
काठमाडाैं, १६ कार्तिक । राधाष्टमी व्रत सनातन हिन्दू धर्ममा अत्यन्त महत्त्वपूर्ण र पवित्र मानिने पर्व हो। भगवान् श्रीकृष्णकी शक्ति तथा ह्लादिनी शक्तिस्वरूपा श्रीराधारानीको जन्मोत्सवको रूपमा यो व्रत मनाइन्छ।
पञ्चाङ्ग अनुसार भाद्र शुक्ल पक्षको अष्टमी तिथिका दिन राधाष्टमी व्रत मनाइन्छ। यद्यपि केही स्थान वा परम्परा विशेषमा कार्तिक कृष्ण अष्टमीमा पनि यसको स्मरण तथा पूजा गर्ने चलन पाइन्छ।

पौराणिक ग्रन्थहरू (विशेष गरी पद्म पुराण र ब्रह्मवैवर्त्त पुराण) मा राधारानीको प्राकट्यका बारेमा कथा वर्णन गरिएको छ। स्कन्द पुराण तथा ब्रह्मवैवर्त्त पुराणका अनुसार राधारानी माता लक्ष्मीकै अंशावतार हुनुहुन्छ। वृषभानुकुलमा उनको प्राकट्य (आविर्भाव) भएको थियो। किंवदन्ती अनुसार, जब वृषभानु राजा यज्ञका लागि जमिन जोत्दै थिए, तब सुनको पेटिकाभित्र एक दिव्य कन्या फेला पारे । निःसन्तान राजा वृषभानुले त्यस कन्यालाई आफ्नी धर्मपत्नी कीर्तिदाको जिम्मा लगाए र उनै कन्यालाई ‘राधा’ नामकरण गरियो। अर्को पौराणिक मान्यता अनुसार, भगवान् श्रीकृष्ण धर्तीमा अवतरण गर्दा उनीसँगै राधारानीले पनि गोलोकबाट यो धर्तीमा अवतार लिएकी थिइन ।


धार्मिक मान्यता छ कि भगवान् श्रीकृष्णलाई केवल पूजा गरेर मात्र पूर्ण रूपमा प्रसन्न पार्न सकिँदैन, जबसम्म भक्तले राधारानीको कृपा प्राप्त गर्दैन। भनिन्छ, “कृष्णलाई पाउनु छ भने राधाको शरणमा पर्नुपर्छ।” राधाजी भगवान् श्रीकृष्णको भक्ति र प्रेमकी पराकाष्ठा हुन् । राधाष्टमीको व्रत बस्नाले र राधारानीको श्रद्धापूर्वक पूजा गर्नाले जीवनका सम्पूर्ण पापहरू नाश हुन्छन्। यस व्रतको प्रभावले घरमा सुख, शान्ति, समृद्धि र आरोग्यता प्राप्त हुने धार्मिक विश्वास छ।
राधा-कृष्णको प्रेम कुनै लौकिक वा सांसारिक प्रेम नभई जीव र परमात्माबीचको अटूट सम्बन्ध (जीवात्मा र परमात्माको मिलन) को प्रतीक हो। यस व्रतले मानिसलाई निस्स्वार्थ प्रेम, भक्ति र समर्पणको शिक्षा दिन्छ। विशेष गरी महिलाहरू आफ्नो परिवारको कल्याण, दीर्घायु तथा सुखद दाम्पत्य जीवनको कामना गर्दै यो व्रत बस्ने गर्दछन्। विवाहित महिलाहरूले यो व्रत निष्ठापूर्वक पालना गर्नाले सौभाग्य प्राप्त हुने जनविश्वास छ।

यस दिन बिहान उठी स्नान गरी पवित्र भई व्रतको संकल्प गरिन्छ। पूजाकक्षमा राधारानी र श्रीकृष्णको मूर्ति वा तस्बिरलाई स्थापित गरी षोडशोपचारले पूजा गरिन्छ। यस दिन विशेषगरी राधा-कृष्णको संयुक्त रूपको आराधना गरिन्छ। धेरै भक्तजनहरूले यस दिन कठोर उपवास (निराहार वा फलाहार) बसी भजन-कीर्तन र रात्रि जागरण गर्दछन्।
शास्त्रहरूमा उल्लेख भए अनुसार राधाष्टमीको व्रत अश्वमेध यज्ञ जत्तिकै फलदायी हुन्छ। जसले यो व्रत विधिपूर्वक पालना गर्दछ, उसले मृत्युपश्चात श्रीधाम वृन्दावन वा गोलोक प्राप्त गर्छ भन्ने धार्मिक मान्यता रहेको छ। आजको दिन राधा मन्दिरहरूमा विशेष उत्सव, झाँकी र भजन-कीर्तन आयोजना गरिन्छ।





