
रुसी सेनाको नियन्त्रणमा रहेको दक्षिणी युक्रेनी शहर ओलेस्कीमा मानवीय सहायता सामग्री पु¥याउन र सर्वसाधारणको उद्धार गर्न रुस तथा युक्रेन अस्थायी युद्धविरामका लागि सहमत भएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार यो युद्धविराम आगामी अक्टोबर २९ तारिखदेखि लागू हुनेछ ।
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार दुवै मुलुक ओलेस्की क्षेत्रमा सबै प्रकारका सैन्य कारबाहीहरू अस्थायी रूपमा रोक्न सहमत भएका हुन् ।

यस सहमतिले तोकिएको सुरक्षित मार्गमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न र अत्यावश्यक मानवीय सहायता भित्र्याउन मार्गप्रशस्त गर्नेछ । ह्वाइट हाउसले जनाए अनुसार प्रथम महिला मेलानिया ट्रम्पले नै यो कुटनीतिक संवादको थालनी गरी रुसी तथा युक्रेनी नेतृत्वसँग प्रत्यक्ष समन्वय गरेकी थिइन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस पहलको प्रशंसा गर्दै दुवै पक्षले मेलानियासँग सकारात्मक सहकार्य गरेको बतउनु भयो । उहाँले दुवै देश मानवीय संकट समाधानका लागि युद्धविराम गर्न तयार देखिएको उल्लेख गर्नुभयो ।


युद्धको अग्रमोर्चामा रहेको ओलेस्की शहरको अवस्था निकै दयनीय बनेको प्रथम महिलाको विज्ञप्तिमा औंल्याइएको छ । भीषण युद्धका कारण मानवीय विपत्तिको सन्निकट पुगेको उक्त सहरमा हाल मुख्यतया वृद्धवृद्धाहरू मात्र बाँकी रहेका छन् । उनीहरूलाई तत्काल उपचार, औषधि, खाद्यान्न तथा स्वच्छ पिउने पानीको चरम अभाव भएको बताइएको छ । सहमति बमोजिम दुवै मुलुकका गैरसैनिक तथा नागरिक प्रतिनिधिहरूले संयुक्तरूपमा ओलेस्कीका बासिन्दाहरूको घरदैलोमै पुगेर वास्तविक आवश्यकताको पहिचान गर्नेछन् ।

त्यस्तै, स्वेच्छाले सहर छाड्न चाहने नागरिकहरूलाई उनीहरूले रोजेको सुरक्षित गन्तव्यसम्म पुग्नका लागि व्यवस्थित यातायात तथा आवश्यक समन्वय प्रदान गरिनेछ । युक्रेनको नियन्त्रणमा रहेको खेअर्सन सहरसँगै डिनिप्रो नदीको पारिपट्टि अवस्थित ओलेस्की सहर फेब्रुअरी २०२२ मा युद्ध शुरु भएदेखि नै रुसी कब्जामा रहँदै आएको छ। लामो समयदेखिको द्वन्द्वका कारण यहाँ खाद्यान्न र आधारभूत आपूर्तिका सामग्रीहरूको चरम संकट उत्पन्न भएको छ। पछिल्लो समय अमेरिकाले जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तिब्र बनाएको छ । यसै क्रममा सेन्ट पिटर्सबर्गमा अमेरिकी विशेष दूत स्टिभ विट्कोफसँगको वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी नोभेम्बरमा युक्रेनसँगको त्रिपक्षीय वार्ता पुनः शुरु गर्न सैद्धान्तिक सहमति जनाइसकेका छन् ।




