
सांसदहरु भन्छन्–‘चलचित्रकर्मीलाई सामाजिक सुरक्षा र निर्मातालाई बीमाको व्यवस्था हुनुपर्छ’
सांसदहरुले चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमवार भएको चलचित्र विधेयक, २०८१ माथिको छलफमा उनीहरुले कानून निर्माण गर्दा लगानीको सुरक्षाको लागी बीमा र चलचित्रकर्मीको सामाजिक सुरक्षालाई समेट्नुपर्ने बताएका हुन् । नीतिगत सुधार गरी चलचित्रलाई अब सरकारले उद्योगको रुपमा विकास गर्नुपर्ने उनीहरुको भनाई छ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. लेखजंग थापाले चलचित्रलाई पर्यटन, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनु भयो ।

उहाँले चलचित्रकर्मीको सामाजिक सुरक्षालाई पनि विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । चलचित्र क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको संरक्षणका लागि राज्यले प्रभावकारी व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । अहिले कलाकारको निधनमा समेत आधारभूत सम्मान र सहयोग नपाउने अवस्था रहेको उहाँले बताउनु भयो । उहाँले चलचित्र विकास बोर्डलाई पनि हस्तक्षेपमुक्त बनाउनुपर्ने बताउनुभयो ।


उहाँले चलचित्रमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुका साथै चलचित्रमा समावेश हुने विषयवस्तुको सामाजिक सान्दर्भिकता र संवेदनशीलतालाई पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सेन्सरशिपको वाहानामा अनावश्यक हस्तक्षेप गर्न नहुने उहाँको भनाई छ । बरु बालबालिकाले हेर्न मिल्ने तथा नमिल्ने चलचित्रको स्पष्ट वर्गीकरण गरि उमेरअनुसारको पहुँच सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली चलचित्रको संरक्षण तथा प्रवद्र्धनका लागि स्वदेशी चलचित्रको प्रदर्शन र बजार प्रवद्र्धनसम्बन्धी स्पष्ट व्यवस्था ऐनमै समेट्नुपर्ने उहाँले बताउनु भयो । विदेशी लगानीका लागि निश्चित मापदण्ड र नियमनसहित खुला वातावरण बनाउन सके नेपाली चलचित्रमा अन्तर्राष्ट्रिय लगानी, सहकार्य र चलचित्र पर्यटनको सम्भावना विस्तार हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘चलचित्र विकास बोर्डको स्वायत्तताको कुरा जुन छ त्यसमा कत्तै पनि केही पनि हस्तक्षेप गर्न हुँदैन । त्यसलाई स्वायत्तता राखियो भने चलचित्रलाई उद्योगको अगाडि बढाउन मद्दत गर्छ । यो अभिव्यक्तिको स्वतन्त्रताको पनि संरक्षण यो क्षेत्रमा एकदमै हुन जरूरी छ । नबोलिकन पनि चलचित्रको हिसावमा धेरै कुरा बोलिएको हुन्छ, त्यसलाई संरक्षण गर्नुपर्छ । सेंसरसिपको नाममा धेरै दुःख दिने गर्नुहुँदैन ।


