लण्डन ओलम्पिक: ग्रेट ब्रिटेनसँगै अमेरीका र उत्तर कोरीयाको महिला फुटबलतर्फ विजयी सुरुवात

लण्डन ओलम्पिकको आयोजक ग्रेट ब्रिटेनसँगै अमेरीका र उत्तर कोरीयाले महिला फुटबलतर्फ विजयी सुरुवात गरेका छन् ।लण्डन ओलम्पिकको औपचारीक उद्घाटन हुनुभन्दा दुई दिन अगाडी भएको महिला फुटबलतर्फको पहिलो खेलमा आयोजक ग्रेट ब्रिटेनले न्युजिल्याण्डलाई १-० ले हरायो । महिला फुटबल अन्तर्गतकै अर्को खेलमा अमेरीकाले फ्रान्सलाई ४-२ ले हरायो । कुनै समय दुई गोलले पछि परेको अमेरीकाले खेलमा उत्कृष्ट पुनरागमन गर्दै ४-२ को जीत हात पार्न सफल भएको हो ।

यसैगरी उत्तर कोरीयाले कोलम्बियालाई २-० ले हरायो । ग्लासगोको ह्याम्पडेन पार्कमा भएको यो खेलपुर्व आयोजकहरुले गल्ती गरेपछि खेल एक घण्टा ढिला भएको थियो । खेलपुर्व रंगशालामा राखिएको स्क्रिनमा उत्तर कोरीयाली खेलाडीहरुको परिचय गराँउदा उनीहरुको फोटोसँगै गल्तीले दक्षिण कोरीयाको झण्डा देखाईएको थियो । यसपछि उत्तर कोरीयाली टोलीले मैदान छाडेको थियो । पछि आयोजकहरुले गल्ती स्विकार्दै उत्तर कोरीयाकै झण्डा राखेर फेरी खेलाडीहरुको परिचय गराएपछि खेल एक घण्टा ढिलो सुरु भएको हो । यो गल्तीबारे लण्डन ओलम्पिकका आयोजकहरुले छानविन सुरु गरिसकेको बताएका छन् ।

ओलम्पिक अन्तर्गत महिला फुटबलकै अन्य खेलमा जापानले क्यानाडालाई २-१ ले हरायोभने ब्राजीलले क्यामरुनलाई ५-० ले तथा स्विडेनले दक्षिण अफ्रिकालाई ४-१ ले हराए । ओलम्पिक अन्तर्गत आज पुरुष फुटबलमा पहिलो चरणका खेलहरु हुनेछन् । आज हुने खेलमा स्पेन र जापान तथा मोरक्को र होण्डुरस भिडनेछन् । आजै मेक्सिको र दक्षिण कोरीया तथा गाबोन र स्विजरल्याण्ड भिड्नेछन्भने युएई र युरुग्वे तथा आयोजक ग्रेट ब्रिटेन र सेनेगल प्रतिस्पर्धा गर्नेछन् । यसैगरी ईजिप्ट र ब्राजील तथा बेलारुस र न्युजिल्याण्ड पनि आजै आमने सामने हुनेछन् ।