
-अनिल नेपाली, अर्घाखाँची डटकम
नेपालगन्ज। सामाजिक, आर्थिक, सांस्कृतिक तथा मानसिक रूपमा दलित समुदायमाथि वर्षौंदेखि हुँदै आएको जातीय तथा वर्गीय विभेद र असमानता अन्त्यका लागि पत्रकारहरूको कलमको भूमिका महत्वपूर्ण हुने दलित अगुवाहरूले बताएका छन्।


राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश कार्यसमितिले नेपालगन्जमा आयोजना गरेको विजया दशमी, तिहार, छठ तथा नेपाल संवत् २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी दलित अगुवा तथा राजनीतिकर्मीहरूले विभेद नियन्त्रण र समानता स्थापनाका लागि पत्रकारिताले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन्।


कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपालीले जातीय विभेद अन्त्यका लागि पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय वडा, पालिका, प्रदेश तथा संघीय सरकारसम्म कानुन, नीति र बजेट निर्माणमा समावेशी तथा समानुपातिक पहुँच सुनिश्चित गर्न सञ्चारमाध्यमले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो।


कार्यक्रमका विशिष्ट अतिथि भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. नवीन दर्नालले पत्रकारहरूको सकारात्मक भूमिका र निष्पक्ष लेखाइले समुदायस्तरदेखि राज्यका निकायसम्म परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।

राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लक्ष्मण दर्नालले दलित पत्रकारहरूको शैक्षिक, आर्थिक, प्राविधिक तथा पेशागत स्तर वृद्धि गर्न सरोकारवाला निकायले आवश्यक भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा बाँके जिल्लाका पत्रकारका पेशागत संघसंस्थाका प्रतिनिधि, दलित अधिकारकर्मी, राजनीतिक दलका अगुवा तथा नेताहरूको सहभागिता रहेको थियो।
प्रदेश सचिव अनिल नेपालीले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले गर्नुभएको थियो।


राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेश कार्यसमितिले पत्रकार, सञ्चारकर्मी, राजनीतिक दल, जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि तथा उद्योगी–व्यवसायीको सहभागितामा चाडपर्व तथा नेपाल संवत् २०८३ को अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो।
तस्बिर : अनिल नेपाली, अर्घाखाँची डटकम










