
काठमाडौँ । अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड सहरको सिल्भर रेल प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिका र एक शिक्षकसहित पाँच जनाको मृत्यु भएको छ ।
घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्तिलाई पनि गोली लागेको अवस्थामा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।


रिपोर्ट अनुसार स्थानीय समयअनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको थियो। मृतकमध्ये पाँच, आठ र ११ वर्षका तीन बालबालिका तथा एक शिक्षक रहेका छन् । प्रहरी अधिकारीहरू विद्यालयभित्र प्रवेश गर्दा गोली चलाउने आशङ्का गरिएका व्यक्ति मृत अवस्थामा भेटिएको बताएका छन् । आक्रमणकारीले विद्यालयका बन्द ढोकामा गोली चलाएर जबर्जस्ती भवनभित्र प्रवेश गरेको बताइएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजसहित केही सञ्चारमाध्यमले गोली चलाउने आशङ्का गरिएका व्यक्ति १६ वर्षीय किशोर भएको जनाएका छन्। तर प्रहरीले उनको पहिचान औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
प्रहरीले आक्रमणकारी सोही विद्यालयका विद्यार्थी थिए वा थिएनन् भन्नेबारे पनि जानकारी दिएको छैन । मृतक तथा घटनामा संलग्न व्यक्तिको पहिचान र घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।





