हिंसा गर्नेहरू डराउने समाज निर्माण गरौँ- मन्त्री बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन सबैमा आह्वान गरेकी छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा सन्देश जारी गर्दै उनले हिंसा, विभेद र अपमान सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने बताएकी छन् । महिलाको सम्मान, सुरक्षा र समान सहभागिताबिना सामाजिक न्याय र समृद्धिको लक्ष्य पूरा नहुने उनको भनाइ छ ।

मन्त्री बादीले घरेलु हिंसा, बालबालिकामाथिको हिंसा, डिजिटल तथा साइबर हिंसासहित सबै प्रकारका लैङ्गिक हिंसाविरुद्ध राज्यका निकाय र नागरिक एकजुट हुनुपर्नेमा जोड दिएकी छन् । पद, शक्ति वा प्रतिष्ठाका आधारमा दोषीले उन्मुक्ति पाउन नहुने भन्दै उनले पीडितलाई न्याय, संरक्षण र सम्मान सुनिश्चित गर्न आग्रह गरेकी छन् ।

महिलाको सुरक्षा सम्पूर्ण समाज र राज्यको जिम्मेवारी भएको उल्लेख गर्दै उनले पीडितका गुनासा संवेदनशीलतापूर्वक सुन्न र न्यायका लागि सक्रिय हुन सम्बन्धित निकायलाई आग्रह गरेकी छन् । हिंसा गर्नेहरू डराउने र पीडितले निर्भय भएर बाँच्न पाउने समाज निर्माणका लागि सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनुपर्ने उनको भनाइ छ ।