
काठमाडौं । आजदेखि सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म कायम रहने सोह्र श्राद्ध तर्पणमा छोराछोरीहरुले पृतिको आसिरवादवाट मुक्ति पाउनको लागि श्राद्ध गर्ने चलन छ ।
आजदेखि १६ दिनसम्म हिन्दुपरम्परा अनुसार आफ्ना बाबुआमा नहुनेहरुले दिवंगत पितृहरुको सम्झनामा घरमै वा नजिकका तालकुण्ड नदीमा गएर स्नान गरि धार्मिक विधिअनुसार श्राद्ध गर्ने चलन छ ।
काठमाडौंको पशुपति, गोकर्ण, जनकपुरको गंगासागरलगायतका नदी किनारमा बिहानेदेखि श्राद्ध गर्नेहरुको भीड लागेको छ । यो अवधिमा माछामासु, लसुन, प्याजलगायतका चिजहरु खान नहुने धार्मिक विश्वास समेत रही आएको छ ।
श्राद्धगर्नेहरुले सोह्रश्राद्धको अवधिभर एकछाकमात्रै खाना खाने समेत चलन छ । हिन्दू धर्म अनुसार चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नु पूर्व पितृको पूजा गर्ने परम्परा अनुरुप बडादशैं र तिहारजस्ता चाडबाड आउनु अघि सोह्र श्राद्ध गर्ने चलन रही आएको हो । सोह्र श्राद्धको सुरुवातसंगै नेपाली समाजमा दशैंको चहलपहल समेत शुरु भएको छ ।
– RSS