
-अर्घाखाँची डटकम।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ स्थित ऐतिहासिक तथा पर्यटकीय क्षेत्र अर्घाको मसुरेपाटामा पर्यटन प्रवर्द्धन केन्द्रित मेला–२०८३ शुक्रबारदेखि सुरु भएको छ। कार्तिक ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मेलामा चर्चित राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुतिसहित विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ।

अर्घाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने उद्देश्यले आयोजना गरिएको मेलाले स्थानीय पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।


मेलाको उद्घाटन तथा शुभारम्भका अवसरमा वक्ताहरूले अर्घाको पर्यटन सम्भावना, धार्मिक सम्पदाको संरक्षण र विकासमा राज्यको लगानीको महत्त्वबारे धारणा राखेका छन्।
सन्धिखर्क नगरपालिका–९ का अध्यक्ष पदमबहादुर भुसालले अर्घामा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताए।


अर्घा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले धार्मिक तथा पर्यटकीय क्षेत्रमा राज्यले गरेको लगानी कुनै पनि ठाउँमा खेर नगएको धारणा राखे। धार्मिक सम्पदाको संरक्षण र पर्यटकीय पूर्वाधार विकासले स्थानीय क्षेत्रको पहिचान र सम्भावनालाई थप उजागर गर्ने उनको भनाइ थियो।


सन्धिखर्क नगरपालिकाका संस्थापक नगरप्रमुख कमलप्रसाद भुसालले अर्घाको विकासका लागि विगतमा विभिन्न रकम विनियोजन भएको उल्लेख गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धनमा निरन्तर पहल आवश्यक रहेको बताए।
त्यस्तै, सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले अर्घाको मसुरेपाटालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। पर्यटन प्रवर्द्धनसँग जोडिएका गतिविधिले यस क्षेत्रको पहिचान विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो।


कार्तिक १२ गतेसम्म सञ्चालन हुने मेलामा सांगीतिक प्रस्तुतिसँगै विभिन्न व्यवसाय तथा मनोरञ्जनात्मक गतिविधि रहनेछन्। मेलामा सहभागी भई अर्घाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय आकर्षणको अनुभव लिन आयोजकले सबैलाई आग्रह गरेको छ।

तस्बिर/भिडियो : अनिल नेपाली, अर्घाखाँची डटकम








#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD




