आत्मपरिवर्तन नै राष्ट्र निर्माणको आधारशिला : जेपी नड्डा

गायत्री मन्त्र नैतिक पतनविरुद्ध सुरक्षा कवच, आन्तरिक परिष्कारबाट युग परिवर्तन सम्भव : डा. चिन्मय पण्ड्या

१६ कात्तिक। भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा अखिल विश्व गायत्री परिवारद्वारा आयोजित वन्दनीय माता भगवती देवी शर्मा जन्मशताब्दी तथा अखण्ड दीप शताब्दी महोत्सवको तेस्रो दिन आध्यात्मिक चेतना, सांस्कृतिक प्रस्तुति र राष्ट्र निर्माणको संकल्पसहित भव्य रूपमा सम्पन्न भएको छ।

महोत्सवको शुभारम्भ देव संस्कृति विश्वविद्यालयका छात्राहरूले प्रस्तुत गरेको आकर्षक सामूहिक नृत्यबाट गरिएको थियो। ‘अब नवयुगकी गंगोत्री से बही ज्ञान की धारा है’ र ‘लागी रे लगन ओ माँ की’ लगायतका भक्ति गीतमा प्रस्तुत नृत्यले कार्यक्रममा उपस्थित दर्शकहरूको मन जितेको थियो। नृत्यमार्फत गुरुदेव पण्डित श्रीराम शर्मा आचार्य र माताजीका आदर्श, त्याग तथा युग निर्माणको सन्देश प्रस्तुत गरिएको थियो।

कार्यक्रमको दोस्रो सत्रलाई सम्बोधन गर्दै भारतका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जगत प्रकाश नड्डाले आत्मपरिवर्तनलाई राष्ट्र निर्माणको आधारशिला बताएका छन्।