अर्घाखाँची: नुवाकोटको लातेबाझ घटनाबारे सांसद भुसाल र वडाध्यक्ष श्रेष्ठ सामाजिक सञ्जालमा आमनेसामने, आरोप–प्रत्यारोपसँगै निष्पक्ष अनुसन्धानको माग

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८ नुवाकोट लातेबाझमा भएको कुटपिट घटनालाई लिएर अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसाल र भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ सामाजिक सञ्जालमा आमनेसामने भएका छन्।

घटनाबारे वडाध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सांसद भुसालको भूमिकामाथि प्रश्न उठाउँदै राजनीतिक दबाब, प्रहरी अनुसन्धानमा प्रभाव पार्ने प्रयास र आफूलाई राजनीतिक रूपमा फसाउन खोजिएको आरोप लगाएका छन्।

उनले घटनामा दुवै पक्षबीच उपचार खर्च व्यहोर्ने सहमति भइसकेको अवस्थामा पनि राजनीतिक रूपमा विषयलाई उचालिएको दाबी गरेका छन्।

यता सांसद भुसालले पनि सामाजिक सञ्जालमार्फत वडाध्यक्ष श्रेष्ठलाई सम्बोधन गर्दै घटनालाई गम्भीर रूपमा लिएको बताएका छन्। उनले प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिँदैमा कोही दोषी प्रमाणित नहुने उल्लेख गर्दै दोषी भए कानुनअनुसार कारबाही र निर्दोष भए न्याय पाउनुपर्ने धारणा राखेका छन्।

घटनाबारे दुवै पक्षले सामाजिक सञ्जालमा राखेका विचार र भनाइ निम्नानुसार छन्।

सामाजिक सञ्जालमा वडाध्यक्ष राजकुमार श्रेष्ठको भनाइ: 

-मजदुर र गाउँलेबीचको प्रकरणमा रास्वपाको नाङ्गो राजनीति

-सम्भावित मेयरलाई फसाउन रास्वपाको जोडबल

-सत्ताको आडमा रास्वपाको फोहोर राजनीति, प्रतिस्पर्धीलाई पेल्ने दाउ

images

अर्घाखाँची । ‘खेल जित्ने हो भने मैदानमा मात्र होइन, प्रतिस्पर्धीको योजनामै चुनौती खडा गर्नुपर्छ ।’ यो वाक्य रास्वपाको पछिल्लो गतिविधीसँग ठ्याक्कै मेल खान्छ ।

आफ्नो प्रतिस्पर्धी हो भन्ने भनक पाएपछि मैदानबाटै किकआउट गर्ने रणनीतिअनुसार रास्वपा अर्घाखाँचीले सत्ताको दुरुपयोग गर्दै जाल बुन्न सुरु गरेको हो । भूमिकास्थानको लाटेबाँझा काण्ड रास्वपाका लागि राजनीति गर्ने उत्तम विषय बनेको छ । रास्वपाका सांसददेखि सामान्य टोले कार्यकर्तासम्म यो विषयलाई व्यक्तिकेन्द्रित बनाएर सतहमा ल्याउने प्रयासमा छन् । लाटेबाँझा प्रकरणको अनुसन्धानमा प्रभाव पार्ने गतिविधि गरिरहेको रास्वपा राजनीतिको नाङ्गो नाच नाच्न थालेको छ ।

images

के भएको थियो त्यस रात ?

यही २०८३ भदौ २३ गते भूमिकास्थान–८, नुवाकोटका वडाध्यक्ष राजकुमार श्रेष्ठ आफ्नो काम सकाएर गुल्मीबाट अर्घाखाँची फर्किँदै थिए ।

