काठमाडौँ । पार्टी सभापतिले एकलौटी र मनोमानी ढङ्गबाट विभाग र अञ्चल संयोजक तोकेपछि असन्तुष्ट भएका नेपाली काङ्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरले आज पार्टी सभापतिलाई सामूहिक राजीनामा बुझाउने भएका छन् ।
बुढानीलकण्ठस्थित देउवा निवासमा आज बसेको देउवा पक्षधर केन्द्रीय सदस्यहरुको बैठकले पार्टीको विधानअनुसार पार्टी सभापतिले कुनै पनि निर्णय लिँदा समकक्षी तथा केन्द्रीय सदस्यहरुको परामर्श र छलफलबाट गर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि पार्टी सभापतिको एकलौटी निर्णय मान्य नहुने भन्दै सामूहिक राजीनामा बुझाउने निर्णय गरेको हो ।
बैठकले कुनै पनि निर्णय लिँदा पार्टीको ऐतिहासिक परम्परालाई तोडेर पार्टी विधानको घोर उल्लङ्घन गरेकाले आफूहरुले पाएको विभागीय प्रमुख र अञ्चल संयोजकको जिम्मेवारीबाट राजीनामा दिएको व्यहोरा राजीनामापत्रमा उल्लेख गरिएको केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।



