गुल्मी – मृत भेटिएका पत्रकार चन्दन नेपालीको मृत्यु घटनाबारे अनुसन्धान गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । गुल्मीकै सामुदायिक रेडियो स्काइका लागि जिल्लाको पश्चिमी क्षेत्रको सिमलटारीबाट संवाददाताको काम गर्दै आएका नेपाली आइतबार साँझदेखि हराएर मंगलबार मर्भुङ २ को गैरेभीरनेर भ्यागुते खोलामा मृत भेटिएका थिए ।
महासंघ सचिव भरत पाण्डेले बुधबार विज्ञप्ति जारी गर्दै उनको हत्या पनि हुन सक्ने भन्दै गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरेका हुन् । पत्रकार महासंघले विज्ञप्तिमार्फत पत्रकार स्वर्गीय नेपालीप्रति
हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । ग्रामीण क्षेत्रबाटै पत्रकारिता गरिरहेका मर्भुङ १ निवासी ३० वर्षीय नेपालीका श्रीमती, २ छोरी र १ छोरा छन् । प्रहरी प्रमुख जितेन्द्रकुमार बस्नेतले घटनाको अनुसन्धान भइरहेको बताए ।
आफन्तले अहिलेसम्म कसैप्रति शंका गरेको नपाइएकाले पनि पछि अनुसन्धान गर्ने गरी जाहेरी मात्र दर्ता भएको नेपालीको शव पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान सुरु गर्ने गरी शव आफन्तले बुझेको बस्नेतले बताए ।
– RSS