images

बाटोमा आउँदै गर्दा गाउँबाट फोन आयो । केही व्यक्ति मदिरा सेवन गरेर होहल्ला गर्ने, आपसमा लड्ने, अश्लील शब्द बोल्ने र महिलामाथि दुर्व्यवहार गर्ने गरेपछि स्थानीयले उनीहरूलाई सम्झाइबुझाइ गरेको र दोहोरो झडप हुने स्थिति बनेपछि ती कामदार कसका हुन्, किन कसले राख्यो, यो समाजको बीचमा यस्ता व्यक्ति भन्दै बारम्बार फोन आएपछि जिल्ला प्रहरी कार्यालयमा घटनाको जानकारी गराउँदै सन्धिखर्कबाट लाटेबाँझ पुगे । उनले बाटोमै प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराए । त्यहाँ पुगेर उनले स्थितिलाई सहज बनाउने प्रयत्न गरे । ‘म वडा अध्यक्ष हो, यसरी होहल्ला नगर्न तथा अटेर गरे प्रहरी बोलाउने बताए ।

झडपका क्रममा दुवै पक्षका व्यक्ति सामान्य घाइते भए पनि मजदुरहरूमध्ये ८ र गाउँलेहरू ४ गरी १४ जना घाइते भए ।

स्थिति सामान्य हुन नपाउँदै स्वयं वडा अध्यक्ष श्रेष्ठ र ठेकेदार अन्य गाउँलेहरू मिलेर घाइतेहरूलाई अस्पताल पुर्‍याए । र उपचारमा जुटे ।

तर जिल्ला प्रहरी कार्यालय भने आफूलाई कुनै जानकारी नभएको भन्दै पन्छिन पुगेको उनको भनाइ छ । वडाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार उनले सन्धिखर्कबाट घटनास्थलमा जाँदा नै बाटोबाट प्रहरीलाई खबर गरेका थिए । तर प्रहरी पुग्नुअघि नै त्यहाँ घटना घट्यो । वडाध्यक्षकै सक्रियतामा उनीहरूलाई अस्पताल ल्याइयो ।

Nepal life insurance

गम्भीर घाइतेलाई बुटवल थप उपचारका लागि पठाइयो । दुवै पक्षले आ–आफ्नो गल्ती स्वीकार्दै अधिवक्ता, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा सम्झौता गरे । पीडित घाइतेको सबै उपचार गर्ने गरी लिखित सहमति भयो । हालसम्म घाइतेको उपचारका लागि ३ लाख ६७ हजार रुपैयाँ ठेकेदार, काठ व्यवसाय तथा स्थानीयको तर्फबाट गइसकेको छ ।

प्रकरणमा रास्वपाको इन्ट्री

हुनु नपर्ने घटना भयो । दुवै पक्ष तथा काठ ठेकेदार र काठ व्यवसायीहरूले आ–आफ्नो गल्ती स्वीकार गरे । आपसी समझदारी भएपछि घाइतेको सम्पूर्ण उपचार व्यहोर्ने कार्य जारी नै छ । साढे ३ लाखभन्दा धेरै रकम पीडित पक्षको उपचारमा खर्च भइसकेको छ । जिल्ला प्रहरी कार्यालयले उजुरी ल्याउनु भन्दा समेत हामीबीच समझदारी भइसकेको छ, उजुरी दिन्नौँ भनेर उनीहरू गएका थिए ।

तर, रास्वपाका केही नेता यो प्रकरणमा आफ्नो राजनीतिक फाइदा देख्न थाले । यो प्रकरणलाई वडाध्यक्षसँग जोड्न सकियो भने आसन्न स्थानीय तथा प्रदेश निर्वाचनमा फाइदा पुग्ने निष्कर्षसहित सामाजिक सञ्जालमा लेख्न लगाउँदै मिडियाबाजी गरियो । राजकुमार श्रेष्ठ नेपाली कांग्रेसबाट सम्भावित मेयरका उम्मेदवार हुन् । युवामा लोकप्रिय रहेका श्रेष्ठलाई केही गरी फसाउन सकियो भने स्थानीय तह जित्न सजिलो हुने सांसद हरिप्रसाद भुसाललाई ब्रिफिङ गरे ।

