काठमाडौं । परम्परागत रुपमा विशेष महत्व बोकेको काठमाडौंको ईन्द्रजात्रा आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ ।
वसन्तपुरस्थित हनुमानढोका दरबारमा भक्तपुरको सल्लाघारीबाट केन्द्रीय मानन्धर संघले ल्याएको लिङ्गो ठड्याइएपछि जात्रा सुरु भएको हो ।
मानन्धर समुदायले लिङ्गो ठड्याइएपछि सत्यको जीतको प्रतीकस्वरुप इन्द्रध्वज पनि फहराउने चलन छ । लिंगो ठड्याउनु अघि किलागलका ज्यापु समुदायले विशेष तान्त्रिक देवी नाच प्रस्तुत गर्ने परम्परा पनि छ ।
लिङ्गो ठड्याउने परम्परा कहिलेदेखि शुरु भयो भन्नेमा एक मत छैन । रणबहादुर शाहको पालादेखि हनुमानढोका दरवार परिसरमा लिङ्गो ठड्याउन थालिएको र त्यसअघि मरु टोलस्थित अट्को नारायण मन्दिर अगाडि लिङ्गो ठड्याउने परम्परा रहेको इतिहासकारहरुको भनाइ छ ।
भरतमुनिको नाट्यशास्त्रमा पनि इन्द्रध्वज उत्थानको चर्चा गरिएको पाइन्छ । आगामी १३ गते शनिवार जिवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा पनि गरिंदै छ ।
RSS