निजी विद्यालय सञ्चालकहरूको संगठन एन-प्याब्सन निलम्बित

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) को संगठन निलम्बन गरेको छ ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको उक्त संगठनले मन्त्रालयको निर्देशन पालना नगरेको भन्दै निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एनप्याब्सनले ऐनको दफा ५ बमोजिम जारी निर्देशन पटकपटक पालना नगरेको तथा संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएको छ ।

यस विषयमा मन्त्रालयले सम्बन्धित पदाधिकारीलाई २०८२ कात्तिक १२ गते जारी निर्देशनअनुसार काम गर्न अवसर दिएको थियो। तर निर्देशन पालना नगरेको भन्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन उल्लङ्घन गरेको ठहर गरिएको सूचनामा जनाइएको छ । सोही ऐनको दफा ६ को उपदफा २ अनुसार संगठनलाई गृह मन्त्रालयले निलम्बन गरेको जनाएको छ ।

मन्त्रालयले सूचना जारी भएपछि संगठनको नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।