त्यसपछि सुरु भयो रास्वपाको राजनीतिक खेल । सांसद भुसाल आफूलाई कुनै जानकारी नभएजस्तो गरी केन्द्रमा राजनीति, गृहमन्त्री स्वयंको ताकेता, उच्च तहका प्रहरी तथा डीआईजीमार्फत दबाब, सांसद र रास्वपाका केही जिल्लाका नेतृत्व तहबाट तारन्तार दबाब आएपछि प्रहरीले पक्राउ पुर्जी जारी नगरी पक्राउ गर्न नमिल्ने जवाफ दियो । त्यसपछि रास्वपा अर्घाखाँची, पाल्पा र गुल्मीका सांसदहरूले पीडित पक्षलाई प्रलोभनमा पारेर उजुरी दिन लगाए । रुपन्देहीबाटै उजुरी दिन लगाएर यहाँ पक्राउ पुर्जी जारी गर्न लगाइयो । पक्राउ पुर्जी पाएपछि वडाध्यक्ष श्रेष्ठलगायत ७ जना अनुसन्धानका लागि प्रहरी हिरासतमा २३ दिन रहे ।

रास्वपाका पाल्पा र गुल्मीका नेता, सन्धिखर्कमा यो प्रकरणमा सत्तासीन दल रास्वपाका छिमेकी जिल्ला पार्टीका सभापति विष्णु भण्डारी, पूर्वसभापति भोजराज पाण्डेलगायत अर्घाखाँचीका जिल्ला कार्यसमिति तथा भूमिकास्थान र सन्धिखर्क नगर सभापतिलगायतका नेताहरू सन्धिखर्कको एक होटलमा छलफल गरी ज्यान मार्ने उद्योगमा मुद्दा थप गर्ने, पीडित बनाइएका पाल्पाका मजदुर लुकाउने र प्रहरीमाथि दबाब बढाउने गरेको गोप्य स्रोतले जनाएको छ । प्रहरीलाई निरन्तर फोन गरेर उनीहरूले कुनै हालतमा वडाध्यक्षलाई नछोड्न दबाब दिइरहेका छन् । अभद्र तथा कुटपिटमा मुद्दा दर्ता गरिएकोमा अब पुनः ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न मजदुरहरूलाई उक्साएको स्थानीयहरूको आरोप छ । अभद्र तथा कुटपिट मुद्दामा वडाध्यक्ष बलियो देखिएपछि दुःख दिने मनसायले मुद्दा फेरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न मजदुरहरूलाई प्रलोभन देखाइएको गाउँलेहरूको भनाइ छ ।

आपसी समझदारी भएर उपचार भइरहेको विषयलाई रास्वपाले यति विधि गर्नुका पछाडिको कारण डरलाग्दो राजनीति भएको घटनाका साक्षीहरूको भनाइ छ । ‘नहुनु घटना भयो, सबैले गल्ती स्वीकार गरेका छौँ,’ एक स्थानीयले भने, ‘रास्वपाका नेताहरू सत्ता दुरुपयोग गरेर प्रहरी प्रशासनलाई त्रासमा राख्ने र निर्दोषलाई फसाएर राजनीतिको नाङ्गो नाच नाचिरहेका छन् ।’ यत्तिको राजनीति र सत्ताको दुरुपयोग कांग्रेस–एमालेको पालामा समेत नभएको जनताको भनाइ छ ।

इमोशनल ब्ल्याकमेल गर्न सामाजिक सञ्जालको प्रयोग

घटना भएपछि वडाध्यक्ष आफैँले घाइतेहरूलाई अस्पतालसम्म पुर्‍याए । दुई–दुई दिनपछि उनीहरू समेत संलग्न भएर आपसी समझदारी गरियो । तर त्यसपछि मात्र घाइतेका तस्बिरहरू सञ्जालमा बाहिरिए । विभत्स तस्बिरहरू सञ्जालमा राखेपछि प्रयोगकर्ताहरूको ध्यान खिच्न सकिने भएपछि सामाजिक सञ्जालको नीतिविपरीत ती फोटोहरू सञ्जालमा राखियो । समन्वयकर्ताको भूमिकामा रहेका वडाध्यक्षलाई फसाउने र दुःख दिने नियतले रास्वपाको नेतृत्व तह नै हात धोएर लाग्नुले उनीहरूको राजनीतिक चेत र संस्कारमाथि प्रश्न उठाएको छ ।

