
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौदी क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको पृथ्वी राजमार्ग आजराति ९ बजेदेखि एकतर्फी र भोलि बिहानदेखि दुईतर्फी खुलाइने भएको छ ।
सडक विभागका अनुसार अवरुद्ध सडक खुलाउन भित्तापट्टिको भाग काटेर सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको र आज राति ९ बजेदेखि एकतर्फी सवारी आवागमन सञ्चालन गर्ने लक्ष्य राखेको छ। त्यस्तै, भोलि बिहान ७ बजेदेखि दुईतर्फी सञ्चालनका लागि सडक विस्तारको काम सुरु गरिने बताएको छ ।


मौसम तथा अन्य परिस्थिति अनुकूल रहेमा भोलि साँझ ६ बजेसम्म सडक विस्तार सम्पन्न गरी दुईतर्फी सवारी सञ्चालन गर्ने विभागको योजना छ ।

विभागले सडक पुनः सञ्चालन नभएसम्म अनावश्यक यात्रा नगर्न र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा ट्राफिक निर्देशन पालना गर्न यात्रु र सवारी चालकलाई आग्रह गरेको छ ।





