तत्काल संसद् बैठक बोलाउन विपक्षी दलहरूको माग

काठमाडौं । विपक्षी दलहरूको बैठकले तत्काल संघीय संसद्को बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले बिचौलिया प्रकरण, न्यायालय र प्रहरीमाथि उठेका प्रश्न तथा पत्रकारमाथि भएको धरपकडलगायत विषयमा छलफल गरेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक भएका पछिल्ला विषयको समाधान संसद्बाटै खोज्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेकाले पनि संसद् बैठक अपरिहार्य भएको विपक्षी दलहरूको ठहर छ ।

बैठकपछि बोल्दै राप्रपा सांसद खुस्बु ओलीले न्यायाधीशहरुलाई महाअभियोग लगाएर मात्र न्याय क्षेत्रका विकृति नसकिने बताउदै न्यायक्षेत्रको व्यापक पुनर्संरचना हुनुपर्ने धारणा आफुहरुको रहेको बताएकी छन् ।

बैठकले संवेदनशील विषयमा साझा धारणा बनाउन विपक्षी दलका नेताहरूबीच निरन्तर छलफल गर्ने र जनताको हितमा सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।