विचारको लडाइँ लड्नुपर्ने ठाउँमा व्यक्तिगत छवि धमिल्याउनेमा केन्द्रित देखिएको रास्वपा सत्ताको आडमा प्रतिस्पर्धीलाई सिद्ध्याउन फोहोर राजनीति गरिरहेको छ ।

सामान्य औषधि उपचार खर्च उपलब्ध गराउने भन्दै माननीयज्यूबाट पटक–पटक फोनमार्फत दबाब दिइएको र सभापतिले विभिन्न प्रलोभन देखाएको कारण जाहेरीमा के लेखिएको थियो भन्ने जानकारीसमेत नभई आफूहरूले उक्त कागजमा हस्ताक्षर गरेको उजुरीकर्ता तथा पीडित भनिएका कामदारहरूको भनाइ छ ।

अहिले लाटेबाँझाका गाउँलेहरू मात्र होइन, स्वयं कामदारहरू पनि आफूहरूलाई थप दुःख र पीडा दिइएको भन्दै रास्वपाप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।

तसर्थ, तपाईं कुनै एउटा पार्टीको नेता वा व्यक्ति मात्र होइन, यो जिल्लाकै अभिभावक पनि हुनुहुन्छ ।

व्यक्तिगत रूपमा तपाईंसँग मेरो कुनै गुनासो छैन । तर दुवै पक्षका पीडितलाई विभिन्न आश्वासन र प्रलोभन देखाउने, उजुरी दिन लगाउने, अनेक बहानामा दुःख दिने अनि अन्त्यमा ‘कानुनले जे गर्छ, त्यही गर्छ’ भन्दै जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्ति कदापि उचित होइन ।

न्यायको नाममा कसैलाई प्रयोग गरेर थप पीडा दिने होइन, दुवै पक्षको कुरा निष्पक्ष रूपमा सुनेर सत्यतथ्य छानबिन गरी न्याय दिलाउने जिम्मेवारी तपाईं र तपाईंको पार्टी रास्वपाको पनि हो ।

राजनीति जनतालाई दुःख दिन होइन, जनताको दुःख समाधान गर्न हुनुपर्छ ।

सम्पत्तिको लागि आफ्नै जन्मदिने बुवाआमालाई मुद्दा दिने, सम्पत्तिकै लागि बुबाआमालाई वृद्धाश्रममा पुर्‍याउनेहरूले तपाईंलाई सफलतामा पुर्‍याउँदैनन् ।

सांसद हरिप्रसाद भुसालको जवाफ

प्रिय राजकुमार जी,

तपाईं मेरो साथी हुनुहुन्छ । तपाईं भूमिकास्थान–८ को वडाध्यक्ष हुनुहुन्छ, म प्रतिनिधिसभा सदस्य छु । तर यी पद र जिम्मेवारीभन्दा माथि हाम्रो मित्रताको भावना छ । त्यसैले तपाईंलाई वडाध्यक्षका रूपमा भन्दा पनि आफ्नै साथीका रूपमा सम्बोधन गर्दैछु ।

पछिल्ला दिनमा मेरा हरेकजसो फेसबुक स्टाटसमा तपाईंले एउटै विषयलाई लिएर प्रश्न उठाइरहनुभएको छ । तपाईंका प्रश्न र जिज्ञासालाई मैले देखिरहेको छु । सकेसम्म सामाजिक सञ्जालमा व्यक्तिगत जवाफ दिनेभन्दा पनि सम्बन्धित निकायले निष्पक्ष रूपमा सत्यतथ्य बाहिर ल्याओस् भन्ने मेरो चाहना हो । तर तपाईंले निरन्तर जवाफ खोजिरहनुभएपछि केही कुरा स्पष्ट पार्न आवश्यक ठानेको छु ।

