रौतहटमा एक महिनामै ८५ प्रतिवादी पक्राउ, ५४ लाख हुण्डी रकम बरामद

भन्सार छलीका २२ लाखभन्दा बढीका सामान नियन्त्रणमा, फैसला कार्यान्वयनबाट ४ वर्ष ११ महिना कैद असुल

सञ्जय मिश्रा

रौतहट, ३ मंसिर। रौतहट प्रहरीले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा अवैध कारोबारविरुद्ध सञ्चालन गरेको अभियानका क्रममा एक महिनामै ८५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीले यस अवधिमा ५४ लाख ६४ हजार ६०५ रुपैयाँ स्रोत नखुलेको रकम बरामद गर्नुका साथै २२ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामानसमेत नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गत कार्तिक महिनामा फैसला कार्यान्वयनतर्फ ५२ जना र चालू मुद्दाका ३३ जना गरी ८५ जना प्रतिवादी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार फैसला कार्यान्वयन अभियानबाट पक्राउ परेकाहरूबाट ४ वर्ष ११ महिना २१ दिन कैद असुल हुनुका साथै ३ लाख १९ हजार ४१० रुपैयाँ जरिवानासमेत संकलन गरिएको छ।

हुण्डी कारोबारमा ५४ लाखभन्दा बढी बरामद

अवैध हुण्डी कारोबार नियन्त्रणका क्रममा प्रहरीले विभिन्न स्थानबाट ५४ लाख ६४ हजार ६०५ रुपैयाँ स्रोत नखुलेको रकम बरामद गरेको छ।

बौधिमाई नगरपालिका–४ महुलियामा मोटरसाइकलको ट्यांकीभित्र फल्स बटम बनाएर लुकाइएको ३० लाख रुपैयाँ, गौरस्थित न्यू तराई ट्रेडर्सबाट १४ लाख ६४ हजार ६०५ रुपैयाँ तथा बंकुल क्षेत्रमा मोटरसाइकलमा लुकाएर ल्याइएको थप १० लाख रुपैयाँ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

images

२२ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

images

सीमा क्षेत्रमा निगरानी बढाउने क्रममा प्रहरीले भन्सार छली गरी ल्याइएका २२ लाख २१ हजार ३९० रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। यसक्रममा ३५० लिटर अवैध मदिरा, ९९५ वटा कुखुराका चल्ला तथा अवैध वन पैदावारसमेत नियन्त्रणमा लिइएको डीएसपी गौतमले जानकारी दिए।

गोली प्रहार घटनाका चार आरोपी पक्राउ

images

गौर नगरपालिका–४ गढवा टोलमा स्थानीय राकेश यादवमाथि भएको गोली प्रहार घटनामा मुख्य योजनाकारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कार्तिक महिनामा जिल्लाभर विभिन्न प्रकृतिका ३९ वटा आपराधिक मुद्दा दर्ता भएका छन्। ज्यानसम्बन्धी चार, आत्महत्यासम्बन्धी पाँच, चोरीका तीन, संगठित तथा आर्थिक अपराधका १०, सामाजिक अपराधका दुई, महिला तथा बालबालिकासम्बन्धी दुई र सवारी ज्यानका दुई घटनासहित अन्य मुद्दा दर्ता भएका हुन्।

लागूऔषध नियन्त्रणतर्फ चारवटा मुद्दा दर्ता गरी ६ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ३ किलो ५०० ग्राम गाँजा र विभिन्न प्रकारका ११८ थान लागूऔषधका ट्याब्लेट बरामद गरिएको छ।

७८ दुर्घटनामा ९ जनाको मृत्यु

Nepal life insurance

अपराध नियन्त्रणसँगै सडक सुरक्षाको अवस्था भने चिन्ताजनक देखिएको छ। कार्तिक महिनामा जिल्लाभर ७८ वटा सवारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ भने १२६ जना घाइते भएका छन्।
ट्राफिक नियम उल्लंघन गर्ने ६३२ वटा सवारीसाधनलाई कारबाही गरी ६ लाख ८४ हजार ५०२ रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, जिल्लामा विभिन्न प्रकृतिका २७ वटा विपद्का घटना भएका छन्। ती घटनामा पाँच जनाको मृत्यु र तीन जना घाइते भएका छन्। १७ वटा आगलागीका घटनाबाट मात्रै २१ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांक छ।

१३८ उजुरीमध्ये १०५ फर्छ्योट

प्रहरीले कार्तिक महिनामा प्राप्त १३८ वटा ठाडो उजुरीमध्ये १०५ वटा फर्छ्योट गरेको छ भने ३३ वटा प्रक्रियामा रहेका छन्। महिला तथा घरेलु हिंसासम्बन्धी प्राप्त २८ वटा उजुरीमा मिलापत्र गराइएको छ। यसैगरी, हराएका २४ जनामध्ये २२ जनालाई फेला पार्न प्रहरी सफल भएको छ।

छठ पर्वलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन जिल्लाका विभिन्न स्थानमा ५०९ जना प्रहरी परिचालन गरिएको थियो। साथै समुदाय तथा विद्यालय केन्द्रित १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी करिब २ हजार ९३५ जनालाई सहभागी गराइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार अपराध न्यूनीकरण, फरार प्रतिवादी पक्राउ, सीमा क्षेत्रमा निगरानी, अवैध कारोबार नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर प्रहरी गतिविधि सञ्चालन गरिएको छ।

आगामी दिनमा पनि जिल्लामा शान्तिसुरक्षा कायम राख्न र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन अभियानलाई निरन्तरता दिइने उनले बताएका छन्।