दानवलाई देवताले परास्त गरेपछि लोकलाई कल्याण भएको विश्वासस्वरुप प्राचीनकालदेखि संचालन हुँदै आएको खड्गजात्रा दोलखामा सुरु


 

दोलखा  – दानवलाई देवताले परास्त गरेपछि लोकलाई कल्याण भएको विश्वासस्वरुप प्राचीनकालदेखि संचालन हुँदै आएको खड्गजात्रा सांस्कृतिक सहर दोलखामा सुरु भएको छ ।

सेतो दौरा, जामा र फेटा गुथेको पहिरनमा जमराको माला लगाई बाजागाजाका साथ देवदेवीका सेनामेनाहरु विजयदशमीको भोलीपल्ट एकादशीको विहानदेखि नै युद्धको अभिनय गर्दै दोलखा बजारमा नाचगान गर्दै जात्रेलाई रमाइलो गराइएको छ  । मन्दिर र मूर्तिहरुको सहरले परिचित दोलखा बजारको टोल र डबलीहरुमा हातमा खड्ग बोकेर युद्ध मैदानमा उत्रिएका सेनपती र सेनामेनाहरु नाच्दै दिनभर दोलखा बजार घुमिरहे । युद्धमा उत्रिएका सेनापति र उसका सहयोगी झै क्रुद शैलीमा दानवहरु खोजेर बध गर्दै अघि बढेको दृष्य रोमाञ्चक थियो ।  पालो अनुसार युवादेखि बृद्धिसम्म नाच्ने खड्गजात्रा प्राचीन समयमा दोलखा बजार देवदेवीको बास भएको स्लथको परिकल्पना गरिएको छ ।


परम्परा अनुसार याकरगण खलकका मुल व्यक्तिले दीक्षा प्राप्त गरेपछि सेनापतिको उपाधी पाउछन् । अहिले दिक्षाप्राप्त यज्ञकुमार प्रधानले त्यो भूमिको १६ बर्षदेखि सेनापतिको भुमिकामा नाच्दै आएका छन् । मुल व्यक्ति विरामी परेमा वा मृत्य भएमा मात्र अर्कोले त्यो भूमिका निर्वाह गर्नुपर्छ । अन्य कुलबाट नाच्न आउनेहरु चाहीँ पालोफेरो गरेर आउछन् । त्यस्तै युद्धका निमित्त बोलाइएका दुई जना तथा चेलीबेटीको तर्फबाट साहयता पठाइएका तीनजना पनि नाचमा सामेल हुन्छन । बाजागाजासहित राजकुलेश्वर मन्दिरबाट युद्ध अभिनयको नाच टिकाको भोलिपल्ट विहानबाट सुरु हुन्छ  ।


मन्त्री तथा सेनापती, याकरगण बंशज र उनका भीम बली बोक्नेसमेत युद्धमा सामेल भएको रोचक दृष्य जात्राको मुख्य आकर्षण हुन । युद्ध अभिनय गर्दै नाच्दै जाने क्रममा चक्रमण्डप नकछे टोलको बौद्ध चैत्य र कोर्छे टोलमा घमासान युद्धनाच प्रदर्शन गरिन्छ ।


विजय प्राप्त गर्दै अघि बढिरहेका सेना कालीको मन्दिर हुादै त्रिपुरासुन्दरी पुग्छन् । त्यहाँ युद्धका लागि त्रिपुरा सुन्दरीसँग सहायता मागेको नृत्य प्रदर्शन गरिन्छ । त्रिपुरा सुन्दरी भगवतीले आफ्ना नाबालक छोरा बटुक भैरवलाई युद्ध गर्ने तरिका सिकाई घण्ट, डमरु, खड्ग चारहातमा थमाई राागोको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि देखाउने चलन छ । बटुक भैरवसहितको सेनाहरु दुङ्गल टोल, नागेश्वर मन्दिर, पिंगल टोलको महादेवस्थान, राजकुलेश्वर हुादै अग्लो मण्डपमा चढ्दै चक्रराज बलीराजको मूर्ति स्थापना गरेको ठाउँमा पुग्छन् ।


भीमेश्वर र त्रिपुरा सुन्दरीमा बली दिइएको राँगाको टाउको यहाँ राखिन्छ र सो टाउकोलाई राजकुलेश्वर भगवतीले र त्यसपछि बटुक भैरवले खड्ग प्रहार गर्छन् भने  त्यहाँ अरु सेनाहरुले पनि खड्ग प्रहार गरी शीर छेदन गर्दछन् । त्यसपछि सगुनबाजा बजाउँदै विजयउत्सव मनाउने प्रचलन छ ।