नुवाकोटको लाटेबाँझामा भएको कुटपिटको घटनालाई मैले पनि गम्भीर रूपमा लिएको छु । उक्त घटनामा तपाईं प्रत्यक्ष रूपमा संलग्न रहेको विषय सार्वजनिक भएको छ । सोही घटनाको अध्ययन तथा अनुसन्धानका लागि प्रहरीले तपाईंलाई नियन्त्रणमा लिएको हो । यसको अर्थ तपाईं दोषी प्रमाणित भइसक्नुभएको भन्ने होइन । अनुसन्धानको प्रक्रियालाई नै अन्तिम फैसला ठान्नु पनि हुँदैन ।

राजकुमार जी, मेरो मान्यता स्पष्ट छ– तपाईं दोषी हुनुहुन्छ भने कानुनअनुसार कारबाही हुनुपर्छ, निर्दोष हुनुहुन्छ भने तपाईंले न्याय पाउनुपर्छ । तपाईं मेरो साथी हुनुहुन्छ भन्दैमा कुनै उन्मुक्तिको पक्षमा म उभिन सक्दिनँ । त्यस्तै, तपाईंलाई राजनीतिक आग्रह वा पूर्वाग्रहका आधारमा अन्याय होस् भन्ने पनि चाहन्नँ ।

युवाहरूलाई हिरासतमा राखिएको विषय, पीडितको अवस्था, अनुसन्धानको निष्पक्षता र प्रहरीको भूमिकाबारे प्रश्न उठाउनु स्वाभाविक हो । यी सबै प्रश्नको जवाफ अनुमान, आरोप वा सामाजिक सञ्जालको बहसले होइन, निष्पक्ष अनुसन्धान र प्रमाणले दिनुपर्छ । त्यसका लागि सम्बन्धित निकाय जिम्मेवार हुनुपर्छ ।

तपाईंले मलाई सरकारको सुशासनबारे प्रश्न गर्नुभएको छ । म यति मात्र भन्न चाहन्छु– सुशासन भनेको आफ्ना मान्छेलाई जोगाउनु र अरूलाई कारबाही गर्नु होइन । सुशासन भनेको आफ्ना हुन् वा पराया, सत्तापक्ष हुन् वा प्रतिपक्ष, सबैलाई एउटै कानुन लागू हुनु हो । सरकारको कामको आलोचना गर्न पनि म पछि पर्दिनँ र सरकारको पक्षमा छु भन्दैमा गलत कुराको बचाउ पनि गर्दिनँ ।

मलाई तपाईंको प्रश्नसँग भन्दा पनि प्रश्नको जवाफ खोज्ने क्रममा हामीबीच अनावश्यक अविश्वास र दूरी बढ्दै जाने हो कि भन्ने चिन्ता छ । तपाईंले आफ्नो ठाउँबाट प्रश्न गरिरहनुभएको छ, मैले आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्नुपर्छ । यसमा हाम्रो मित्रता बाधक बन्नु हुँदैन ।

अन्त्यमा, साथीका रूपमा तपाईंलाई मेरो आग्रह छ– सत्यतथ्य बाहिर आउन दिनुहोस्, अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नगरौँ र न्यायिक प्रक्रियामाथि विश्वास गरौँ ।

तपाईं दोषी भए उम्कन पाउनुहुन्न, निर्दोष भए फस्नुहुन्न । यो कुरा तपाईंका लागि मात्र होइन, हरेक नागरिकका लागि मेरो समान मान्यता हो ।

पद र जिम्मेवारी आज छन्, भोलि नहुन सक्छन् । तर मित्रता र मानवीय सम्बन्ध पदभन्दा माथि रहनुपर्छ । तपाईं मेरो साथी हुनुहुन्छ र साथीका रूपमा तपाईंप्रतिको मेरो सद्भाव सधैँ रहिरहनेछ ।

#ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD