
काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र भारतीय अभिनेत्री सवाना आजमी तथा जापानी चलचित्र निर्देशक ताकायुकी नाकामुराबीच भेटवार्ता भएको छ ।
काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा काठमाडौँ फिल्म महोत्सवमा सहभागी हुन आएका उनीहरूसँग महोत्सवको उद्देश्य र निरन्तरताबारे छलफल भएको हो।

भेटमा कार्यवाहक प्रमुख डंगोलले काठमाडौँको प्राचीन कथा भन्ने परम्परालाई युवा पुस्ता, चलचित्र र प्रविधिसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन्। आधुनिकतासँगै हराउँदै गएका कथा भन्ने संस्कारलाई चलचित्रमार्फत पुनर्जीवित गर्ने प्रयास भएको उनको भनाइ थियो ।


अभिनेत्री आजमीले टोलटोलमा चलचित्र महोत्सव आयोजना गर्दा स्थानीय दर्शकमा चलचित्रप्रति रुचि बढेको बताउँदै समुदायका कथा पहिचान गर्ने र सुनाउने सीप विकास गर्नुपर्ने धारणा राखिन्। निर्देशक नाकामुराले पनि काठमाडौँले चलचित्र महोत्सव आयोजना गरेर महत्वपूर्ण पहल गरेको बताए ।
आजदेखि सुरु भएको महोत्सव पर्सिसम्म विभिन्न कार्यक्रमसहित सञ्चालन हुनेछ । भेटमा महानगरपालिकाका अधिकारी तथा महोत्सवका निर्देशक र संयोजकहरू सहभागी थिए ।





