
काठमाडौं । विश्वकै प्रमुख क्रिप्टोकरेन्सी कारोबार कम्पनीमध्ये एक बाइनान्सबाट ६ अर्ब ३६ करोड डलर चोरी भएको घटनामा अमेरिकी सुरक्षा निकायले अनुसन्धान तीव्र बनाएको छ । अमेरिकी गुप्तचर सेवा (सिक्रेट सर्भिस) ले चोरी भएको रकम पहिचान, रोक्का र फिर्ता ल्याउन निजी क्षेत्रका साझेदारसँग चौबीसै घण्टा काम गरिरहेको जनाएको छ ।
बाइनान्सले प्रारम्भिक अनुसन्धानका क्रममा सुरक्षा प्रणालीमा भएको कमजोरीका कारण आक्रमण भएको हुन सक्ने जनाएको छ । कम्पनीका अनुसार एक जना प्रणाली व्यवस्थापन इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच बनाएर ह्याकरहरूले कारोबार स्वीकृत गर्ने प्रणालीसम्म पहुँच पुर्याएको हुन सक्ने देखिएको छ ।


अनुसन्धानकर्ताका अनुसार स्थानीय समय अनुसार बिहीबार राति २०: ०५ बजेबाट सुरु भएको चोरीमा करिब २० मिनेटभित्र बाइनान्सको खाताबाट अधिकांश रकम बाहिरिएको थियो । रकम चोरी हुनुभन्दा ३६ घण्टाअघि नै ह्याकरले कारोबारका लागि प्रयोग हुने एउटा खाता सक्रिय गराएको बताइएको छ । अनुसन्धानकर्ताहरूले यति तीव्र गतिमा रकम स्थानान्तरण हुनु लामो समयदेखिको तयारीको परिणाम हुन सक्ने बताएका छन् ।

अमेरिकी सुरक्षा निकायले चोरीमा संलग्न साइबर अपराधीको पहिचान गरी कारबाही गर्न सरकारी वकिलको कार्यालय र अन्य सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले आक्रमणकारीको पहिचान भने पुष्टि भएको छैन । तर ब्लकचेन अनुसन्धान संस्था टीआरएम ल्याब्स र चेनालाइसिसले उत्तर कोरियाली ह्याकर समूह ‘ट्रेडर ट्रेटर’ अर्थात् ‘लाजरस’ को संलग्नता रहेको उच्च विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाले भने यस्ता आरोप अस्वीकार गर्दै आएको छ ।
यसअघि सन् २०२५ मा बाइबिटबाट १ अर्ब ५० करोड डलर, सन् २०२१ मा पोली नेटवर्कबाट ६० करोड डलर र सन् २०२२ मा रोनिनबाट ५४ करोड डलर चोरी भएको थियो । पछिल्लो समय ठूला क्रिप्टोकरेन्सी कम्पनीसँगै व्यक्तिगत लगानीकर्ता पनि निशानामा पर्न थालेका छन् । डिजिटल माध्यमबाट रकम चोरी गर्ने र व्यक्तिलाई धम्क्याएर गोप्य विद्युतीय साँचो लिन बाध्य पार्ने घटना बढ्दै गएको भन्दै यस क्षेत्रको सुरक्षामाथि चिन्ता व्यक्त गरिएको छ ।





