
काठमाडौं । नेपाल र भारतबीच सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा प्रविधिमैत्री सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा सहमति भएको छ ।
काठमाडौंमा सम्पन्न नेपाल–भारत १०औँ समन्वय बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सूचना आदानप्रदान र संयुक्त निगरानी बढाउने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलको नेतृत्वमा भएको बैठकमा अघिल्लो नवौँ बैठकका निर्णय कार्यान्वयनको समीक्षा गरिएको थियो। बैठकमा दुवै देशका सुरक्षा निकायका साथै गृह तथा परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नापी विभाग र भारतीय दूतावासका प्रतिनिधिहरू सहभागी थिए।


बैठकले मानव बेचबिखन, लागुऔषध तस्करी, नक्कली नोटको कारोबार, सीमापार आपराधिक सञ्जाल तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत प्रवेश नियन्त्रण गर्न तत्काल सूचना आदानप्रदान गर्ने सहमति गरेको छ। खुला सीमाको दुरुपयोग रोक्न सीमा नाकामा कागजात जाँच कडा बनाउने, शंकास्पद व्यक्तिबारे सूचना साझा गर्ने र दशगजा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै, दशगजा क्षेत्रमा हुने अतिक्रमण, अनधिकृत खेतीपाती र अवैध संरचना हटाउन संयुक्त प्रयास जारी राखिने भएको छ। सीमा स्तम्भको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि पनि दुवै देशका सम्बन्धित निकायबीच समन्वय बढाइनेछ ।

सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउन दशगजा क्षेत्रमा निगरानी क्यामेरा जडान, प्रमुख नाकामा सामान जाँच गर्ने यन्त्र तथा धातु पहिचान गर्ने उपकरण राख्ने र दुवै देशले आफ्ना क्षेत्रमा मानवरहित विमानको प्रयोग बढाउने विषयमा छलफल भएको छ । सुरक्षा चुनौती सामना गर्न आधुनिक प्रविधि र विशेष तालिममा समेत सहकार्य विस्तार गरिने सहमति भएको छ ।
यसैगरी, बाढी, पहिरो र भूकम्पजस्ता विपद्को समयमा संयुक्त उद्धार क्षमता बढाउन चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त जल उद्धार अभ्यास सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सीमा नाकामा वैधानिक यात्रुको सहजताका लागि सहायता कक्ष विस्तार गर्ने तथा खेलकुद र सांस्कृतिक कार्यक्रममार्फत आपसी सम्बन्ध बलियो बनाउने सहमति पनि भएको छ ।

सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा आयोजना हुँदै आएको दुई देशका सुरक्षा निकायबीचको समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना हुने भएको छ ।




