ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयास गर्दै उपराष्ट्रपति भान्स

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयको मुख्य कारण इरान युद्ध भएको बताएका छन् । उनको टिप्पणीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिबाट आफूलाई अलग देखाउने प्रयासका रूपमा हेरिएको छ ।

भान्सले सामाजिक सञ्जाल एक्समा करिब ६०० शब्दको धारणा सार्वजनिक गर्दै ट्रम्पलाई मतदान गरेका मतदातासमेत रिपब्लिकनबाट टाढिएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘हामीले हार्नुको कारण युद्ध हो । राष्ट्रपतिले पनि हिजो राति यही कुरा स्वीकार गरेका छन् ।’

ट्रम्पले पनि निर्वाचनमा इरान युद्धले प्रभाव पारेको स्वीकार गरेका छन् । तर उनले इरानलाई आणविक हतियार बनाउनबाट रोक्न युद्ध आवश्यक रहेको जिकिर गर्दै त्यस्तै अवस्था आए फेरि पनि युद्धको निर्णय लिने बताएका छन् । भान्सले भने युद्ध अन्त्य, महँगी नियन्त्रण, ‘अमेरिका पहिलो’ नीतिमा जोड र इजरायलसँगको सम्बन्धमा पुनर्विचार गर्नुपर्ने चारबुँदे रणनीति अघि सारेका छन् ।

भान्सको टिप्पणीलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने सम्भावनासँग जोडेर हेरिएको छ । यद्यपि उनले उम्मेदवारीबारे औपचारिक निर्णय गरिसकेका छैनन् । ट्रम्पले पनि आफ्नो उत्तराधिकारीका रूपमा कसलाई समर्थन गर्ने भन्ने स्पष्ट पारेका छैनन् ।