कोप–३१ मा हिमाली क्षेत्रको तापक्रम वृद्धिलाई छुट्टै एजेन्डा बनाउन नेपाल र भुटानको प्रस्ताव

काठमाडौं । नेपाल र भुटानले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रको तापक्रम वृद्धिसम्बन्धी विषयलाई छुट्टै एजेन्डाका रूपमा समावेश गर्न संयुक्त प्रस्ताव अघि सारेका छन् ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुवै देशका तर्फबाट ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको प्रस्ताव पेस गरेकी हुन्। प्रस्तावमा बढ्दो तापक्रमका कारण हिमनदी पग्लिने, पानीको असुरक्षा बढ्ने तथा चरम मौसमी घटनाबाट हिमाली समुदाय र पारिस्थितिक प्रणालीमा गम्भीर क्षति पुग्ने जोखिम औँल्याइएको छ ।

नेपाल र भुटानले हिमाली क्षेत्रमा तापक्रम वृद्धिको वैज्ञानिक अध्ययनलाई प्राथमिकता दिन, हिमाल र जलवायु परिवर्तनसम्बन्धी वार्षिक उच्चस्तरीय संवाद आयोजना गर्न तथा हिमाली पारिस्थितिक प्रणालीसम्बन्धी कार्ययोजना निर्माण गर्न प्रस्ताव गरेका छन् । जलवायु अनुकूलन, वित्तीय सहयोग र क्षति तथा नोक्सानीसम्बन्धी निर्णयमा हिमाली क्षेत्रका प्राथमिकता समावेश गर्न पनि माग गरिएको छ ।

प्रस्तावमा सन् २०२६ को भोटेकोशी बाढीबाट करिब दुई अर्ब ७० करोड अमेरिकी डलर बराबरको क्षति भएको र पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान उल्लेख छ ।

मन्त्री चौधरीले हिमाली क्षेत्रमा उत्पन्न हुने जलवायु जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने बताएकी छन् । हिमाली क्षेत्रबाट बग्ने नदीमा निर्भर दुई अर्बभन्दा बढी मानिसको भविष्यसँग यो विषय जोडिएकाले अन्तर्राष्ट्रिय स्तरमा ठोस निर्णय आवश्यक रहेको उनको भनाइ छ ।