाइना) मा ‘डबल टेन डे’ का रूपमा राष्ट्रिय दिवस मनाइन्छ।

कारबलाको युद्ध र हजरत हुसेनको शहादत (सन् ६८०): इराकको कारबला शहरमा सन् ६८० अक्टोबर १० (१० मुहर्रम) का दिन ऐतिहासिक कारबलाको युद्ध भएको थियो। पैगम्बर मोहम्मदका नाति हजरत इमम हुसेन र उमैयद खलिफा याजिदको सेनाबीच भएको यस युद्धमा इमम हुसेन र उनका परिवारका सदस्यहरू मारिएका थिए। मुस्लिम समुदाय (विशेष गरी शिया) मा यो दिनलाई ‘असुरा’ का रूपमा शोक र श्रद्धाञ्जलीसहित स्मरण गरिन्छ।

फिजी बेलायती शासनबाट स्वतन्त्र (सन् १९७०) : दक्षिण प्रशान्त महासागरीय टापु राष्ट्र फिजी सन् १८७४ देखि बेलायती उपनिवेशका रूपमा रहेकोमा सन् १९७० अक्टोबर १० का दिन औपचारिक रूपमा स्वतन्त्र भएको थियो। रातु सिर कामिसेस मारा स्वतन्त्र फिजीका पहिलो प्रधानमन्त्री बनेका थिए।

 

बाह्य अन्तरिक्ष सन्धि लागू (सन् १९६७):  संयुक्त राष्ट्रसंघको पहलमा तयार पारिएको ऐतिहासिक ‘अन्तरिक्ष सन्धि’ सन् १९६७ अक्टोबर १० देखि लागू भएको थियो। यस सन्धिले अन्तरिक्ष, चन्द्रमा तथा अन्य आकाशीय पिण्डहरू कुनै पनि एक देशको अधीनमा नरहने र तिनको प्रयोग शान्तिपूर्ण कार्यका लागि मात्र गरिने अन्तर्राष्ट्रिय नियम तय गरेको थियो।

क्युबाको स्वतन्त्रता संग्राम (‘दश वर्षे युद्ध’) को सुरुवात (सन् १८६८) :  क्युबामा स्पेनिस शासनविरुद्ध सन् १८६८ अक्टोबर १० का दिन राष्ट्रिय नायक कार्लोस मानुएल दे सेस्पेदेसले ‘ग्लोरियास दे यारा’ घोषणा गर्दै दश वर्षे युद्धको सुरुवात गरेका थिए। क्युबामा यस दिनलाई राष्ट्रिय स्वतन्त्रता संग्रामको सुरुवातका रूपमा मनाइन्छ।

 

अमेरिकी उपराष्ट्रपति स्पायरो एग्न्युको राजीनामा (सन् १९७३) :  अमेरिकी राजनीतिमा ठूलो हलचल ल्याउँदै सन् १९७३ अक्टोबर १० का दिन उपराष्ट्रपति स्पायरो एग्न्युले कर छल र भ्रष्टाचारको आरोप लागेपछि आफ्नो पदबाट राजीनामा दिएका थिए। उनी अमेरिकी इतिहासमा राजीनामा दिने दोस्रो उपराष्ट्रपति हुन्।

images

नेदरल्यान्ड्स एन्टिल्सको विघटन (सन् २०१०) :  कैरिबियन क्षेत्रमा रहेको नेदरल्यान्ड्स एन्टिल्स नामक देश सन् २०१० अक्टोबर १० का दिन औपचारिक रूपमा विघटित भई कुराकाओ र सेन्ट मार्टिन नेदरल्यान्ड्स राज्यभित्रै स्वायत्त देश बनेका थिए भने अन्य टापुहरू विशेष नगरपालिकाका रूपमा पुनर्गठित भएका थिए।

सिरिमावो भण्डारनायके (सन् २०००): विश्वकै पहिलो महिला प्रधानमन्त्री (श्रीलंकाकी पूर्वप्रधानमन्त्री) सिरिमावो भण्डारनायकेको सन् २००० अक्टोबर १० का दिन ८४ वर्षको उमेरमा निधन भएको थियो। सन् १९६० को जुलाई २१ मा सिलोन (जसलाई अहिले श्रीलंका भनेर चिनिन्छ) को नेतृत्व सम्हाल्दै पद तथा गोपनीयताको शपथ लिँदा उनी विश्व इतिहासकाे पहिलाे महिला प्रधानमन्त्री बनेर इतिहास रचेकी थिइन ।

images