हामीले नेपाली चलचित्रको संरक्षण र प्रवर्धनको कुरा गरिरहेका छौँ, चलचित्रलाई हामीले बजार प्रवद्र्धन गर्दाखेरि केही कर छुट दिने व्यवस्था पनि गर्नुपर्छ । यसले नेपाली संस्कृति जगेर्ना गर्न बनाउने चलचित्रहरुको सहयोग गर्छ । रोजगारी पनि पैदा गर्छ, चलचित्र क्षेत्रमा विदेशी लगानी ल्याउन सकियो भने यस क्षेत्रको अझै विकास हुने थियो । चलचित्रकर्मीको सामाजिक सुरक्षाको कुरा, एकदम जरूरी छ । हामी संरक्षण गर्छौँ, यो गर्छौँ, हामी हामी संसदमा बोल्छौँ, समितिमा बोल्छौँ, बाटोमा बोल्छौँ, सबै ठाउँमा बोल्छौँ, तर हामीले कानून राम्रो बनाएनौँ र उहाँहरूलाई संरक्षण गर्न सकेनौँ कलाकारहरु चपेटामा पर्न सक्नुहुन्छ ।’
नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले चलचित्र उद्योग र पर्यटन उद्योगलाई एकआपसमा जोडेर अघि बढाउनुपर्ने बताउनु भयो । नेपाललाई खुला चलचित्र स्टुडियोका रूपमा विकास गर्ने सम्भावना रहेको उहाँको भनाई छ । उहाँले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, अनुकूल कानूनी व्यवस्था र चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनु भयो । नेपालको बहुसांस्कृतिक विविधता, ऐतिहासिक विकासक्रम र गौरवशाली इतिहासलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिने उहाँको भनाइ छ । चलचित्रकर्मीको सामाजिक सुरक्षालाई पनि राज्यले प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा चलचित्र विकासको क्षेत्रमा एउटा धेरै राम्रो सम्भावना छ । त्यसका निम्ति आवश्यक कानुन निर्माणलाई ध्यान दिनुपर्छ । सिङ्गै मुलुक नै एउटा ओपन स्टुडियोको रूपमा रहेको चलचित्र उद्योगको विकास र विस्तार गर्ने एउटा धेरै राम्रो सम्भावना हाम्रो छ । अब नेपालको पर्यटन उद्योग र नेपालको चलचित्र उद्योगलाई इन्टरकनेक्ट गरेर अगाडि बढाउनुपर्ने स्थिति छ । त्यसको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माण गर्नुपर्ने पनि छ । त्यसको निम्ति सिङ्गै राज्यले काम गर्नुपर्ने छ । त्यसका निम्ति अनुकूल कानुनहरू बनाउनुपर्ने छ । चलचित्र क्षेत्रमा लाग्ने चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्ने नीति लिनुपर्ने छ । उनीहरूको सामाजिक सुरक्षाको कुरालाई पनि ध्यान दिनुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चलचित्रलाई समाज, सरकार र मानव जीवनका बहुआयामिक पक्षलाई जोड्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले स्वदेशी चलचित्रको पहुँच र उपलब्धता विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो । नेपाली चलचित्र सहज रूपमा उपलब्ध नहुँदा युवापुस्ता तथा बालबालिकाको पहुँच विदेशी चलचित्रतर्फ बढी भएको उहाँको भनाई छ ।
नेपाली चलचित्रले प्रदर्शनका लागि सिनेमा हल नपाउने समस्या रहेको उल्लेख गर्दै उहाँले स्वदेशी चलचित्रलाई प्रोत्साहन गर्न राज्यले नै ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले नेपाली चलचित्र निर्मातालाई लगानीको जोखिमबाट सुरक्षित गर्न बीमाको व्यवस्था गर्नुपर्ने प्रश्ताव समेत गर्नुभयो । चलचित्र निर्माणका क्रममा लगानी गुम्ने जोखिमका कारण निर्माताले हिचकिचाउनुपर्ने अवस्था अन्त्य गर्न राज्यले सुरक्षित लगानीको वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रलाई हामीले प्रमोट गर्नुपर्छ । हामीले चलचित्र निर्माताहरुलाई विमाको समेत व्यवस्था गर्न आवश्यक छ । इन्सुरेन्स भयो भने ढुक्कसँग नेपाली चलचित्र निर्माताहरुले चलचित्र निर्माण गर्न सक्छन् । अब प्रफिटमा जाने नजाने त्यसको पर्फर्मेन्सले बताउला । तर निर्माण गर्न नै डराउनुपर्ने, हिचकिचाउनुपर्ने, जोखिममा रहनुपर्ने स्थितिबाट माथि उकास्नका लागि सुरक्षित बिमाको व्यवस्था गर्नुपर्छ ।’

सांसदहरूले नेपाली चलचित्र क्षेत्रमा देखाउने विषयवस्तुलाई गुणस्तरीय बनाउन राज्यले आवश्यक ध्यान दिनुपर्नेमा पनि जोड दिएका छन् ।




